श्याम ठाकुर, सिरहा – भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको छ । यस्तैमा कालोबजारी गर्न राखेको करिब साढे सात क्विन्टल प्याजसहित सिरहाबाट तीनजना पक्राउ गरेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा गोलबजारमा रहेको जय लक्ष्मी सब्जी भण्डार पसल तथा गोदामका सञ्चालक मिर्चैया नगरपालिका वडा नम्बर ५ बस्ने ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैयास्थित रहेको जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहानस्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायक रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


सिरहामा अनुगमन टोलीले बुधबार ७ हजार ४ सय ४० किलो प्याजसहित संचालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ईलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्रीवितरणको लागि राखेको प्याजसहित पसल तथा गोदामबाट तीनजना संचालकलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीले ती सञ्चालकहरुलाई नियन्त्रणमा लिई गोदाम सिल समेत गरेर थप अनुसन्धान गरिरहेको डीएसपी घिमिरेले बताए।