काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२० का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको केन्द्रीय सम्झौता नवीकरण गर्ने निर्णय गरेको छ । मंगलबार चितवनमा बसेको क्यानको बोर्ड बैठकले पहिलेको सम्झौतामा केही फेरबदल गर्दै १८ जना खेलाडीलाई तीन समूहमा ग्रडिङ गरेको हो ।


ADVERTISEMENT


तर, क्यानको सम्झौता सार्वजनिक भएसँगै चर्को आलोचना सुरु भएको छ । एक वर्षको प्रदर्शनका आधारमा सम्झौता गर्नुपर्नेमा क्यानले आफू नजिकका खेलाडीलाई काखी च्यापेको समर्थकको आरोप छ ।


ADVERTISEMENT

# # #


क्यानको सम्झौतामा लगातार राष्ट्रिय टिमबाट खेलिरहेका युवा स्पिनर ललितनारायण राजवंशी कुनैपनि ग्रेडमा परेका छैनन् । यसअघि ग्रेड ‘बी’मा रहेका ललित यसपटक भने बाहिरिएका हुन् ।  यस्तै सिनियर खेलाडी सोमपाल कामीलाई ग्रेड ‘ए’बाट ‘बी’ मा घटुवा भएका छन् ।

यस्तै समूह ‘बी’मा रहेका स्पिनर वसन्त रेग्मी नयाँ सम्झौतामा ग्रेड ‘ए’मा उक्लिएका छन् । जबकी उनले सन् २०१९ को जुलाईमा सिंगापुरमा भएको आईसीसी विश्वकप एसिया टी–ट्वान्टी छनोटपछि राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका छैनन् ।

यस्तै नियमित स्थान बनाउँदै आएका मध्यम तीव्र गतिका बलर अभिनास बोहरा, ब्याट्सम्यान रोहित पौडेल ‘सी’मा घटुवा भएका छन् । यसअघि उनीहरु ग्रेड ‘बी’मा रहेका थिए । यस्तै ग्रेड ‘बी’मै रहेका ब्याट्सम्यान सन्दीप जोरा नयाँ सम्झौतामा अटाउन सकेका छैनन् ।

इशान पाण्डे, कुशल भुर्तेल, प्रदीप ऐरी, राजु रिजाल र राशिद खान ग्रेडिङबाट बाहिरिएका छन् । उसअघि उनीहरु सबै ‘सी’ ग्रेडमा रहेका थिए ।

खेलाडीको सम्झौता वर्गिकरणमा विभेद भएको भन्दै क्यान निर्णयको विरोध सुरु भएको छ । तर, क्यान भने खेलाडीको प्रदर्शनका आधारमा नै समूह विभाजन गरिएको दाबी गर्छ । खेलाडीको ग्रेड निर्धारणका लागि कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा गठन गरिएको समितिको सिफारिस अनुसार नै खेलाडी वर्गीकरण गरिएको क्यानको भनाई छ ।

यस्तो छ क्यानको नयाँ सम्झौता :

श्रेणी ‘ए’
पारस खड्का, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारी ।

श्रेणी ‘बी’
सुसन भारी, सोमपाल कामी, आरीफ शेख र पवन सर्राफ ।

श्रेणी ‘सी’
शुभास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, राशीद खान, अभिनाश बोहोरा र कमल सिंह ऐरी ।

यसअघिको क्यानको सम्झौता

श्रेणी ‘ए’
कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी ।

श्रेणी ‘बी’
अभिनाश बोहोरा, आरिफ शेख, वसन्त रेग्मी, ललित नारायण राजवंशी, पवन सर्राफ, रोहित पौडेल, सन्दीप जोरा र सुसन भारी ।

श्रेणी ‘सी’
इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदीप ऐरी, राजु रिजाल र राशिद खान ।