– राजेन्द्र प्रसाद फुयाल


ADVERTISEMENT


यो लेखले एक सचेत नागरिकको परिकल्पना मात्र हो । यथार्थभित्र पहेलीको खोज हो तथापि विकास विरोधी जस्तो लाग्न पनि सक्छ । परम्परागत रुपमा सिञ्चित सशर्त मन–बुद्धिले तुरुन्तै इन्कार्न पनि सक्छ । धेरैको मन–मस्तिष्कले रुचाउँदैन होला यद्धपि सत्य सत्य नै हुन्छ ।यो लेख केही आफ्नै अनुभव र धेरै सद्गुरुको प्रेरणाद्वारा अभिमुख भएको छ । लेखको मूल आशय साधनालाई महत्त्व दिनुपर्छ न कि साध्यलाई भन्नेमा केन्द्रित छ विनम्रतापूर्वक आग्रह गरिएको छ; लक्ष्य साँधौँ तर निर्धारण नगरौँ !


ADVERTISEMENT

# # #


अधिकारको उपयोग गरौं तर अधिकारी नबनौँ ! सकृयता बढाउँ तर रचनात्मकताको लागि मात्र । यात्रा गन्तव्यकोलागि नभई यात्रा यात्राकैलागि गरौँ ! तथापियात्राको दिशा तय गरौँ ! यात्रामै रमाउँ, यात्राकै लक्ष्य साँधौँ ! यात्रामा भेट भएका प्रत्येक जीवसँग यस्तो व्यवहार गरौँ जो न आफ्ना थिए न पराई, न मेरा थिए न अरुका, न पहिला भेट भएका थिए न पछि हुनेछन् । यही नै उपनिषद्का ऋषिहरुको सन्देश थियो । बुद्धको धम्मपद्, कृष्णको गीता र ओशोको अनगिन्ती प्रवचनको गठरीमा भएको गूढ रहस्य नै यही हो र आज सम्मको मेरो बुझाई पनि यही हो यद्धपि यो सजिलो छैन र पनि यही नै जीवनको परम् स्वतन्त्रता हो । यही नै जीवनको अचेतन माग हो । यही नै बुद्धको निर्वाण, महावीरको कैवल्य र वेद–उपनिषदको मोक्ष तथा परम् ज्ञान हो ।

महत्त्वाकांक्षा आफैमा ठिक वा वेठिक ? महत्त्वाकांक्षी सोच र त्यसको अभ्यास मानव जगतकालागि कति फलदायी भएको छ ? महत्त्वाकांक्षी जीवन चक्रले कतै मनुष्यलाई बहिर्मुखी मात्रै त बनाएन ? जीवनलाई त बहिर्मुखी र अन्तर्मुखीको बिचमा समायोजन गर्नु पर्दछ । नगर्दा के होला ? नगर्दा कठोर भइन्छ, विवेक शुन्य बनाउँछ । यो भन्दा पनि वढी उसलाई अशान्त र रुग्ण बनाउँछ ।

फेरि प्रश्न उठ्छ आखिर मनुष्यलाई यतिधेरै महत्त्वकांक्षी के कारणले बनाएको होला ? सद्गुरु ओशो भन्नु हुन्छ, “हिनताको भाव र अभावको बोध” यद्यपि यी दुबै हीनताको भाव र महत्त्वकांक्षी चेतना बिचमा सामाञ्जस्य देखिदैन तर गहिराइमा अन्वेषण गर्ने हो भने एकै भावदशाका दुई छेउ हुन् किनभने अभावले हीनता र हीनताले महत्त्वाकांक्षालाई जन्म दिन्छ । तथापि लगभग सम्पूर्ण मानव समाजले महत्त्वाकांक्षालाई जीवन विकासकालागिअनिवार्य साधनको रुपमा स्थापित गरेको छ । अझ भन्नुपर्दा, बहुमुल्य बस्त्र, श्रृङ्गार र गहना भित्र लुकाइएको छ ।

हामीले देख्दै, सुन्दै र भोग्दै आएका छौँ । अघिल्लो पुस्ताको अधुरो सपना पुरा गर्ने जिम्मेवारी दोश्रोपुस्तालाई हस्तान्तरण, निर्देशन सहित थुपारिन्छ । फेरि अर्को अधुरो सपना जोडेर तेश्रो पुस्तालाई थुपारिन्छ । यो श्रृङ्खला बढिरहन्छ । हामी सबैले बुझ्नै पर्ने तथ्य भनेको; सपना, अभाव र हीनताले नै जन्माउँछ र सपना निरन्तर अधुरो नै रहन्छ । मात्र यस सपनाको चक्रव्यूहमा कहिलेसम्म रुमलिदै जाने हो? सुझबुझद्वारा विचार–विमर्शको आवश्यकता छ किनभने सपनाको ज्वारभाटाभित्र महत्वाकांक्षाको पगरी लगाइएको छ । पगरीको नशाले अभाव–हीनताको गहिरो आत्मविस्मृति ल्याइदिन्छ ।यसलाई महत्त्वाकांक्षारूपी नशाको मादकता पनि भन्न सकिन्छ । नशाको प्रभाव व्यक्तिपिच्छे फरक हुन्छ । त्यहाँ साधारण सुपारीका अम्मलीदेखि विषकन्या सम्म हुनसक्छन् । त्यसैले व्यक्तिले जुन मात्रामा नशा–पारखको अनुभूत गरिरहेको हुन्छ त्यही मात्रामा ऊ नयाँ–नयाँ नशाको खोजीमा अगाडि बढिरहन्छ । महत्वाकांक्षाले रङ र रुप फेरिरहन्छ, मानौ यो अनन्त छ यद्यपि जव सांसारिक मोह र अपेक्षाबाट निराशा हात लाग्छ, वाक्क–दिक्क हुन्छ वा मृत्यु निकट आउन थाल्छ तथाकथित धार्मिक महत्वकांक्षाहरु शुरु हुन थाल्छन् ।

महत्त्वाकांक्षा अभाव र हीनताको उत्तराधिकारी मानिन्छ र यही अभाव र हीनताले मनुष्यलाई एक प्रकारको मनोरोगी बनाउँछ । अर्थात् यही अभाव र हीनता नै लोभ, ईष्र्या, भय(डर) को कारक तत्व हुन् । यही नै अशान्त तथा रुग्णताको जडपनि हो । यो मानव विकासको क्रममा भैरहने श्रृङ्खला नै देखिन्छ । यस प्रकारको अस्वस्थ मनोदशाको श्रृङ्खला नै एक प्रकारको मानव इतिहास भएको पाइन्छ । क्रान्तिकारी बिचारका सद्गुरु ओशो भन्नु हुन्छ, “आज करिव २५०० वर्ष पछाडि भगवान बुद्ध यस धर्तीमा आउने हो भने विज्ञानको चमत्कार देखेर त आश्चर्य नै मान्नुहुन्छ तर मानवीय व्यवहार र मनोदशा देखेर कुनै आश्चर्य मान्नुहुन्न ।” पौराणिक कथाहरु; राममायणकालीन सीता हरण, धोवीकोविचार र अभिव्यक्तिको कारणले मात्र नभई त्यति बेलाको सामाजिक धाराणा अनुरुप नै राजा रामले सीतालाई त्यो पनि गर्भवती अवस्थामा जंगलमा (बाल्मीकि आश्रम) छोड्नु परेको थियो यद्यपि राजा रामले सीतालाई असाध्यै माया गर्थे । रामायणमा उल्लेखित कथाअनुसार रामले दोश्रो विवाह गरेनन् । त्यति बेलाको राजनैतिक नियमअनुसार हुनैपर्ने महारानीको ठाउँमा सीताको मुर्ति बनाएर राखेका थिए । अथवा भनौ, त्यतिवेलाको समाजलाई मेरो जीवनमा सीतावाहेक अरुकुनैपनि नारीले स्थान लिन सक्दैनन् चाहे तिमीहरुले जुनसुकै प्रकारको आरोप लगाऊ ! मानव स्वभावलाई नियालेर हेर्ने हो भने जिउँदो रहुन्जेल खेदो गर्ने, मरेपछि प्रशंसा गर्ने वा भगवान नै मान्ने एक प्रकारको परम्परा वा संस्कृति नै बनेको पाइन्छ । त्यसैगरी, दौपदी वस्त्र हरण, महाभारत युद्ध देखि तैमुरलंग, एडल्फ हिटलर, जोसेफ स्टालिन, बोनिटो मुसोलिनी र आज २१ औँ शताब्दीमा स्वरूप परिवर्तन गरेका थुप्रै रक्त–पिचासु तानाशाहहरूको अनुमान लगाउन सकिन्छ ।

यी सबै मनोरोगी थिए । यिनीहरूलाई देखेर नकारात्मक टीकाटिप्पणी, समीक्षा गर्न हतार नगरौँ किनभने यिनीहरू पनि अशान्त र रुग्ण समाजकै प्रतिरूप हुन् । उदाहारणका लागि; १०० डिग्री सेल्सियसमामा पानी उम्लन्छ तर ८०–९० डिग्री सेल्सियसको अवस्थामा पानी उम्लियो भन्न मिल्ने कि नमिल्ने ? हात चोपली हेरौँ त ! शरीरकोतापक्रम ३६ बाट ३६.५ डिग्री भएमा डक्टर कहाँ पुग्छौ तर मनको तापक्रम कतिमा ठीक हुने हो र कति छ कसैलाई वास्ता छ ? आज शोधले भनिरहेको छ, करिव ७५% (हरेक ४ जनामा ३ जना) मनुष्यको मनस्थिति ५०–६० डिग्री सेल्सियस भन्दा माथि छ । के हामी ९५–१०० डिग्रीको प्रतिक्षामा बसिरहने हो ?

शिक्षा प्रणाली नै गलत छ किनभने त्यहाँ प्रतिस्प्रर्धा सिकाइन्छ । मलाई त आश्चर्य के मा लाग्छ भने प्रि–प्राइमरीका बाबुनानीहरू कक्षामा पहिलो भएनन् भनेर अभिभावक मात्र होइन स्वयम शिक्षकको समेत गुनासो सुनिन्छ । केही अभिभावकले यही कारण देखाएर बच्चा अर्को स्कुल लानुभएको उदाहरण मसँग धेरे छन् । सिकाउनु पर्ने त अभावभित्र कसरी व्यवस्थापन गर्ने र खुसीहुने हो । तर अभाव तथा कमजोरीलाई लुकाउदै मनमा हीनताको बोध गर्ने र महत्त्वाकांक्षालाई जीवनको आदर्श तथा उद्धेश्य बनाउने सामाजिक परम्परा नै स्थापित भएको छ । प्रसङ्गवश सुलतान बैजद र तैमुरलंगको एक चर्चालाई उल्लेख गरौँ ।

सुल्तान बैजद युद्धमा बन्दी बनाएर तैमुरलंगको अगाडि ल्याइयो । सुल्तानको हालत देखेर तैमुर खिलखिलाएर हाँस्न लाग्यो । यो देखेर अपमानित सुलतानले गर्वकासाथ शिर उठाएर भन्यो,“लडाँईमा बिजय पाएर यति धेरै गर्व नगर तैमुर ! याद राख अरुको पिडामा हाँस्नेहरू एकदिन आफ्नो पिडामा आँसु बगाउनु पर्छ ।”

सुल्तान बैजद कानो थियो र तैमुरलंग लङ्गडो । कानो सुलतानको कुरा सुनेर तैमुर अरु बढी खिललिाएर जोडसित हाँस्दै भन्यो, “म यति मुर्ख छैन, एउटा सानो जितमा हाँसु ! मलाई त मेरो र तेरो अवस्था देखेर हाँसो लागिरहेको छ । हेर्न तँ कानो म लङ्गडो । मलाई त यो सोच्दैमा हाँसो लाग्यो कि ईश्वरले तँ र म जस्तो कानो र लङ्गडोलाई नै किन महाराजा बनाएको होला ?”

यस प्रसङ्गलाई जोड्दै ओशोले भन्नु भएको छ, “म चिहानमा सुतिरहेको तैमुरलाई भन्न चाहन्छु, यो दोष ईश्वरको होइन । बस्तुतः लङ्गडो र कानोको अतिरिक्त अरु कोही सम्राट बन्न उत्सुक नै हुदैन । के यो सत्य छैन जुनदिन मनुष्य–चित्त स्वस्थ हुन्छ उस दिनदेखि सम्राट नै विदा हुदैनन् ? के यो सत्य होइन, जुन व्यक्तिको स्वस्थ मन हुन्छ, उसको शासकीय बिचार नै बिदा हुदैन?”सचेत भएर मनन गर्न जरुरी छ । महत्त्वाकांक्षारहित व्यक्तित्वको विकासबिना स्वस्थ र शान्त चित्तको स्वतःस्र्फुत विकास गर्न करिव करिव असम्भव छ ।

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मण ।
शरीरयात्रापि च ते न प्रसिद्धयेदकर्मणः ।।८।। श्रीमद भगवद्गीता अध्याय ः ३

तिमीले आफूलाई तोकिएको कर्म गर । कर्म नगर्नुभन्दा गर्नु उत्तम हो काम नगरी तिमीले आफ्नो शरीरको पालन पोषण पनि गर्न सक्दैनौ । श्रीमद् भगवत्गीतामा भगवान कृष्णले अर्जुनलाई यही प्रसङगमा भन्नु भएको छ; “युद्ध गर ! युद्ध कौशल देखाऊ ! शत्रुहरूलाई मार ! तिमीसित लड्न आउने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जे सुकै नाता सम्बन्ध भएपनि, एक योद्धा भएर अगाडी बढ । तिमी योद्धा हौ, युद्ध गर र युद्धनै तिम्रो कर्म हो, कर्म गर !”

स्मरण गर्नुपर्ने कुरा जतिपनि मानव काव्य जीवन–दर्शन तथा धर्म ग्रन्थ बनेका छन् । सबै गुरु–शिष्यको संवादबाट बनेका छन् । गुरुले शिक्षा–दीक्षा दिँदा अगाडिको शिष्यप्रति उत्तरदायी भएर उसकै मनोदशालाई बिचार गरी दिक्षित गरेका हुन्छन् । यही शिक्षालाई अप्रत्यक्षरूपमा जोडिएका हजारौँ शिष्यले आफू अनुकूल आफ्नोलागि जीवन–दर्शन बनाउँदा, सुझबुझद्वारा निर्देशित हुने प्रयासमात्र गर्नसके जीवनका थुर्पै पहेलीहरू खुल्नेछन् ।
भगवान कृष्णले अर्जुनलाई हिंसातिर उद्वेलित गरेको देखिन्छ । तर बझ्नु पर्ने;

१) अर्जुन योद्धा थिए । युद्ध कौशलता नै जीवन भरिको तपस्या थियो । जब कौशलतता देखाउने समय भयो भाग्ने कुरा गरिरहेका थिए । भगवान कृष्णलाई के थाहा थियो भने अर्जुन अहिंसावादी भएर सन्यास लिने कुरा गरिरहेका छैनन् आफन्त मार्नुपर्ने र मारिसकेपछि कसैलाई बहादुरी देखाउने ? सुक्ष्म अहंकारले अभिप्रेरित भएका थिए । अर्जन भगवानका एक बालसखा, आफ्नै भानिज भाइ र त्योभन्दा माथि एक समर्पित शिष्यलाई उसको परम् स्वतन्त्रता तथा मोक्षकालागि मार्गदर्शन गर्नु हरेक सद्गुरुको परम् कर्तव्य हुन्छ ।

२) यहाँ भगवानले स्वजाति, स्वधर्म, अथवा कर्म, अकर्म र विकर्म के हो ? भन्ने कुरा गर्नुभएको थियो ।

३) अपेक्षारहित सम्पूर्ण मन बुद्धिले गरिने कर्मले नै जीवन सार्थक हुन सक्छ भन्नु भएको छ ।

४) कर्म यसरी गर जुन तिम्रो ध्यान र तप बनोस् ! कर्म यसरी गर जुन कौशलपूर्ण होस् । त्यहाँ कुनै प्रकारको सुक्ष्म अहंकार, अपेक्षारहित, ईष्र्यारहित इश्वरप्रति समर्पित होस् । यसैबाट मनुष्यले ज्ञानचक्षु खोल्न सक्छ, परमज्ञानी बन्नसक्छ । सद्गुरु ओशोको शिष्य, भरतीय कलाकार बिनोद खन्नाले मेरो अबको कर्तव्य के हुन्छ ? भनी सोध्दा, ओशो भन्नु हुन्छ; “ तिमीले तिम्रो पेशालाई अझ राम्रोसँग अगाडि वढाई राख ! वास्तविक जीवनलाई अभिनय बनाऊ, र अभिनयलाई वास्तविक जीवन बनाऊ !” संक्षेपमा यो नै मोक्षको द्वार हो ।

अमेरिकी प्रधानाध्यापक डेभिड ग्रिनले भन्नुभएको थियो,“संसारमा एउटै चिज लगातार स्थिर छ भने त्यो परिवर्तन हो ।” तर मानव मनोविज्ञानलाई गहिराइमा अध्ययन गर्ने हो भने, परिवर्तित स्वरूपको अपरिवर्तित मनोवृत्ति नै नमिठो सत्य हो । त्यसो भए निरास हुने हो ? बुद्धिमानी हुँदैन ! जुनसुकै संस्कृति र परम्परा स्थापित समाजमा पनि एक व्यक्ति मर्यादित स्वच्छन्तावादी भएर स्वयम्लाई रुपान्तरण गर्न सक्छ । कमलको बिरुवा बनेर फुल्न सक्छ फव्रmन सक्छ यद्धपि यो फूल हिलो र फोहोरमा नै जन्मिन्छ । एक तितो सत्य, समाज एक भिड जस्तै हुन्छ । भिड भेडा जस्तै हुन्छ जसले कहिल्यै बुद्धि र विवेक प्रयोग गर्दैन । यो तथ्यलाई एक–दुई उदाहरण बाट प्रष्ट्याउने चेष्टा गर्दछु ।

१) शिक्षकहरूको, प्राध्यापकहरूको, प्रधानाध्यापकहरूको यस्तै बहिर्मुखी शिक्षाविद्हरूको बनभोज कार्यक्रम, भ्रमण कार्यक्रममा जाँदा २१ औँ शताब्दीका चपलिहाइट चलचित्र देख्न र सुन्न सकिन्छ । जोक पनि ननभेज । मानिलिउँ यसप्रकारको जोक नै मनोरञ्जको एक मात्र माध्याम होे ।

२) विवाहमा जन्त जाँदा समाजको पढेलेखेको तथाकथित गन्य–मान्य महानभावहरूले बाटोमा हिडेका युवतीलाई उमेरको पनि ख्याल नगरी छिल्लिएको, इतरिएको धेरै देखेको छु ।

३) यस्तै गरी, चोक बजारमा हुने झै–झगडामा देखिने तमासे भिड । बस यहाँ कुनै मसला चाहियो बिना सुझबुझको तमासा देख्न सकिन्छ । त्यहाँ वकिल, शिक्षक तथा कथित गन्यमान्य र पत्रकारको त हक नै लाग्ने भयो । एक सिदा गवाँर पनि सामेल हुन्छ र तोडफोड गर्छ । किनभने यो भिड हो, समूह हो जहाँ व्यक्तिगत जिम्मेबारी केही पनि हुँदैन ।

४) अझ प्रष्ट्याउन पर्दा समाजका केही घट्ना देखेर र सुनेर अनुमान लगाउन सकिन्छ कि समाजको वास्तविकता । उदाहरणको लागि, चाहे त्यो, रुकुमको विजातीय विवाहको निहुमा भएको हत्याकाण्ड होस, चाहे वोक्सीको आरोपमा एक अबला नारीमाथि पुरै गाउँ मिलेर गरिएका अमानवीय श्रृङ्खलाका घट्ना हुन् वा यस्तै कहालीलाग्दो बलत्कार र हत्याहरू ।

५) तत्कालीन रूपमा हेर्ने हो भने, चितवनको एक घट्नालाई प्रतिनिधि पात्रकोरूपमा लिन सकिन्छ । एक साधारण स्वास्थ्यकर्मी मात्र होइन,एम.डि. गरेको डाक्टर जो जन सेवामा रातदिन नभनी लागि पर्छ तर जब उसलाई कोरोना पोजेटिभ देखिन्छ ऊ आफ्नो घरबाट अपहेलित र तिरष्कृत मात्र होइन, आफ्नो बच्चालाई हस्पिटल, आफ्नो नीजि सवारीमा लान पाउँदैन । गाउँका गन्यमान्य टोल सुधार समिति यसको प्रमुख वाधक थिए !

अन्तमा, स्वच्छन्द नभई मर्यादित र सचेत स्वछन्दतावादी हुन सक्नुपर्छ किनभने जीवनको तिर्खा परम स्वतन्त्रताबाटै मेटिन्छ । मोक्षकालागि उत्प्रेरित तथा अभीप्सित हुँदै सद्गुरुहरूको मार्गदर्शनप्रति सम्भव भएसम्म क्रियाशील हुनसकेमामात्र रूपान्तरणको ढोका खुल्छ तर यसकोलागि दृढताको बाटो रोज्ने आँट गर्नुपर्छ । यद्यपि याद राख्नु पर्ने कुरा फुल संवेदनशील हुन्छ । पिडा संवेदनशीललता मै हुन्छ । फुल्ने–फक्रिने धैर्यता राखौँ । जीवन त छनोट प्रकृयाको निचोड हो ।
लेखक

(लेखक सृजना ज्ञानसागर मा. वि  तारकेश्वर –४, पुरानो गुहेश्वरी, – काठमाडौँका प्रधानाध्यापक हुन् । )