काठमाडौँ – मोरङका उद्योगी व्यवसायीहरुले निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको चुनाव काठमाडौँ केन्द्रित हुनु अव्यवहारिक भएको बताएका छन् । महासंघकी अध्यक्ष भवानी राणालाई पत्र लेख्दै उद्योग संगठन मोरङ र मोरङ व्यवसायी संघले संयुक्त पत्र लेख्दै काठमाडौँ केन्द्रित चुनाव नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


मोरङका व्यवासायीहरुको छलफलपछि मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जोखिम कम गर्न प्रदेश स्तरीय बुथ राखी निर्वाचन गर्नुपर्ने बताएका छन् । कोरोनाको जोखिम बढ्दै गएका कारण मुलुकभरीका जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यका प्रतिनिधि काठमाडौँमै सहभागी गराउनु उचित नभएको ठहर उनीहरुको छ । जसकारण महामारीको जोखिमको अवस्था, सहभागीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी प्रादेशिक स्तरमा सातै प्रदेशमा बुथ राख्नुपर्ने सुझाव संगठनको छ ।


ADVERTISEMENT

# # #


यसअघि महासंघको असोज तेस्रो साताको कार्यकारी वैठकले मंसिर ११ र १२ मा काठमाडौँमा ५४ औँ साधारण सभा गर्ने र १३ गते नै वस्तुगत, एशोसिएट र जिल्लानगरको निर्वाचन गर्ने निर्णय गरेको थियो । महासंघको साधारण सभासँगैँ अध्यक्ष भवानी राणाले उपाध्यक्ष शेखर गोल्छालाई नेतृत्व हस्तान्तरण गर्नेछिन् । अध्यक्षमा गोल्छा पक्का भएपनि वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्षसहित सदस्यका लागि उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनाव लड्दैछन् ।