– एसएसपी टेकप्रसाद राई, ललितपुर जिल्ला प्रहरी प्रमुख


ललितपुर प्रहरी प्रमुखका रुपमा पछिल्लो समय ब्यस्तता कस्तो छ ?


ADVERTISEMENT


प्रहरीकोको ‘वर्किङ आवर’ हुँदैन । २४ घण्टा नै हामी ड्युटीमा रहने हो । त्यसैले यसलाई ब्यस्तता भन्न पनि मिल्दैन । सेवामै छौँ ।


ADVERTISEMENT

# # #


ललिपुरको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?

जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य छ । राम्रो र भरपर्दो छ ।

कुन क्षेत्रमा बढी चुनौती छ र कस्ता अपराधिक क्रियाकलाप बढी हुन्छन् जिल्लामा ?

जनसंख्याको आकार बढ्दै गएपछि चोरी डकैतीमा वृद्धि हुने रहेछ । ललितपुरमा पनि साना साना चोरीका घटनाहरु चुनौतीका रुपमा छन् । त्यस्तो ठूलो घटना नभएपनि घरबाट साना साना सामान उठाइदिने जस्ता क्रियाकलाप देखिन्छन् । यो चुनौती पछाडिको अर्को चुनौती वा कारण लागूऔषध दुर्ब्यसन हो । सबैतिर सबैभन्दा बढी हुने अपराध त आर्थिक नै हो । त्यसैगरी यौनिक र कहिलेकाहीँ राजनीतिक हिँसा र वादविवाद पनि हुने गरेका छन् । सीमित जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोगबाट त्यस्ता आपराधिक क्रियाकलाप रोक्नका लागि हामीले काम गरिरहेका छौँ । जसकारण जिल्ला भित्र शान्ति सुरक्षा राम्रो छ । नागरिकहरुले आनन्दका साथ दैनिक जीवनयापन गरिरहेका छन् ।

जिल्लामा प्रहरी जनशक्ति र स्रोतसाधनको अवस्था कस्तो छ ?

हामीसँग उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनको हामीले अधिकत प्रयोग गरिरहेका छौँ । जनशक्ति र स्रोतसाधनको अभाव छ तर त्यसलाई व्यवस्थापन गरेर आवश्यकता अनुसार परिचालन गरि कमी हुन दिएका छैनौ । जस्तो ललितपुरमा १३५२ जनाको दरबन्दी भएपनि हामी अहिले ११ सय जनाले काम चलाइरहेका छौँ । शान्ति सुव्यवस्था कमी हुन दिएका छैनौँ ।

कोभिडपछिको अवस्था कस्तो छ ? कसरी व्यवस्थापन गरिराख्नु भएको छ ?

नेपालभर कोभिडको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बीचमा लकडाउन पनि भयो, यो महामारीबाट बच्नका लागि गरिएको हो भन्नेमा सर्वप्रथम सबै स्पष्ट हुनुपर्छ ।

कतिपय नागरिकमा प्रहरीका लागि मास्क लगाइदिने, दूरी कायम गरेजस्तो गरिदिने गरेको पाइन्छ । तर प्रहरी नभएको अवस्थामा मास्क नलगाएर बजारमा हिँड्ने, भिडभाड गर्ने गरेको पनि पाइन्छ । तर कोरोना हामी सबैको साझा शत्रु हो । यसमा लापरवाही नगरौँ ।

हामी कोरोना व्यवस्थापनका लागि जिल्लाभर, विभिन्न अस्पतालमा २४ घण्टा खटिएका छौँ ।

कोरोनापछि तपाईं निरन्तर कार्यालयमा नै रहेर काम गरिरहनु भएको छ, कस्तो अनुभूति भइरहेको छ ?

कोरोनाका कारण लकडाउन भएको सुरु देखि नै म घर गएको छैन । परिबारसंग भेटघाट गरेको छैन । कार्यालयमा नै रहेर देश र जनताको सेवामा अनवरत नै छौं । म लगायत कार्यालयका अन्य साथीहरु पनि कार्यालयमा नै रहेर काम गरिरहेका छौं ।

कोरोना नियन्त्रणका लागि दूरी कायम गर्नु महत्वपूर्ण छ । अर्को घरमा जानु भएन, कसैलाई भेट्नै परे मास्क लगाएर दूरी कायम गरेर भेट्नुपर्यो । लकडाउन यता हामी फ्रन्टलाइनमा बसेर काम गरिरहेका छौँ, घर गएका छैनौँ, परिवार भेटेका छैनौँ । अन्य क्षेत्रमा जस्तो प्रहरीमा हुँदैन, कोही लडिरहेको छ भने त्यहाँ जानैपर्यो , हुलदंगा नियन्त्रण गर्नुपर्यो, हिरासतमा लिनुपर्यो यसकारण सुरक्षाकर्मीलाई जोखिम बढी छ । प्रहरीको निजी जीवन दोस्रो प्राथमिकतामा पर्छ, पहिलो सेवा नै हो । त्यसैले घर नगएर कार्यालयमै रहेर काम गर्दा पनि आनन्दित नै छौँ । यस्तो वेला घर जान पनि भएन । धेरै जनासँग सम्पर्कमा आएको हुनाले आफूलाई संक्रमण भएको पनि हुनसक्छ, जसकारण घर जाँदा परिवार र समाजमा पनि सर्ने सम्भावना हुन्छ । यस्बाट सचेत बन्दै कर्तब्यलाई नै आत्मसाथ गर्दै काम गर्नुपर्छ, गरिरहेका छौं ।

यसरी कहिले सम्म कार्यालयमै रहेर काम गरिरहने ?

सकेसम्म संक्रमण रहेसम्म कार्यलयबाटै काम गर्नपर्यो । विदा लिएर आइशोलेसनमा बसेर घर जाने सम्भावना पनि हुँदैन ।

परिवारसँग लामो समयसम्म टाढा रहेर काम गर्दा कस्तो महशुस भएको छ ?

मैले अघि पनि भने प्रहरीको पहिलो प्राथमिकता पेशा हो, दोस्रोमा मात्र निजी जीवन हो । हाम्रो स्कुलिङ पनि यसैगरी हुन्छ । निजी लाभका लागि भन्दा पनि सेवामा समर्पित हुनु नै हाम्रो कर्तव्य हो । जसकारण रमाइलै भइरहेको छ, कर्तव्य पालना गर्न पाउँदा आनन्दित नै छौँ ।

ललितपुरमा अरु के गरिरहनुभएको छ ?

कतिखेर कहाँ के हुन्छ भन्न नसकिने हुँदा हामी २४ घण्टा नै तयारी अवस्थामा रहनुपर्छ । के गर्ने भन्ने कार्यायोजना अनुसार भइरहेको पनि हुन्छ, हेडक्वार्टरले दिएका निर्देशनहरु पनि पालना गर्नुपर्छ । साप्ताहिक, पाक्षिक र मासिक कार्यक्रम पनि बनाइरहेका हुन्छौँ । तर हाम्रो काम भनेको शान्तिसुरक्षा कायम गर्नु हो । घटनाअनुसार के गर्ने भन्नेमा पनि फरक पर्छ ।

केही समयअगाडि रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा झडप भयो, यसबारे के भन्नुहुन्छ ?

यो बुझाइको कमी हो जस्तो मलाई लाग्दछ । कोरोना नियन्त्रणका लागि सरकारले नै सभासम्मेलन गर्न रोक लगाएको वेला यस्तो गर्नु किमार्थ बुद्धिमानी पनि होइन । १६ सय वर्षदेखि चलिआएको रथयात्रालाई नरोक्ने भनेर स्थानीय सरकार, प्रशासन र मन्त्रालयमा पनि छलफल भइरहेको थियो । त्यसअनुसार रथ निर्माण भयो । कसरी कुन विधिबाट रथ तान्ने भन्ने छलफल हुँदैथियो तर द्धन्द विवाद निम्त्याइयो ।

हामी समाधानका लागि प्रयासरत थियौँ । खासमा के हुन्छ भने समाजमा एउटा यस्तो समुह हुन्छ जो शान्तिसुरक्षा कायम भएको देख्नै सक्दैन, जसले सँधैँ शान्ति सुरक्षा खल्बल्याउन चाहन्छ । यो घटनामा पनि त्यस्ता केही तत्व सक्रिय भएको मलाई लाग्दछ । हामीले संयमता अपनाएर भीड नियन्त्रण गर्ने प्रयास गर्दागर्दै भीडले आक्रमण शुरु गर्यो । केही सुरक्षाकर्मी साथी घाइते पनि हुनुभयो । यो एकदमै दुखद हो । त्यसपछि हामीले २७ जनालाई पक्राउ गरेकोमा २४ जनालाई कानूनी कारवाही पनि गर्यौं । रथ तान्न पाउनुपर्छ भन्ने भीडको पनि प्रहरीलाई आक्रमण गर्ने त्यस्तो कुनै योजना थिएन होला, तर एउटा तत्व हुन्छ जसले समाजमा सँधैँ हिँसा भड्काउन चाहेको हुन्छ, त्यही कारणले उक्त घटना घट्न गयो ।

अन्त्यमा के भन्नुहुन्छ ?

नागरिकको ज्यूधनको रक्षा र शान्तिसुरक्षा कायम गर्नका लागि प्रहरी सँधै तत्पर छ । यो महामारीको वेला सबैले सुरक्षा अपनाऊँ, कोरोना जसले भोगेको छ उसले थाहा पाएको छ यसको पीडा, त्यसकारण स्वास्थ्य सुरक्षा अपनाइदिन सबैमा आग्रह पनि गर्दछु । किनकी यो कसैका लागि नभएर हामी आफू स्वयंका लागि हो । कोरोना साझा शत्रु हो यसलाई सबै मिलेर परास्त गरौँ । र त्यसैगरी चाडबाड नजिकिँदै गएकोमा यस्तो वेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले सचेत होऊँ र शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई खबर गरौँ ।