– गगन थापा


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि विगत १३ दिनदेखि घरमै आइशोलेसनमा बसिरहेको छु । नवौँ, दशौँ दिनमा ज्वरो, खोकी लगायतका लक्षणहरु देखिएको हुनाले चिकित्सकले केही दिन हेर्ने र त्यसपछि मात्रै अर्को परीक्षण गर्ने भन्नु भएको छ । त्यही कुरिरहेको छु ।


ADVERTISEMENT

# # #


म, बुवा, आमा, श्रीमती, छोरी लगायत ९ जना कोभिड पोजेटिभ भएसँगै घरमै छौँ । तपाईंहरुको आशीर्वाद र शुभेच्छाले गर्दा कसैलाई पनि केही गाह्रो भएको छैन । आशा छ केही दिनभित्र हामी सबै संक्रमणबाट मुक्त हुनेछौँ ।

१२–१३ दिनदेखि यसरी आइशोलेसनमा बसिरहँदा मनमा अनेकन कुराहरु खेल्ने रहेछन्, खेलिरहेका छन् । हामी सबै एउटै घरमा बसिरहेका छौँ र हाम्रो आफ्नै घर छ । परिवारका सदस्यहरु छौँ । तर, पनि आइशोलेसनमा बस्ने कुरा, परिवारका केही सदस्यहरु पोजेटिभ हुनुहुन्न । उहाँहरुलाई क्वारिन्टनमा राख्नु पर्‍यो । यति धेरै गाह्रो भइरहेको छ । अनि म सोच्छु, अहिले कोठामा बस्ने वा काठामै बस्न नपाउनेहरुको अवस्था के भइरहेको होला ? यस्तै अवस्था आउने आँकलनका साथ उनीहरुलाई सजिलो होस् भनेर फागुन २३ गते संसदमा छलफल हुँदैगर्दा सामुदायिक आइशोलेसनको विषय हामीले उठाएका थियौँ । सामुदायिक आइशोलेसन भयो भने अस्पताल लानु नसरोस् र आइशोलेसनमा बस्ने मानिसहरुलाई पनि सजिलो होस् भनेर छलफल गर्‍यौँ । त्यहाँ मात्रै होइन, प्रधानमन्त्री, मेयरलाई भेटेरै भन्यौँ । हामी कसैलाई अस्पताल जानु नपरोस् भनेर कामना गरिरहेका छौँ । यदि अस्पताल जानु पर्‍यो भने काठमाडौँमा कहीँ पनि बेड छैन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ ।

विगत केही दिनदेखि मेरो निर्वाचन क्षेत्रको, काठमाडौँको, अरु ठाउँका अनेकन मानिसहरुसँग टेलिफोन गरिरहेको छु । तर, व्यक्तिगत प्रयासको केही अर्थ रहँदैन । हामीलाई चाहिएको त एउटा ‘सिस्टम’ थियो । त्यो सजिलैसँग बनाउन सकिन्थ्यो । फागुनमा नै संसदमा छलफल गर्दा काठमाडौँमा कसरी कोरोना विशेष अस्पताल बनाउने ? त्यसका लागि प्राइभेट मेडिकल कलेजलाई कसरी प्रयोग गर्ने भन्ने कुरा उठाएका थियौँ । त्यसपछि मन्त्रीजीलाई मन्त्रालयमै गएर भेटेर यो सिस्टम कसरी बनाउने भनेर, लेखेर, कराएर संसद, सडकबाट आवाज उठायौँ । ती कुनै व्यक्तिगत कुराहरु थिएनन् । मलाई मात्रै होइन, अन्य थुप्रै व्यक्तिले भनेका थिए ।

यी कुराहरु किन नसुनिदिएको होला, किन नगरिदिएको होला भन्ने कुराले मन कुँड्याउँछ । मेरो परिवार सुरक्षित भएर मात्रै हुँदैन । मेरो परिवार संक्रमणमुक्त भएर मात्रै हुँदैन । मेरो दायित्व, मेरो कर्तव्य मेरो निर्वाचन क्षेत्रको लागि मात्रै पनि होइन । म सांसद भएकोले मेरो सबैप्रति जिम्मेवारी छ । अझ हामीमध्ये सबैभन्दा बढी जिम्मेवारी त प्रधानमन्त्रीको होइन ? सबैभन्दा बढी जिम्मेवारी लिएको प्रधानमन्त्रीलाई पोल्नु पर्ने होइन ? प्रधानमन्त्रीलाई दुख्नु पर्ने होइन, छुनु पर्ने होइन ? तर, भइरहेको छ ? अगाडिको कुरा गर्दिनँ । यही १२–१३ दिन घरमा बसिराख्दै गर्दा प्रधानमन्त्री, जो हाम्रो सेनापति हुनुहुन्छ यो लडाईंको । उहाँले यस विषयका सन्दर्भमा के गरिराख्नु भएको छ भनेर मैँले पच्छ्याउने कोसिस गरेँ । अहिले कोरोनाको कारणले गर्दा एकातिर स्वास्थ्य क्षेत्रमा समस्या छ । त्यसमा पनि ‘ननकोभिड’ (संक्रमण नभएको तर अरु रोगको उपचार) अस्तव्यस्त भएको छ । उतातिर आर्थिक क्षेत्र तहसनहस भएको छ । हजारौँको संख्यामा मान्छेहरु बेरोजगार भइरहेका छन् । हिजो स्वरोजगार भएका मान्छेहरु अहिले सडकमा आइपुगेका छन् ।

गएका १२–१३ दिनमा हेर्दै गर्दा प्रचण्डसँग भेटवार्तामा प्राथमिकता, पार्टीभित्रको आफ्नो झगडा, नेताहरु मिलाउने कुरा, अहिले कर्णालीको झगडा मिलाउने प्राथकिता, मन्त्रीमण्डल पुनर्गठनको कुरा, पार्टीमा एउटालाई फकाउने, अर्कोलाई ढाल्ने बाहेक जनतालाई जुन कुरा पालेको छ, ती कुनै कुराले पनि प्रधानमन्त्रीलाई छोएको छैन । यो भनिरहँदै गर्दा प्रधानमन्त्रीसँग मुटु छैन । हाम्रो प्रधानमन्त्रीसँग मन छैन । प्रधानमन्त्रीसँग मुटु नै रहेनछ । यत्रो कुरा हुँदैगर्दा दुख्दा पनि नदुख्ने, पोल्दा पनि नपोल्ने, छुँदा पनि नछुने भनेपछि प्रधानमन्त्रीसँग मुटु नै छैन भन्दा फरक पर्दैन । प्रधानमन्त्रीको ताल यस्तो छ, अर्कोतिर सबै जिम्मा लिएको स्वास्थ्य मन्त्रालयको बेताल छ । यो बीचमा मैँले स्वास्थ्य मन्त्रालयले गरेको निर्णय हेरेँ, अब सबै सरकारी अस्पताललाई कोरोना विशेष बनाउने । ननकोभिडहरु, जो देशका कुना देखि काठमाडौँ आएर उपचार गर्थे, उनीहरु कहाँ गएर उपचार गर्ने ? सजिलैसँग काठमाडौँका काठमाडौँ मेडिकल कलेज, किस्ट मेडिकल कलेज लिनुहोस्, के को प्राइभेट ? यी मेडिकल कलेजलाई लिएर हामीसँग एकैपटक २ हजार ३ हजार बेड भएको कोभिड अस्पताल बनाउन सकिन्छ । त्यसबाट एउटा रोस्टर बनाएर गयौँ भने किर्टिकल केयर सेवा पनि दिनसक्छौँ । त्यो भन्दा बाहिर पनि अहिले कोरोना संक्रमितको संख्या कम गराउनका लागि ५ हजार १० हजार क्षमताका सामुदायिक आइसोलेसन सेन्टर बनाऔँ । यहाँ टेस्ट गरेका पोजेटिभ मान्छेहरु राखौँ र कन्ट्याक्ट ट्रेसिङ गर्दै जतिसक्यो अझ बढी परीक्षण गरौँ ।

कोही होम आइशोलेसनमा बस्नु हुन्छ, नसक्ने सामुदायिक आइशोलेसनमा बस्नुहुन्छ । उहाँहरुलाई थोरै मात्र अक्सिजन दिनुपर्ने अवस्था आयो भने हामी ती प्राइभेट मेडिकल कलेजहरु उपयोग गर्न सक्छौँ । त्यहाँबाट किर्टकल केयर दिन सक्छौँ । एउटा ‘सिस्टम’ बनाउने हो नि । काठमाडौँबाहिर पनि यही हो । त्यहाँ स्थानीय र प्रदेश सरकारलाई मिलाएर एउटा ‘सिस्टम’ कसरी बनाउने भन्ने कसोची खाली लकडमा आएर निर्णय गर्ने, कहिले एउटालाई जोश चल्छ, दुई महिना पनि नटिक्ने एउटा निर्णय गर्ने, अर्कोले गर्ने ! अरुले केही सुझाव दियो भने नानाभाती गाली गर्‍यो, अनेकन गलत कुराहरु गरेर त्यसलाई ढाकछोप गर्‍यो । हामीसँग केही थिएन, अहिले चमत्कार गर्‍यौँ भन्दै गर्दा गर्नुपर्ने काम पनि नगरिरहेको अवस्था छ । आइशोलेसनमा बस्दै गर्दा मैँले आफ्नो मनमा लागेका कुराहरु यस कारण राख्न खोजेको हुँ कि अहिले पनि गर्न सकिने ठाउँ छ । समय घर्किए पनि हामीसँग स्रोत, साधन छ । सबै मानिस यो बेलामा सरकारलाई मदत गर्न चाहिरहेका छन् ।

सरकारले गरेको कोभिड रेस्पोन्स असफल होस् भन्ने को चाहन्छ ? हामी सबै मान्छे हौँ नि ! मेरै परिवारभित्र बा हुनुहुन्छ, आमा हुनुहुन्छ, मेरो सानो छोरी छ, ‘मस्कुलर डिस्ट्रोफी’ भएर गएको २० औँ वर्षदेखि कोठाभित्र मात्रै बस्न बाध्य मेरो कान्छो बा हुनुहुन्छ । एकजना अस्पताल लिएर जाउँ भने अस्पतालको बेड छैन भन्ने कुराले म प्रभावित हुन्न ? मेरो वा तपाईंको परिवार प्रभावित हुन्न ? हामी कोही न कोही आफ्नो परिवारसँग जोडिएका छौँ । यो बेलामा सरकारको सफलतासँग हामी सबै आफ्नो आफ्नो परिवारको सुरक्षा जोडिएको छ । अन्य कुरामा राजनीतिक पूर्वाग्रहले हेरे पनि यो कुरामा त हामी हामी यो बेलामा सरकार सफल होस् भन्ने चाहन्छौँ । कोभिड रेस्पोन्स ठीक ढंगले गरोस् भन्ने चाहन्छौँ । गर्नुपर्ने कुराहरु पनि नगरेको देख्छु । एकातिर गर्नसक्ने कुराहरु छाडेर नगर्नुपर्ने कामहरु गरिरहेको देख्छु, अर्कोतिर प्रधानमन्त्रीको यो असंवेदनशीलता । मलाई लाग्छ, आजको दिनमा कुनैपनि त्यस्तो शासक छैन होला जो यति असंवेदनशील छ । हामीले क्रूर भनेको शासक । यस्तो बेलामा नागरिकसँग कुनै सरोकार नराखेको शासक हेर्‍यौँ भने उसको एक्सनहरुलाई प्रश्न गर्न सकिन्छ गलत छ भनेर तर, यस्तो कुरामा बेसरोकार, असंवेदनशील छ भन्ने मलाई लाग्दैन ।

हामीले आफ्नो ठाउँबाट कोशिस गरिराखेका छौँ, झक्झकाउने कोशिस गरिराख्ने हो, २-४ दिन पछाडि संक्रमणमुक्त भइसके पछाडि फेरि अरु फोरमहरुबाट भन्ने झक्झकाउने, उचित ती कुराहरु जारी नै राख्नेछु । म खालि अन्त्यमा तपाईँलाई यतिमात्र अनुरोध गर्छु, यो सरकारले गरेन भन्ने कुरा भनिराखौँ, गर्नुपर्ने कुरा पनि भनिराखौँ । सँगै के हो भने सरकार एक्लैले चाहेर पनि गर्न सक्ने होइन । हाम्रो आफ्नो कर्तव्य पनि त छ, हामीले पनि त आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । अगाडिका दिनहरु अझ अप्ठ्यारा दिनहरु आउनेवाला छन् । नआत्तिऊँ मैँले अत्याउन खोजेको होइन । तर, सतर्क रहन आवश्यक छ । सक्रिय हुँदैगर्दा पनि सतर्क भएर होउँ । हामीले बनाएको नियमहरु जति सकिन्छ सवोत्कृष्ट तरिकाले यिनको पालना गर्ने कोशिस हामीले गर्नैपर्छ । म आफ्नै बारेमा सोचिरहेको छु, मैले कोशिस गरेँ । तर, कोशिस गर्दागर्दै म चुकेँ कतिपय ठाउँहरुमा भन्ने मैले मनन गर्नुपर्छ । म यहाँबाट निस्किसकेपछि थप अझैँ बढी सचेत भएर गर्नुपर्ने दैनिक क्रियाकलापहरु छन्, तिनलाई गर्छु भन्ने सोचिरहेको छु । किनकी हामीहरु प्रत्येकले आफ्नो ठाउँबाट जति सकिन्छ स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ । हेर्दाखेरी सामान्य कुरा जस्तो लाग्छ मास्क लगाउने, भौतिक दूरी कायम राख्ने। तर, यी प्रत्येक कुरामा हामीले ध्यान दिनुपर्छ ।

प्रत्येकलाई म आग्रह गर्छुँ कि यो बेलामा हामीले सानो ध्यान दिँदै गर्दाखेरी आफूलाई पनि जोगाउँछौँ, आफ्नो परिवारलाई पनि जोगाउँछौँ । परिवारलाई जोगाउनु भनेको समुदायलाई जोगाउनु हो । यस सन्दर्भमा सतर्क हुन जरुरी छ । चाँडवाड आउँदैछ । यसको आफ्नै महत्व छ । तर, यो पटक हामी बाँच्यौँ भने, परिवारलाई जोगाउन सक्यौँ भने हामीले अर्को वर्ष पनि आशीर्वाद लिन सक्छौँ । सुरक्षित रहौँ, सतर्क रहौँ र सक्रिय रहौँ ।

(थापाले बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको धारणामा आधारित )