एजेन्सी – युएईंमा जारी १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)को टिम दिल्ली क्यापिटल्सलाई धक्का लागेको छ ।


ADVERTISEMENT


दिल्लीका प्रमुख लेगस्पिनर अमित मिश्रा आइपीएलबाट बाहिरिएका छन् । औँलामा चोट लागेपछि उनले आइपीएलको बाँकी सबै खेल गुमाउने भएका हुन् । शनिबार कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा उनको औँलामा चोट लागेको थियो । चोट लागेपछि उनी २ ओभर बाँकी छँदै मैदान छोड्न बाध्य भएका थिए ।


ADVERTISEMENT

# # #


त्यही चोटका कारण उनी आइपीएलबाट बाहिरिएको दिल्लीका एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएका छन् ।

ती अधिकारीले एएनआईलाई भनेका छन्, ‘उनको (मिश्र) को रिपोर्ट त आएको छ, तर खबर नराम्रो छ । उनी आइपीएलको बाँकी खेलहरुका लागि उपलब्ध हुनेछैनन् । उनको स्थानमा हामीले अरु कोही हेर्नुपर्ने हुन्छ । तर, खराब पक्ष यो छ कि उनी निकै लयमा थिए । उनको अनुभव यस्तो थियो, जसले उनलाई युएईको विकेटमा सहयोग मात्रै गरिरहेको थिएन, युवा स्पिनरका लागि पनि निकै लाभदायी थियो ।’

आइपीएलको जारी सिजनमा दिल्लीले ४ खेलमा ३ जित हात पारेको छ । जसमध्ये ३ खेलमा मौका पाएका मिश्राले ३ विकेट लिएका थिए । ३७ वर्षीय स्पिनर मिश्रा आइपीएलमा निकै सफल खेलाडी मानिन्छन् । उनले आइपीएलमा दिल्लीका लागि मात्रै १०० विकेट लिएका छन् ।

यसपटक उपाधी विजेता मानिएको दिल्ली अंकतालिकामा ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । दिल्लीले आजै विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर बैंगलोरविरुद्ध खेल्दैछ । बैंगलोर ४ खेलमा ३ जितसहित समान ६ अंक भएपनि रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।

मिश्राको बहिर्गमनसँगै नेपाली युवा स्पिनर सन्दीप लामिछानेको अन्तिम ११ मा पर्ने सम्भावना केही बलियो बनेको छ । यद्दपी दिल्लीसँग अर्का अनुभवी स्पिनर रविचन्द्रन अश्वीन र अलराउन्डर अक्षर पटेल भएकाले टिममा मौका पाउन सन्दीपलाई सजिलो भने पक्कै हुनेछैन ।

जारी संस्करणमा सन्दीपले कुनै खेलमा पनि मौका पाउन सकेका छैनन् ।