काठमाडौँ – साधना कला केन्द्रले आयोजना गरेको अनलाइन गायन प्रतियोगिता ‘साधना अनलाइन ट्यालेन्ट हन्ट सिङ्गिङ कम्पिटिशन’को दोस्रो संस्करण मंसिर ५ गतेदेखि मिथिला टेलिभिजनमार्फत प्रशारण हुने भएको छ । शुक्रवार र शनिवार राति ८ बजेदेखि ९ बजेसम्म उक्त कार्यक्रम प्रशारण हुन लागेको हो ।


ADVERTISEMENT


सांगीतिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरेको थियो । कात्तिक १४ गतेसम्मका लागि अनलाइनमार्फत भिडियो मागिएकोमा उक्त ट्यालेन्ट हन्टका लागि १६० जना प्रतिस्पर्धी सहभागी भएका छन् । तीन महीनासम्म चल्ने उक्त शोमा संगीत तथा भाषाविद्हरु डा कृष्णहरि बराल, किशोर गुरुङ, दीप तुलाधरको एक विशिष्ट निर्णायक मण्डलले सुरुमा १ सय जना प्रतियोगीहरु छनोट गर्नेछन् । विभिन्न ५ राउन्डमा सम्पन्न गरिने उक्त कार्यक्रमबाट उत्कृष्ट १० जना प्रतियोगीहरु छनोट गरी अन्तीममा उत्कृष्ट दश जनामध्येबाट दर्शक तथा श्रोताहरुको ५० प्रतिशत र निर्णायकहरुले प्रदान गर्ने ५० प्रतिशत नम्बरको आधारमा विजेताको छनोट गरिनेछ ।


ADVERTISEMENT

# # #


केन्द्रले यसअघि बैशाख १५ देखि जेठ ५ गतेसम्मको समयावधी राखेर पहिलो संस्करणको कार्यक्रम सम्पन्न गरेको थियो । पहिलो चरणको कार्यक्रमको राम्रो प्रतिकृया आएपछि थप प्रतिभालाई बाहिर ल्याउन दोस्रो संस्करणको कार्यक्रम अयोजना गरिएको केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले हिमालय पोष्टलाई बताए । ‘पहिलो संस्करणको कार्यक्रमको संसारभरीबाट राम्रो प्रतिकृया आयो,’ उनले भने, ‘हाम्रो मूल उद्देश्य त प्रतीभाको खोजी नै थियो । उक्त संस्करणमा यति राम्रा प्रतिभाहरु हामीले पायौं कि जसले गर्दा दोस्रो संस्करण शुरु गर्न प्रेरणा मिल्यो ।’ केन्द्रकी निर्देशक आशा गौतमले अनलाइनमार्फत यो कार्यक्रममा सहभागी हुन सकिने भएकाले संसार भरी छरिएर रहेका नेपालीका लागि आफू भएकै स्थानबाट सहभागी हुन पाउने राम्रो प्लेटफर्म भएको बताइन् । उनले भनिन्, ‘विश्वभरी छरिएर रहेका उत्कृष्ट प्रतीभा भएकाहरु यस संस्करणमा हामीसँग जोडिएका छन् ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र म्यूजिक भिडियो निर्माणमा अवसर पाउने छन् । यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित एउटा गीत रेकर्डिङ र तेस्रो हुनेका लागि २५ हजार नगदसहित एउटा गीत रेकर्ड गरिने अयोजकले बताएको छ ।

भिडियो हेर्नुहोस् :

https://www.facebook.com/sadhanakalakendranepal/videos/275599910552738/