काठमाडौँ – लकडाउनयता नेपालमै सवारी एसेम्बल गरिरहेका २ वटा उद्योग बन्द भएका छन् । एसेम्बलका लागि आवश्यक पार्टस्को आयात गर्न नसक्दा र आयातीत पार्टस् पनि नाकामै रोकिँदा नेपालमा दुईपांग्रे सवारी एसेम्बल गरिरहेका बेला मोटर्स र बेनलिन मोटर्स बन्द भएका हुन् ।


ADVERTISEMENT


गत वर्ष नाडा अटो शोमा निर्वतमान अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालमै सवारीसाधन एसेम्बलिङ गर्ने कम्पनीलाई सरकारले नीतिगत संरक्षण र सहजीकरण गर्ने बताएका थिए । यद्यपि, सरकारकै नीतिगत कठिनाइका कारण एसेम्बलिङ उद्योगमा समस्या रहेको सञ्चालकहरु बताउँछन् ।


ADVERTISEMENT

# # #


बेनलिनले हालसम्म नेपालमै ४ सय ८५ वटा स्कुटर एसेम्बलिङ गरी बिक्री गरेकामा बन्दाबन्दी सुरु भएयता कम्पनीले उत्पादन बन्द गरेको छ । पुनः उत्पादन सुरु गर्ने÷नगर्ने विषय यकिन नभएको कम्पनीका प्रबन्ध निर्देशक शिवहरि आचार्यले बताए ।

यस्तै, बेनलिन मोटर्स पनि बन्दाबन्दीयता बन्द छ । बीचमा १२ वटा स्कुटर उत्पादन एसेम्बलिङ गरेको कम्पनीले हाल उत्पादन बन्द गरेको नेपाल प्रतिनिधि निर्मल पाण्डेले बताए । २६५ स्कुटर र ३५ मोटरसाइकल एसेम्बलिङ गरी बजारमा विक्री गरेको कम्पनीले बन्दाबन्दीपछि पार्टस् आयात गर्न सकेको छैन । पार्टस् सीमामै रोकिँदा उत्पादन बन्द भएको उनको भनाइ छ ।

नेपालमा एसेम्बलिङ गरिरहेका २ वटा चिनियाँ कम्पनी बन्द भए पनि बन्दाबन्दीकै बीचमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल उत्पादन सुरु गरेको छ । कम्पनीले सर्लाहीको सिमरास्थित आफ्नै प्लान्टमा भदौदेखि टीभीएसका सवारीसाधनको एसेम्बल सुरु गरेको हो ।

कम्पनीका प्रवन्ध निर्देशक साहिल अग्रवाल पहिलो चरणमा अपाचे १६० का मोटरसाइकल उत्पादन गरिएको बताउँछन् । ‘अहिले अपाचेको एसेम्बल शुरु गरिएकोमा प्लान्ट सबै रेन्जका मोटरसाइकल, स्कुटर, तीन पांग्रे र चारपांग्रे सवारीसाधनको एसेम्बल गर्न सकिने गरी निर्माण गरिएको छ,’ उनले भने । वार्षिक १ लाखभन्दा बढी सवारीसाधन एसेम्बल गर्ने गरी प्लान्ट स्थापना गरिएको होे ।

यसअघि हंशराज एन्ड हुलासचन्दले नेपालमै बजाजका मोटरसाइकल एसेम्बल सुरु गरिसकेको छ । बजाजले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट स्थापना गरी मोटरसाइकल उत्पादन सुरु गरेको हो । बजाज १२५ मोटरसाइकलको एसेम्बलबाट उत्पादन सुरु गरेको बजाजले हाल पल्सर, एभेन्जर, डिस्कोभर र प्लाटिना रेन्जका मोटरसाइकल उत्पादन गरिरहेको छ । अहिले भारतीय कम्पनीबाटै पार्टस् आयात गरिरहेको बजाजले भविष्यमा नेपाली पार्ट्स प्रयोग गर्ने सोच बनाएको छ । यद्यपि, लकडाउनपछि कम्पनीको उत्पादनमा प्रभाव परेको छ ।

दैनिक २ सय वटासम्म मोटरसाइकल एसेम्बल गर्ने कम्पनीले हाल १ सयदेखि १ सय ५० मोटरसाइकल एसेम्बल गरिरहेको कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए । उनका अनुसार हाल बजार माग ७५ प्रतिशतसम्म खस्किएको छ । यद्यपि, कम्पनीले पुरानै लयमा दसैंमा माग बढ्न सक्ने भन्दै उत्पादनको प्रयास गरिरहेको छ ।

‘बजाजको ३५ प्रतिशत बजार हिस्सा काठमाडौँमा छ । २ महिना बन्दाबन्दी खुकुलो हुँदा ४ वर्षयताको अवधिकै राम्रो माग रहेकामा निषेधाज्ञापछि बिक्री ७५ प्रतिशतसम्म खस्किएको छ,’ उनले भने । नेपालमा एसेम्बलिङ प्लान्ट स्थापनाको चर्चा नौलो भने होइन । करिब एक दशकअघि भारतको टाटा समूहले पश्चिम नेपालमा एसेम्बलिङ प्लान्ट स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो । तर पछि सरकारी सहयोग नभएको भन्दै कम्पनी पछि हटेको थियो ।

गोल्छा समूहको हुलास मोटर्स नेपालमा गाडी एसेम्बल गर्ने पहिलो कम्पनी थियो । मुस्ताङ ब्रान्डका गाडी एसेम्बल गर्ने हुलास मोटर्स सरकारको नीतिगत कारण देखाउँदै ०७२ देखि बन्द छ ।

दुई वर्ष पहिले लगानी बोर्डले चारपांग्र्रे सवारी साधन एसेम्बलका लागि आवेदन दिएको कोरियाली कम्पनी मोट्रेक्सको १० अर्ब ५४ करोड लगानी स्वीकृत गरेपछि एसेम्बली प्लान्टको चर्चा चुलिएको थियो ।

मोट्रेक्सको आगमनसँगै नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि एसेम्बली प्लान्टमा चासो देखाउँदै उद्योग विभागमा कम्पनी दर्ता गराएको छ ।
हालसम्म विभागमा २२ वटाभन्दा बढी कम्पनी एसेम्बलिङ प्लान्ट स्थापनाका लागि दर्ता भएका छन् ।

(यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ )