– दीपक मल्होत्रा,

उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स एवं अध्यक्ष, आईएमएस ग्रुप

बन्दाबन्दीपछि व्यवसायको अवस्था : 

बन्दाबन्दीका कारण सबैभन्दा दुःख पाउने क्षेत्र नै व्यापार व्यवसाय हो । पहिलोपटक ३ महिना लकडाउन हुँदा ध्वस्त व्यापार व्यवसाय असारपछि लकडाउन खुकुलो हुँदा सामान्य बन्दै गइरहेकोे थियो । तर पुनः लकडाउन गर्नुहुँदैन भन्दाभन्दै पनि सरकारले भदौ ३ गतेदेखि ३ साता लामो निषेधाज्ञा लगायो । जसले व्यवसाय धरासयी बनाएको छ ।


ADVERTISEMENT


अब बन्द खुलेको छ, सावधानी अपनाउने हो । अब पुनः बन्द गर्नुहुँदैन, फेरी ब्यवशाय बन्द गर्न गर्न सकिँदैन ।

व्यापार व्यवसायमा आम्दानी शून्य छ । संक्रमणको जोखिम कायम छ, आगामी दिनमा उद्योग व्यवसाय कसरी अगाडि बढ्छ भन्ने पनि प्रष्ट छैन । त्यसैले यतिबेला सबैभन्दा पीडित क्षेत्र उद्योग व्यवसाय बनेको छ ।


ADVERTISEMENT

# # #


डर कोरोनाको होईन, व्यवसायको : 

जहाँसम्म रोगको कुरा छ कोरोना रुघाखोकीभन्दा कमजोर क्षमताको भाइरस हो । यो जसलाई पनि लाग्न सक्छ । लागिहाले पनि राम्रो हेरचाह हुन सके संक्रमित निको हुनेरहेछन् भन्ने देखिइरहेकै कुरा हो । त्यसैले कोरोनामै अल्झिएर अर्थतन्त्र ध्वस्त गर्ने काम गर्न आवश्यक देखिन्न पनि ।

मलाई कोरोनाको डर छैन । अर्थतन्त्र कोल्याप्स हुने अवस्थामा पुगिसकेको छ, भोलिका दिनमा व्यवसाय अब कसरी अगाडि बढ्छ भन्ने प्रष्ट छैन । मलाई यो कुराको डर छ ।

अब सरकारको भूमिका के हुनुपर्छ भने अब लकडाउन त कुनै पनि हालतमा गर्नुहुँदैन । क्वारेन्टिन, आइसोलेशन बेड र भेन्टिलेटरको व्यवस्था यी तीन काम गर्न सके प्रर्याप्त हुन्छ । अस्पताल चाहार्दा चाहार्दै मृत्यु भन्ने समाचारहरु सुनिइराखिएका छन्, आगामी दिनमा यस्ता कुरा नदोहोरियोस् भन्ने ध्यान दिएर सरकारले काम गर्नुपर्छ ।

कोठाभित्र गुम्सिएर बस्नुपर्ने वातावरणको सिर्जना हुनु दिनुहुँदैन । स्वास्थ्य सुरक्षा अपनाएर सबै क्रियाकलाप सामान्य गर्नुपर्छ ।

जुन किसिमले विश्वका ठूला देशहरु अहिले लागिरहेका छन् मलाई के लाग्छ भने अब छिट्टै नै यसको भ्याक्सिन वा औषधि बजारमा आउँछ । त्यो बेलासम्म सामाजिक दूरीसहित स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुपर्छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भनिएपनि अहिले सरकारले नै निकालेको तथ्यांकअनुसार नै अन्य रोगबाट मरेका व्यक्तिलाई पनि कोरोना संक्रमण देखिएको मात्र हो भनिएको छ । । वृद्ध र दीर्घरोगीहरुलाई केही बढी जोखिम हुने भएकाले उनीहरुको विशेष सुरक्षामा भने ध्यान दिनु जरुरी छ ।

अब यसरी अघि बढौं :  

कोरोना देखिएपछि संसारभरी नै बन्दाबन्दी भयो ।

शुरुमा एक किसिमको त्रास थियो, जसकारण नेपालले पनि बन्दाबन्दी गर्यो । तर अब हामीले आत्मबलले यसलाई परास्त गर्न सकिन्छ भन्ने बुझिसकेका छौँ । यसको औषधि छैन, रोग प्रतिरोधात्मक क्षमताले यसलाई जित्ने हो ।

अहिलेसम्म अधिकांश संक्रमित निको भइसकेका छन् । त्यसैले यसबाट डराएर बन्द गरेर बस्ने भन्दा पनि सतर्कता अपनाएर दैनिक जीवन सहज बनाउने काम गर्नुपर्छ । पहिले नै पनि सरकारले नाका बन्द गर्दा सावधानी अपनाउन सकेन । नाकाबाट भित्रिने प्रत्येक नेपालीलाई सुरक्षित क्वारेन्टिनपछि जाँच गरेर छाडेको भए अहिलेको यो अवस्था नै आउने थिएन । सरकार यस्ता कुरामा चुकेपनि आगामी दिनमा यसमा सरकारले ध्यान दिनुपर्दछ ।

अर्को कुरा, लकडाउन खुलेपछि नागरिकमा सरकारले कफ्र्यु लगाएर आफूलाई हुलेर राखेको अनुभूति जस्तो भएर बन्द खुल्नेवित्तिकै पुनः हुल गर्न थाले । यो कर्फ्यु नभएर सरकारले रोगबाट बच्न अपनाएको सावधानीका रुपमा नागरिकले बुझ्नुपर्छ । त्यसैले अब बन्द खुकुलो भएपछि नागरिक पनि सचेत भई संक्रमणको जोखिम उस्तै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर, सामाजिक दूरी कायम गरेर, मास्क लगाएर मात्र दैनिक क्रियाकलाप थाल्नुपर्छ । नत्र फेरि जोखिम बढेर अवस्था योभन्दा भयावह हुनसक्छ ।

विद्यालय, सिनेमा हल लगायतका क्षेत्रबाहेक आगामी दिनमा सम्पूर्ण कुरा खोलिदिनुपर्छ । अहिले केही खुलेका ठाउँमा मात्र हुल केन्द्रिकृत भएको छ, सबै क्षेत्र खुल्दा हुल विभाजित हुन्छ र भिड कम हुन्छ । अर्को कुरा सरकारले अनुगमन चाहिँ गर्नुपर्छ, कोरोना बढी देखिएको ठाउँमा कडाइ गर्ने लगायतका काम गर्नुपर्छ ।

व्यापारमैत्री वातावरण बनाउँ : 

देशमा उद्योग व्यवसाय राम्रो भएपछि रोजगारीदेखि सबै कुरा आफै राम्रो हुँदै जान्छ । त्यसैले सर्वप्रथम उद्योग व्यवसायलाई पुनः चलायमान बनाउने काम गर्नुपर्छ । त्यसैले अहिले सरकारले पुनःसंरचनादेखि लिएर ब्याज तिर्न नसक्नेलाई समय दिएर, सहुलियतपूर्ण ढंगले खुला रुपले व्यवसाय गर्ने वातावण मिलाउन जरुरी छ । त्रासमा होईन, अब आत्मबल बलियो बनाएर ब्यापारमय माहोल बनाउन सबै लागौं ।

(नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं आईएमएस ग्रुपका अध्यक्ष मल्होत्राले हिमालय पोष्टसंग गरेको कुराकानीका आधारमा)