काठमाडौँ – काभ्रे प्रहरीले सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भन्दै १० लाख ठगी गरेर फरार चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ बस्ने श्रीखण्ड तामाङ, वडा नं. ५ का हर्क तामाङ, बुद्धि बहादुर तामाङ र गोबिन्द तामाङ रहेका छन् ।


ADVERTISEMENT


उनीहरुमध्ये एक जनालाई काभ्रे, एक जनालाई काठमाडौँ र अन्य दुई जनालाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुमाथि ‘मुलुकी अपराध संहिता, २०७४’ को ठगी सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।


ADVERTISEMENT

# # #


के भएको थियो घटना ?

नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. ०२ का पेन्जोम शेर्पालाई गत असार २० गते अपरिचित व्यक्तिबाट फोन आयो । फोनमा ती व्यक्तिले आफूले १७ हजार अमेरिकी डलर भेटाएको र सस्तो दरमा साट्ने बताए ।

बारम्बार फोन आएपछि र विभिन्न प्रलोभन देखाएर मोलमोलाई गरेपछि पेन्जोम उनीहरुलाई भेट्न राजी भए । तर, फोन गर्नेहरुले उनलाई पैसा लिएर काभ्रेको पाँचखाल नगरपालिका–४ लामिडाँडामा १० लाख पैसासहित आउन अह्राए ।

सोही अनुसार गएका पेन्जोमबाट उनीहरुले १० लाख रुपैयाँ हत्याए र पेन्जोमलाई पनि अमेरिकी डलर भनिएको पोको थमाए । तर, उक्त पोको प्रहरीले देखेमा दुबै पक्षलाई अप्ठ्यारो हुनेभन्दै तत्काल नखोल्न निर्देशन दिए ।

ती व्यक्तिहरुले १० लाख रुपैयाँ लिएर गइसकेपछि पेन्जोमले पोको खोले । रुमाल भित्र हेर्दा काटिएको कागजको बिटा मात्र रहेको भेटिए ।