काठमाडौँ – नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सरकारले गत मङ्सिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको थियो ।


ADVERTISEMENT

# # #


बैठकमा संसद्लाई थप प्रभावकारी बनाउने र पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको थियो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको उनले बताइन्।

कांग्रेसले उखु किसानको बक्यौता चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुटो मुद्दा लगाई त्रास सिर्जना गर्ने गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप लगाएको छ । बैठकले नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ । रासस