काठमाडौँ – स्टिभ स्मिथले शतक प्रहार गरेपछि घरेलू टोली अष्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गरेको छ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अष्ट्रेलियाले लगातार दोस्रो जित हात पार्दै सिरिज कब्जा गरेको हो ।


ADVERTISEMENT


अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३८९ रन बनायो । ३९० रनको विशाल लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको भारत निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३८ मै समेटियो ।


ADVERTISEMENT

# # #


भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन प्रहार गरे । त्यसक्रममा उनले ८७ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै लोकेल राहुलले ७६ रन जोड्ना अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट, जोश ह्याज्लिउड र अदाम ज्याम्पाले समान २–२ विकेट हात पारे भने मोइसेस हेन्रिक्वीस र ग्लेन म्याक्सवेलले समान १–१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक १०४ रन प्रहार गरे । लगातार दोस्रो खेलमा पनि शतक हानेका उनले ६४ बलमा १४ चौका र २ छक्का ठोके । त्यसअघि कप्तान आरोन फिन्चले डेभिड वार्नरसँग मिलेर उत्कृष्ट सुरुवात दिलाए । पहिलो विकेटका रुपमा व्यक्तिगत ६० रन बनाएर आउट हुनुअघि फिन्चले डेभिड वार्नरसँग १४२ रनको साझेदारी गरे । यस्तै वार्नरले ७७ बलमा ७ चौका र ३ छक्काको मदतमा ८३ रन जोडे ।

यस्तै मार्नस लबुछांगेले ७० रनको पारी देले । निकै आक्रमक खेलेका ग्लेन म्याक्सवेलले २९ बलमा नै ६३ रन ठोके । त्यसक्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

भारतका लागि मोहम्मद शमी, जस्प्रित बुम्राह र हार्दिक पाण्ड्याले समान १–१ विकेट लिए । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । सिरिजको अन्तिम खेल डिसेम्बर २ मा हुँदैछ ।