काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत्र ११ गतेदेखि बन्द भएका लामोदूरिको सार्वजनिक यातायात अन्ततः असोज १ गते (भोलि)देखि खुल्ने निश्चित भएको छ ।


ADVERTISEMENT


लामोदूरिका सवारी सञ्चालन गर्न पाइने सरकारको निर्णयसँगै यातायात व्यवसायीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग बुधबार छलफल गरेका छन् । उक्त छलफलपश्चात व्यवसायीहरु यातायात खोल्न सहमत भएका हुन् ।


ADVERTISEMENT

# # #


छलफलमा व्यवसायीहरुले सरकारले सहजीकरण गरे यातायात चलाउन आफूहरु तयार रहेको बताएका छन् । सरकारले स्वास्थ्य सतर्कतामा मापदण्डसहितको कार्यविधि व्यवसायीलाई उपलब्ध गराउँदै अन्य आवश्यक कुराहरुमा सहजीकरण गर्नुपर्ने उनीहरुको माग छ । व्यवसायीहरुले काउन्टरमा जाँदा जोखिम हुने भएकाले अनलाइनबाटै टिकट बुकिङ गर्ने तयारी गरेका छन् ।

भोलि विश्वकर्मा पूजा गरेर यातायात सञ्चालन गर्न सकिने व्यवसायीले जनाएका छन् । सरकारले सहजीकरण गरेर यातायात सञ्चालन गर्न समस्या नहुने राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारको निर्णयले यातायात व्यववसायी र मजदुरहरुमा हौसला बढेको उनले बताए ।

यात्रुहरुको चाप कम हुने भएकाले भोलिदेखि सवारी चलेपनि संख्या भने न्यून हुनसक्ने उनले आँकलन गरे । ‘झ्याप्पै चल्न त यात्रु पनि त्यती धेरै हुँदैनन् । तर, भोलिदेखि सवारी अलिअलि चल्न थाल्छ ।’ महासचिव सिटौलाले हिमालय पोष्टसँग भने, ‘यसले मेचिदेखि महाकालीसम्म हौसला बढेको छ ।’

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गतेदेखि लामोदूरिका सवारी सञ्चालनमा पनि खुला गरेको छ । तर, सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने सरकारको शर्त छ ।

व्यवसायीले ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र तोकिएको भन्दा अधिकतम ५० प्रतिशत भाडा लिन पाउने जनाएको छ ।