चौतारा – धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक धरोहरको रुपमा परिचित सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीस्थित प्रसिद्ध त्रिपुरासुन्दरी माईको मन्दिरको पुनःर्निमाण कार्य अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


विसं २०४५ सालको भूकम्पबाट चिरा परेको मन्दिरलाई २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पुर्णरुपमा क्षतिग्रस्त मन्दिरको पुरातत्व विभागको रु तीन करोड ९५ लाखको लगानीमा पुनःर्निमाण भएको हो । दुईतले प्यागोडा शैलीको मन्दिरको पुनःनिर्माण कार्य हालसम्म ९५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


दोलखामा भीमसेन र त्रिपुरासुन्दरी माईको मन्दिर रहेको छ भने तौथलीमा पनि त्रिपुरासुन्दरी र भीमसेन मन्दिरको स्थापना भएको हुँदा दुवै ठाउँको धर्म, संस्कृति तथा जनजातिमा एकरुपता देखिन्छ । मल्लकालमा दोलखाको राजकुमारी विवाह गरेर तौथलीमा आएको र उनको साथमा नोकर चाकर तथा सुसारेहरू समेत दाइजोको रुपमा आएको भनाइ रहेको छ । प्राचीनकालमा दोलखा र तौथलीलाई शहर भनिदै आएको र सो प्रचलन अहिले पनि कायमै छ ।

सत्ययुगमा सतीदेवीको पछाडिको अङ्गपतन भएकाले शक्तिपीठको रूपमा पनि त्रिपुरासुन्दरीलाई मानिदै आएको छ । सात दिदीबहिनीमध्ये त्यहाँको देवी कान्छी भएको किंबदन्ती रहेको छ । त्यहाँ नटेश्वर महादेवको पनि मन्दिर रहेको छ । सत्रौं शताब्दीमा रञ्जना लिपिमा लेखिएको शिलालेख अहिलेसम्म पनि यहाँ स्थापित रहेको छ । प्राचीनकालमा ढुङ्गाको मूर्तिबाट पूजाआजा गरिँदै आएकामा मल्लकालदेखि स्वर्णमूर्ति स्थापित भएको स्थानीय वृद्धहरुको भनाइ रहेको छ ।

सो स्थानमा पुग्न हाल चारैतिरबाट सडक सञ्जाल जोडिएको हुँदा सहज भएको छ । हिउँदमा काठमाडौँदेखि खरिढुङ्गा हुँदै तौथली र काठमाडौ लामोसाँघु–पिस्कर हुँदै तौथलीसम्म यात्रु बस सञ्चालन हुँदै आएको स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले बताए । रासस