सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन् । भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन् ।


ADVERTISEMENT


सुर्नया गाउँपालिका–३ बिजुलस्थित प्रसूति सेवा केन्द्र कर्मचारी र आवश्यक उपकरणको अभावमा प्रयोगमा ल्याउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। उनले भने, “भवन मात्रै बनेको छ, आवश्यक उपकरण र कर्मचारीको अभावमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ ।”


ADVERTISEMENT

# # #


गाउँमा बनेका प्रसूति सेवा केन्द्र प्रयोगमा नआएपछि स्थानीय बासिन्दालाई भने समस्या भएको छ । कोरोना महामारीका कारण बाहिर जानसमेत अप्ठ्यारो भइरहेका बेला गाउँमा बनेका प्रसूति सेवा केन्द्र सञ्चालनमा नआउँदा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

पाटन नगरपालिका वडा नं १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन् । आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको रु १२ देखि रु २० लाखको लागतमा बनेका ती भवन अझै पनि सञ्चालन गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। उनले भने, “कर्मचारीको अभाव र उपकरण औजारको अभावमा शहरी स्वास्थ्य केन्द्र र प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिएको छैन् ।”

यस्तै पञ्चेश्वर गाउँपालिका–४ निङलाडस्थित सामुदायिक स्वास्थ्य एकाइ पनि सञ्चालनमा आएको छैन । स्थानीयवासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निर्माण भएका संरचना प्रयोगमा नआउँदा स्थानीयवासीलाई समस्या भएको छ ।

सो सामुदायिक स्वास्थ्य एकाइमा शौचालय, खानेपानीको अभाव रहेको छ भने उपकरण र कर्मचारीको समेत अभाव हुँदा सञ्चालनमा आउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताए । उनले भने, “मलाई धेरै कुरा थाहा छैन्, तर बनेका संरचना प्रयोगमा आएका छैनन्, प्रदेश सरकारको पैसाले बनेको हो, कर्मचारी र उपकरणको अभावले सो भवन प्रयोगविहीन भएको छ ।”

पुर्चौँडी नगरपालिका–४ भटनामा बनेको प्रसूति सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेको छैन । विभिन्न विवादका कारण सो भवन सञ्चालनमा आउन नसकेको भटना स्वास्थ्यचौकीका इन्चार्ज रोहित धानुकले बताए । रासस