महानायक राजेश हमाललाई चिनाउने प्रमुख विशेषता उनको कपाल पनि हो । जसमा विगत १७ वर्षदेखि राम ठाकुरले कैँची चलाएका छन् । नेपाली चलचित्र क्षेत्रमा ‘हेयर डिजाईनर’ र ‘मेकअप आर्टिष्ट’ को रुपमा उनी काम गर्छन् । भारतीय, दक्षिण भारतीय र भोजपुरी चलचित्रहरुमा समेत उनले काम गरेका छन् । ठाकुरसँग उनको जीवनको विविध विषयमा केन्द्रित रहेर हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


चलचित्र क्षेत्रमा कसरी आउनुभयो ?


ADVERTISEMENT

# # #


सर्लाहीबाट काठमाडौँ संघर्ष गर्नका लागि भनेर आएको थिएँ । त्यही क्रममा मैले सैलुन खोलेँ । १० वर्ष सैलुनमा काम गरिसकेपछि एकदिन निखिल उप्रेतीदाईसंग भेट भयो । उहाँ मेरोमा कपाल काट्न आउनुभएको थियो । निखिल दाइ सर्लाही मेरै गाउँको मान्छे भएपनि उहाँ अधिकांश समय भारतमा रहनुहुन्थ्यो, त्यसैले चिनजान थिएन । उहाँसँग भेट भएपछि उहाँकै माध्यमबाट राजेश दाइसँग चिनजान भयो । त्यसपछि मेकअप आर्टिस्टको रुपमा मैले नेपाली चलचित्रमा काम गर्न थालेँ ।

कुन कुन कलाकारसँग काम गर्नुभयो ?

मैले थुप्रै कलाकारसँग काम गरेको छु । १७ वर्षदेखि निरन्तर राजेश दाइसँग काम गरिरहेको छु । नेपालका लगभग हरेक कलाकारसँग मैले काम गरेको छु । यसैगरी भारतीय, दक्षिण भारतीय र भोजपुरी चलचित्रमा मैले काम गरेको छु ।

काम गर्दागर्दै चर्चित हुन्छु भन्ने कहिल्यै सोच्नुभएको थियो ?

म गाउँबाट संघर्ष गर्न आएको अनपढ मान्छे यो क्षेत्रमा आउँछु भनेर मैले कहिल्यै सपनामा पनि सोचेको थिईन । जिन्दगीले डोहोर्याउँदै डोहोर्याउँदै नसोचेको ठाउँमा पूर्याउँदो  रहेछ, कल्पना नै नगरेको परिचय दिने रहेछ । मेरो जीवनमा राजेश दाई, निखिल दाईहरु यसरी आईदिनु भयो की आज मैले एउटै जीवनमा पनि पूर्नजन्ममा पाएको सम्मान र परिचय बोकिरहेको छु ।

मलाई अहिले सबैले माया गर्नुभएको छ । सबैप्रति आत्मीय सम्बन्ध छ ।  फिल्ममा मात्र नभएर अब देशका लागि केही गरौँ भन्ने लागेको छ । समाजका लागि केही गर्न मन छ । परिआएको खण्डमा देशका लागि जीवन अर्पन गर्न परेपनि त्यस्तो काम गर्छु भन्ने सोचका साथ अघि बढ्ने योजना बनाईरहेको छु ।

महानायकको विषयमा पछिल्लो समय विवाद पनि उत्पन्न भयो । तपाई के भन्नुहुन्छ ?

यो विवादको कुनै वजन छैन, जरुरी छैन । अग्रजप्रति सम्मान नहुनु भनेको समस्या हो । नयाँ कलाकारले अग्रज कलाकारको सम्मान गर्नुपर्छ । जहासम्म महानायकको कुरा छ, निशर्त राजेश हमाल नै महानायक हो । उहाँसँग काम गरेको लामो अनुभवका कारण म यो भनिरहेको छु । चलचित्र खेल्नुले मात्रै नभएर उहाँको ज्ञान, विवेक र चेतना पनि मुख्य कुरा हो । रिल लाइफमा मात्र नभएर रियल लाइफमा पनि उहाँ महानायक हो जस्तो मलाई लाग्छ । उहाँ सबैलाई माया र सम्मान गर्नुहुन्छ, १७ वर्ष भयो उहाँसँग काम गरेकोमा अहिलेसम्म राजेश हमाल रिसाएको मैले देखेको छैन । नेपाली फिल्ममा सबै कलाकारको योगदान छ, सबैप्रति सम्मान पनि छ मेरो चाहिँ ।

बन्दाबन्दीले तपाईको पेशाको अवस्था कस्तो छ अहिले ?

पेशाको अवस्था कोभिडले नाजुक बनाएको छ । व्यवसाय धरासयी भएको छ । कतिपय व्यवसायी खान नपाउने अवस्थामा पुगेका छन् । रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको छ । यो पेशा मात्र होइन, सेवा पनि हो । सरकार अभिभावक हो । जनताको जीवन सहज बनाउन अभिभावकत्व बहन गर्नुपर्छ । मैले मलाई चाहिन्छ भनेको होइन, राज्यले पेशा गुमाएकाहरुलाई राहतको व्यवस्था गर्नुपर्छ ।

रोगले मर्नुभन्दा भोकले मर्नु दुखद हो । नेपालको कुरा गर्नुपर्दा कोरोनाभन्दा रोजगारी गुमाएर खान नपाएर आत्महत्या गरेर मर्नेको संख्या बढी छ । यसलाई हेर्दा षड्यन्त्र हो जस्तो लाग्छ । अब बन्दाबन्दी खोल्नुपर्छ । अवस्था तत्काल सामान्य गर्नुपर्छ ।

तपाईका अरु योजनाहरु के छन् ?

१७ वटा फिल्ममा मैले अभिनय गरेको छु । कोरोनाका कारण एउटा बन्न लागेको फिल्म रोकिएको छ । बन्दाबन्दीपछि फिल्मको काम अघि बढ्छ । भोजपुरी निर्देशक गुरु ठाकुरको निर्देशनमा ‘अनपढ’ फिल्म बनाउन लागेका हौँ, उक्त फिल्ममा म खलनायकको भूमिकामा छु । नपढेको मान्छेले पनि जीवनमा केही गर्न सक्छ भन्ने कथामा फिल्म निर्माण हुन लागेको हो । यसरी चलचित्र क्षेत्रमा नै बिबिध हिसाबले नयाँ योगदान दिने योजनाहरु बनिरहेका छन् । सबैको मन जित्न सकुँ, सबैको आत्मिय बन्न सकुँ, यही अपेक्षा छ ।