काठमाडौँ – राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडादसैंको रौनक भेट्न सकिंदैन । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दसैंमा चहलपहल बढ्न नसकेको हो ।


ADVERTISEMENT


शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दसैंमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड भेटिन्थ्यो । तर यस वर्ष भने पिङ भेट्न नसकिएको कागेश्वरी मनोहरा–५ की मनीषा सिम्खडाले बताइन् ।


ADVERTISEMENT

# # #


साना बच्चाका लागि केही घरको छतमा साना पिङ हालेर खेलाएको दृश्य देखिन्छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भीड बढी हुने र कोरोनाको महामारी फैलने डरले सांंस्कृतिक खेलको आनन्द लिनबाट मानिस बञ्चित भएका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ स्थित पर्यटकीय स्थल तारेभीरमा भने स्थानीयवासी दसैंमा पिङ खेलेर रमाइरहेका भेटिन्छन् । पिङमा रम्ने काठमाडौंका अन्य क्षेत्रका मानिस यस वर्ष भने सामाजिक सञ्जालमा व्यस्त छन् । धेरैको चाहना नयाँ–नयाँ टिकटक बनाएर पोष्ट गर्नतिर गएको छ । आपसमा भेटघाट गर्न पनि मानिस डराएका छन् ।

कोरोनाबाट बच्न नजिकको आफन्तकहाँ मात्र पुगेर मान्यजनबाट आशीर्वाद लिएका मानिस राजधानीकै एक कुनाबाट अर्को कुनामा जान सकेका छैनन् । निजी सवारी हुनेहरु आफन्तकहाँ पुगेपनि सार्वजनिक यातायात प्रयोग गरेर जानेहरु बढ्दो संक्रमणबाट हिँड्न तर्सिएका छन् ।

सामाजिक सञ्जालद्वारा मान्यजनबाट आशीर्वाद लिएर चित्त बुझाएको चन्द्रागिरी–१ का रामचन्द्र भण्डारीले बबताए । त्रासकै बीच यस वर्ष राजधानी बाहिर जाने सवारीमा पनि विगत वर्षमा जस्तो भीड भएको छैन । रासस