काठमाडौँ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गरेका हुन् । उनले मन्त्रीलाई सामुन्य बसाएर उनको मुहारलाई क्यान्भासमा रङ भरे ।


ADVERTISEMENT


उक्त समारोहमा मन्त्री गुरुङले भने, “विश्व अभिलेख राख्ने लक्ष्यसहित आयोजित कार्यक्रमले नेपालको कलासंस्कृतिलाई विश्वसामु पुर्याउने महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले कलासंस्कृतिको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने आश्वासनसमेत दिए । उनले कलाकारिताको क्षेत्रबाट विश्वलाई जोड्ने प्रयास गरेकामा धन्यवाद व्यक्त गरे ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले उक्त कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विश्वमा नेपालको पहिचान दिलाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ का कारण कलाकारलाई प्रविधिमा जान जोड दिएको र सोहीअनुसार कार्यशालालाई अघि बढाएको उनले बताए ।

विश्व अभिलेख राख्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला मुलुकका लागि महत्वपूर्ण आयाम भएको कलाकारहरुले बताएका छन् । कोभिड–१९ सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही २३–२७ गतेसम्म १०० घण्टासम्म कार्यशाला आयोजना गरिएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए।

समाजकै नेतृत्वमा शुरु भएको कार्यक्रम एक सय घण्टासम्म निरन्तर कलाकारका कुचीले जलरङका चित्र कोर्नेछन् । कार्यशालामा चित्र कोर्न ७३ जना कलाकार सहभागी छन् । एकजना कलाकारले दुई घण्टा चित्र सिर्जना गर्नेछन् । बीचमा आउनसक्ने अवरोधका लागि जगेडा कलाकारको व्यवस्थापन गर्न २३ कलाकार थप गरिएको छ ।

प्रदेश नं १ मा महेन्द्र राई, प्रदेश २ मा मुकेश महत्तो, वाग्मती प्रदेशमा प्रकाश थापा, गण्डकी प्रदेशमा मनोज तामाङ र लुम्बिनी प्रदेशमा सुमित्रा रानाले नेतृत्व गर्नेछन् । ठाउँठाउँबाट कलाकारले समुहमा बसेर चित्र कोर्ने जनाइएको छ । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ ।