आर.एस. भण्डारी,

अध्यक्ष, ह्याम्स अस्पताल

स्वास्थ्य सेवाको व्यवसायिक भूमिकामा उदाईरहनु भएको छ । यतातिरको यात्रा कसरी सुरु भयो ?


ADVERTISEMENT


मेरो गृहजिल्ला सिन्धुपाल्चोक हो । मैले उतै एसएलसीसम्मको अध्ययन गरेँ । २०५२ सालमा कलेज पढ्ने सिलसिलामा म काठमाडौँ आएँ । मेरो पुर्ख्यौली पहिचान व्यापारी वर्ग होइन, म गाउँको किसानको छोरो थिएँ । जन्मथलोबाट पढ्ने क्रममा काठमाडौँ आउँदा एउटा सर्वसाधारणले जस्ता किसिमका समस्याहरु भोग्नुपर्छ मैले तिनै समस्याहरु भोगेँ । डेरा लिएर घरबाट खर्च मगाउनुपर्ने जटिल अवस्थाको सामना गर्दै मैले पछि एउटा सानो जागिर खाएर आफ्नो मासिक खर्च निकाल्न थालेँ । ६ वर्ष जति जागिर खाएपछि आफ्नै व्यवसायतर्फ लाग्नुपर्छ भन्ने सोच बनाइ व्यवसाय गर्ने योजना बनाएँ ।


ADVERTISEMENT

# # #


सोहीअनुसार मैले २०५६ सालमा क्लिनिकल इक्विप्मेन्टको व्यवसाय शुरु गरेँ । व्यवसाय राम्रो थियो । मेडिकल इक्विप्मेन्टको व्यवसायका क्रममा अस्पतालसँग उठबस हुँदै डाक्टरहरुसँग राम्रो चिनजान हुँदै गयो । अस्पताल र डाक्टरहरुसँगको चिनजानकै कारण मेरो गृहजिल्ला सिन्धुपाल्चोकका केही नागरिक अगुवाहरुले मलाई सिन्धुपाल्चोकमै अस्पताल खोल्न सुझाव र अनुरोध गरे । त्यतिबेला सिन्धुपाल्चोकमा स्वास्थ्य क्षेत्रको अवस्था यतिसम्म नाजुक थियो कि सामान्य एक्सरे गर्न पनि काभ्रेको धुलिखेल वा काठमाडौँ आउनुपर्थ्यो । २०३५ सालमै जिल्लामा अस्पताल खोल्ने प्रयास गरिएपनि शुरु हुन सकेको रहेनछ । नागरिक अगुवाहरुको अनुरोधपछि मसहित ४२ जना मिलेर जिल्लामै अस्पताल शुरु गर्यौँ । अहिले सरकारी जिल्ला अस्पतालमा नभएको सेवा त्यो अस्पतालमा उपलब्ध छ । त्यो मेरो आफ्नो सन्तुष्टि र नागरिकका लागि खुलेको अस्पताल भएकाले त्यहाँ मैले आधुनिक प्रविधि र दक्ष जनशक्तिसहित अस्पताल सञ्चालन गरेको छु ।

२०६५ देखि अस्पताल क्षेत्रमा प्रवेश गरिएकोमा त्यसपछि ह्याम्स अस्पतालको कुरा गर्नुपर्दा हाम्रो टिमले ह्याम्स टेकओभर गरेको साढे ३ वर्ष जति मात्र भयो । २५ वर्ष पहिले त्रिपुरेश्वरमा स्थापित यस अस्पतालको आफ्नै अस्तित्व छ । यो त्यतिबेलाको राम्रो नाम चलेको अस्पताल थियो । अन्य अस्पतालमा उपलब्ध नभएको अत्यावश्यक सेवा यो अस्पतालमा थियो । डा. उपेन्द्र देवकोटा र डा. मधु घिमिरेले शुरु गरेको यो अस्पताल विभिन्न कालखण्ड हुँदै बन्द हुने अवस्थामा पुग्यो । डा. देवकोटाले न्यूरो अस्पताल शुरु गर्नुभयो र डा. घिमिरे भारत गएर अन्य क्षेत्रमा लाग्नुभयो । त्यसपछि बुद्धनगरमा सरेको यो अस्पताल विक्रीमा राखियो । विक्रीमा भन्ने कुरा आएपछि हामीले यो अस्पताल टेकओभर गर्यौं ।

मेडिकल इक्विप्मेन्ट व्यवसायीदेखि अस्पताल व्यवसायीसम्म परिचय बनाइरहँदा कस्तो लागिरहेको छ ? सफलताको भर्याङ चढ्दै गर्दा यात्रामा निरन्तर सेवा बढाइराख्नुको कारण के हो ? 

नेपालको स्वास्थ्य क्षेत्र एकदमै दयनीय छ । जुन खालको सेवा नेपालीहरुले पाइरहेका छन् त्यसमा कतिपय समस्याहरु छन् ।

बिरामीको उपचारमा कस्तो प्रविधि र जनशक्ति प्रयोग भइरहेको छ त्यसले बिरामी बाँच्ने र मर्नेसम्मको सवाल राख्दछ । के कुरामा खुसी हुने भन्ने आफ्नो आफ्नो प्रकृति हुन्छ । कोही पैसामा, कोही चर्चामा त कोही सामाजिक सेवामा खुसी हुन्छन् होला, मेरो सवालमा भने सही उपचार गरेर सही ढंगले बिरामीलाई खुसी बनाएर घर पठाउँदा मलाई सन्तुष्टि मिल्छ ।

केही दिन अघिको कुरा हो चितवनको एक अस्पतालमा एउटा बच्चा जन्मियो । प्रविधिलगायतका विभिन्न कारण पनि हुन सक्छ अस्पतालले सही ढंगले उपचार गर्न सकेन । बच्चा जन्मिएको अर्को दिन ह्याम्समा ल्याइयो । बच्चाको अवस्था एकदमै क्रिटिकल थियो । हामीले ८ दिन बच्चालाई भेन्टिलेटरमा राखेर १२ औँ दिनमा राम्रो बनाएर पठायौँ । परिवारले अस्पताल भरी मिठाइ बाँडेर आफ्नो बच्चालाई ह्याम्सले बचाएको बताउँदै बच्चाको नाम नै ‘ह्याम्स’ राख्ने बताउनुभयो ।

यिनै कुराले मलाई सन्तुष्टि मिल्छ ।

कोभिडकै बेलामा पनि कति क्रिटिकल बिरामीहरु यहाँबाट निको भएर जानुभएको छ । निजी अस्पताललाई कोभिडको उपचार गर्न नदिने सरकारी व्यवस्था रहेको बेला ह्याम्समा भर्ना भएका एक बिरामीलाई कोभिड पुष्टि भयो । हामीले सरकारी अस्पतालमा निःशुल्क उपचार हुनुका साथै निजीले कोभिडका बिरामी लिन नपाउने व्यवस्था भएकाले सरकारीमा जान अनुरोध गर्यौं । तर बिरामीको परिवारले नमानेर त्यहीँ आफ्नो उपचार गर्ने बताउनुभयो । पछि विभिन्न सरोकारवाला निकायसँग कुरा गरेर हामीले बिरामीको उपचार गर्यौं र बिरामी निको भएर जानुभयो ।

यी कुराले सन्तुष्टि त मिल्छ नै तर स्वास्थ्य मन्त्रालयले पछि यही विषयमा स्पष्टीकरण पनि सोध्यो । यहाँबाट थुप्रै क्रिटिकल बिरामीहरु निको भएर जानुभएको छ । अस्पताल खोलिसकेपछि आफूसँग सेवा उपलब्ध छ भने यो बिरामी लिन्छु यो लिन्न भन्न सञ्चालकले पाउँदैनन् र पाउनुहुँदैन भन्ने मेरो धारणा हो ।

पैसा दोस्रो कुरा हो, पहिलो त हाम्रो स्वास्थ्य सेवाको धर्म नै हो । हामीले आफ्नो व्यवस्थापन टिमलाई पनि सोहीअनुसार निर्देशन गरेका छौँ ।

कोभिडकै केसमा पनि हामीसँग भएको सबै उपकरण प्रयोग गरेर काम गरिरहेका छौँ । हामीले जनताप्रति उत्तरदायी भएर सेवा शुरु गरेका हौँ, गरिरहेका छौँ । हाम्रो पहिलो प्राथमिकता नै व्यवसायिक धर्म हो । बिरामीप्रति उत्तरदायी, दक्ष जनशक्ति, प्रविधि र उपकरणमा सम्झौता नगरिएका कारण नै हाम्रो अस्पताल लोकप्रिय भएको हो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो समस्याको रुपमा कोभिड देखिएको छ, सुरक्षित रुपमा कोभिडको उपचार कसरी गरिरहनुभएको छ ?

हामीले कहीँ कतै केही कुरामा सम्झौता नगरेर अस्पताल बनाएका छौँ । आधुनिक प्रविधिद्धारा एउटा कोठाबाट अर्को कोठामा हावा समेत प्रसार नहुने गरी हामीले अस्पतालको संरचना निर्माण गरेका छौँ । जसकारण हामी एउटा कोठामा कोभिड र अर्कोमा नन-कोभिड बिरामी राखेर उपचार गर्न सक्छौँ । नतिजाको कुरा गर्ने हो भने अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरमा राखिएका १० मध्ये ८ जनाको मृत्यु भएको तथ्यांकले देखाउँछ । हाम्रोमा १० मध्ये ७ जना निको भएर गएका छन् । यो तथ्यांकले नै देखाउँछ । अस्पतालको पहिलो सम्पत्ति उपचार पछि बिरामीले बाहिर जे भन्छ त्यही हो, विज्ञापन त दोस्रो हो ।

सुविधासम्पन्न र आधुनिक प्रविधिसहित ह्याम्स अस्पताल निर्माण गरिएको छ । महँगो पनि छ । सर्वसाधारणले पैसा नभएर उपचार गर्न नपाउने अवस्था कत्तिको छ ?

व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि हुन्छ । आकस्मिक बिरामी आउँदा २५ हजारसम्मको स्वास्थ्य सेवामा पैसाको कुरै ननिकालेर काम गर्न हरेक चिकित्सकलाई अख्तियारी छ । हरेक डिपार्टमा पहिलो कर्तव्य बिरामीलाई निको बनाउने हो भनेर हामीले निर्देशन दिएका छौँ । त्यसपछि अस्पतालको पोलिसी अनुसार हुन्छ ।

राज्यले हामीलाई व्यवसाय गर्नकै लागि अनुमति दिएको हो । निजी क्षेत्र भनेको नाफामुखी कम्पनी हो । राज्यको नीति नियमभित्र रहेर हामी काम गरिरहेका छौँ । यसबाहेक आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसक्ने बिरामीहरुको हामीले विभिन्न समयमा निःशुल्क उपचार पनि गरिरहेका छौँ ।

केही समय अघि धादिङका एकजना बिरामीलाई हामीले १९ दिनसम्म उपचार गरेर डिस्चार्ज गर्यौं । आज पनि हामी निःशुल्क उहाँलाई आवश्यक परामर्श दिइरहेका छौँ । उहाँको समस्या भनेको डिप्रेशन रहेछ । डिप्रेशनको शिकार भएर उहाँ ९ महीनादेखि ज्यूँदो लास जस्तो हुनु भएको रहेछ । मिडियामा समाचार आएपछि हामी आफैले एम्बुलेन्स लिएर गएर यहाँ ल्यायौँ र उपचार गर्यौं । अहिले उहाँ ठीक हुनुहुन्छ ।

त्यस्तै, नेपालगञ्जका एकजनाको भारतमा काम गर्न जाँदा ढाड भाँचिएको रहेछ । ढाडमा फलाम हालेर उपचार गरिएकोमा पछि फलाम बाहिर आएको रहेछ । श्रीमती देखि सबैले छाडेर जानुभएको रहेछ र उहाँको आर्थिक अवस्था कमजोर भएर उपचार गर्न सक्नुभएको रहेनछ । यो समाचार मिडियामा आएपछि हामीले उहाँको पनि उपचार गर्यौं ।

यी हाम्रा दायित्व हुन् । यस्ता कुराबाट हामी उम्किन मिल्दैन ।

हाम्रो प्रतिवद्धता नै पहिलो सेवा हो, आम्दानी दोस्रो कुरा हो ।

राज्यले के गरिदिए अस्पतालहरुको सेवा थप प्रभाबकारी बन्थ्यो ?

आजको दिनमा राज्यले गर्दिनुपर्ने मुख्य कुरा अस्पतालहरुलाई ग्रेडिङ गर्दिनुपर्छ । आज सामान्य घरमा बनेको पनि अस्पताल हो र जसको सुविधासम्पन्न आफ्नै बिल्डिङ छ त्यो पनि अस्पताल हो । जसरी राज्यले ल्याबको ग्रेडिङ गरिदिएको छ त्यसरी अस्पतालको पनि ग्रेडिङ गर्ने हो भने बिरामीले पनि सहज रुपमा सेवा प्राप्त गर्छन् । अहिले ग्रेडिङ नगरिदिएकै कारण बिरामीहरुले दुःख पाइरहेका छन् । नागरिकको दृष्टिकोण चाहिँ ठूलो बिल्डिङ यहाँ त महँगो होला भन्ने मानसिकता छ । तर नागरिकले बुझ्नैपर्ने कुरा चाहिँ सामान्य क्लिनिक र ठूलो अस्पतालमा लाग्ने उपचार खर्च उस्तै हो । ठूलो बिल्डिङ भनेपछि सेवा महँगो होला भन्ने धारणा नागरिकको छ । सामान्य अस्पतालमा कम पैसा जस्तो देखिए पनि रोगबाट निको हुँदा सम्म पैसा धेरै खर्च भईसकेको हुन्छ । ठूला अस्पतालमा बिरामीहरुले सबै उपचार एकै ठाउँ पाएर निको हुनुहुनेछ । त्यसैले नागरिकलाई सुविधासम्पन्न प्रविधि भएकै अस्पतालमा उपचार गर्न म आग्रह गर्छु । जसकारण समयमै सही उपचार पाएर चाँडै निको हुन सकियोस् ।

भावी योजनाहरु के के छन् ?

स्वास्थ्य क्षेत्रमा जुन किसिमका चुनौतीहरु आउँछन् त्यसलाई चिर्नेगरी काम गर्ने तयारी गरेका छौँ । राज्य र निजी क्षेत्र उत्तरदायी भएर काम गरेमा स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान हुन्छन् । सय बेडको अस्पतालमा २ सय बेड थपेर ३ सय बेडको अस्पताल बनाउने तयारी गरिरहेका छौँ । यस्तै, जुन किसिमको स्वास्थ्य सुविधा काठमाडौँको गुणस्तरीय अस्पतालमा हुन्छ उपत्यकाबाहिर पनि त्यो होस् भनेर हामीले तयारी गरिरहेका छौँ । त्यसको अध्ययन हामीले अघि बढाइसकेका छौँ ।