– सिताराम दाहाल
(अध्यक्ष, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन )


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९)ले अहिले विश्वलाई नै प्रभावित बनाइरहेको छ । यसबाट म पनि अछुतो रहन सकिँन ।


ADVERTISEMENT

# # #


कार्यालयका एक जना भाईमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको थिएँ । त्यसपश्चात दुई तीन दिन जति रुघा लाग्यो । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकु पुगेर कोरोना परीक्षणका लागि स्वाब दिएँ । कार्तिक १ गते कोरोना पोजेटिभ देखिएको रिपोर्ट आयो ।

पोजेटिभ रिपोर्ट पाउँदा पनि मैँले त्यसलाई सामान्य रुपमा लिएँ । किनकी मलाई कोरोना लाग्यो भनेर मनमा खेलाउँदा रोगले भन्दा पनि मनले आफूलाई कमजोर बनाउँछ भन्ने लागेको थियो । त्यसकारण मलाई कोरोना छ भन्ने सोच नै मनमा आउन दिइनँ । होम आइशोलेसनमा बसेँ, कतै निस्किनँ । सामान्य रुघा लागे पनि अन्य जटिल लक्षणहरु देखिएका थिएनन् । तर, दुई तीन दिन खाना खान मन लागेन । वास्ना पनि गुमाएको थिएँ ।

डाक्टर, साथीहरुको सल्लाह र सम्पर्कमै थिएँ । तातोपानी एकदमै बढी खाएँ । बेसार पानी त्यती खाइनँ । एउटा आयुर्वेदिक औषधि लिएको थिएँ । तर, त्यसले खासै प्रभाव देखाउन सकेन । एक दुई दिन गाह्रो भए पनि खाना मैँले पेलेरै भए पनि पहिलेको जत्तिकै खाएँ ।

अलि लामो समय नै सुत्नुपर्छ भन्ने साथीहरुबाट सुझावह भएको थियो । आलश्य हुने भएकाले बिहान अबेरसम्म सुत्ने गरेको थिएँ । आइशोलेसनमा हुँदा कसैले सिर्जनात्मक कुराहरु गरेको सुन्ने गरिन्छ । त्यो ध्यान केन्द्रित गर्नका लागि हो । तर, मैँले आफूमा कोरोना नै छैन भन्ने महसुस गरेपछि त्यतातिर ध्यान गएन ।

अस्पतालमा हुँदा डाक्टरहरुले जति सेवा गर्नुहुन्छ, होम आइशोलेसनमा परिवारको भूमिका पनि त्यस्तै हुने रहेछ । मेरो परिवारले पनि त्यो भन्दा राम्रो सेवा गरे । परिवारलाई नजिकै आउन नदिने मैँले गरिँन । केही सीमा कायम गरे पनि मेरो छोराछोरी, श्रीमती नजिकै रहे । ख्याल ठट्टा, रमाइलो गर्दै आइशोलेसनका दिन बिते । यसले गर्दा पनि आत्मबल झन उच्च हुने रहेछ ।

म कार्तिक १५ गते कोरोना जितेर सामान्य अवस्थामा फर्किसकेको छु । कार्यालयका काम पनि नियमितजसो भइरहेका छन् । तर, कोरोना जिते पनि यसका केही असर बाँकी रहने रहेछन् । जस्तो ‘मर्निङ वाक’ गर्दा पहिलेको जस्तो सहज नहुने, अलिकति श्वास बढी आएको जस्तो महसुस हुने हुँदै रैछ ।

तर, व्यक्तिपिच्छे फरक अनुभव हुन्छन् । मैँले जुन कुराको जे महसुस वा अनुभव गरेँ, अर्को व्यक्तिले पनि त्यस्तै अनुभव वा महसुस नगर्न सक्छ । मेरो अनुभवमा आफू सचेत हुँदा कोरोना आफैमा ठूलो रोग हो भन्ने लागेन । कोरोनालाई अतिरन्जित गरेर यो एकदमै ठूलो रोग हो, यसले ज्यानै लिन्छ भन्ने पनि होइन । कोरोना मात्रै होइन, कुनै पनि रोग लाग्दा हामीले आफूलाई कमजोर सम्झ्यौँ भने त्यो रोगले पक्कै पनि हामीलाई थला पार्छ ।

आत्मबल दह्रो बनायो भने कोरोना खास समस्या होइन । कोरोना लागिहाल्यो भने आत्तिनु हुँदैन । होम आइशोलेसनमा हुनुहुन्छ तर चिकित्सकहरुको पहुँचमा हुनुहुन्न भने कम्तिमा राती सुत्नेबेला तातोपानी आफ्नो नजिकै राख्नुहोस् । श्वास प्रश्वासमा केही समस्या देखिए तातोपानी खाने गर्नुहोस् । केही असहज महसुस गरेँ भने म राती उठेर पनि तातोपानी खान्थेँ ।

कोरोना फैलिन नदिन नागरिकमा सचेतना फैलाउन आवश्यक छ । तर, राज्यले जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन । राज्यले मास्क लगाउनु भन्छ । त्यो एकले अर्कालाई सर्न नदेओस् भन्ने होला । तर, मास्क मात्रैले पनि हामीलाई कोरोना संक्रमणबाट जोगाउन नसक्ने रहेछ । त्यसकारण कोरोना लाग्न नदिनका लागि व्यक्ति आफै सचेत रहनु पर्छ ।

(अध्यक्ष दाहालसँग गरिएको कुराकानीमा आधारित )