सुनकोशी र तामाकोशीको सङ्गममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोहीकोही मात्र होलान्, तर तामाकोशीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरु ठाडै उभिएका जस्ता थिए ।


ADVERTISEMENT


सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केजस्तो गरेर नदीका किनारमा घुम्लुङ्ग परेर सुतेका चारपाँच जना उठे । सबैको मनमा उठ्नासाथ प्रश्न उठ्यो, ‘पेट कसरी भर्ने?’


ADVERTISEMENT

# # #


एउटाले अर्कोको मनोभाव बुझेको जस्तो गरेर सबै मुखामुख गर्न लागे । विधवाको दृष्टि गोरेमाथि थियो । विधवाले सबैलाई सम्बोधन गरेर भनिन्, ‘होइन, तिमीहरु घरबाट हिँड्दा पेट भर्न के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?’

सबैजना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, ‘मेरो त घरै छैन ।’

बूढोले भन्यो, ‘मेरो त थियो, तर अब म पनि घरद्वार नभएको छु । तर नानी, तिम्रो घर भए किन यहाँ आएकी त ?’

घरद्वार नभएका यी चारजना माग्ने भनूँ वा कुल्ली भनूँ, काम पाए कुल्ली नत्र माग्नेका माझमा घरद्वार भएकी विधवा कागको हुलमा हंसिनी थिइन् । तिनले अन्नपूर्णझैं झट्ट आफ्नो पोकोबाट चिउरा झिकिन् र भाग लाउन थालिन् । सबैको चिउरामाथि थपथप चाकुका डल्ला राखिन् ।

सबैको आँखामा अकस्मात तेज आयो र सबैको हृदयमा विधवाप्रति महान आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नु भागबाट चिउरा थपिदिँदै भनिन्, ‘तिमी जवान छौ । तिमीलाई अरुभन्दा बढ्ता भोक लाग्दो हो ।’

फेरि सबैलाई सम्बोधन गरेर भनिन्, ‘मधेसतिर हिँडेकी, पोइ छैनन् । सासूससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रूखो, माया गथ्र्यो तर पोइ नभएको घरमा टिक्न सकिनँ ।’

यो वाक्यले ती चारैजनाको हृदयमा खुब प्रभाव पार्‍यो । खान पाउने ठाउँ पोइ छैन भन्दैमा लत्याएर हिँड्नु तरतरो काम होइन । तिनीहरु ती विधवालाई झन् मान गर्न थाले ।

उनले सोधिन्, ‘तिमीहरु कहाँ हिँडेका नि ? तिमीहरुले त राति पनि केही खाएको देखिनँ, त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकोले तिमीहरुनेर आएर सुतें । रातभरि तिमीहरुको माया लागिरहृयो ।’

भोटेले बडो आश्चर्य मानी सोध्यो, ‘तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंको पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।’

विधवाले भनिन्, ‘तिमीहरु मान्छे त हौ ।’

हिजो दिनभरि नखाएको पेटमा चिउराका कणहरु पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई कुरा गर्न थाले । बूढोले भन्यो, ‘नानी, हामीहरु चारजनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रा कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।’

उत्निखेर सबैले मधेस लाग्ने निश्चय गरे र पाँचैजना, चार लोग्ने मानिस एक स्वास्नी मानिस दक्षिणको बाटो लागे । बूढो आफ्नु बितेको जीवनका घटनाहरुलाई भन्थ्यो, ‘उसले एकचोटि निकै पैसा कमायो, सत्र रोपनी खेती गथ्र्यो । पछि त्यसै बिग्रीबिग्री आयो । त्यसबेला त्यो जवान थियो, निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामथ्र्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ? अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकेर मात्र यताउति हिँड्नुपरेको ।’

विधवाले भनिन्मे, ‘मेरो त मधेसमा गएर राम्ररी घरबार गरेर बस्ने इच्छा छ । सानो खेतीबारी गर्‍यो । वहाँ खेती गर्न सजिलो छ रे । जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासूससुराका कचकचले अड्नै सकिएन । फेरि पोइ मरेका ठाउँमा त्यसै उच्चाट लागेर आउने ।’

भोटे र धने यिनीहरुको कुरा चाख मानेर सुनिरहेका थिए । तर आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबभन्दा पछि गोडा घसारी हिँडिरहेको थियो । विधवा गोरेको निम्ति पर्खिन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिकै आएपछि विधवाले भनिन्, ‘थाक्यौ र गोरे ? घाम पनि अग्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकोमा राख ।’

उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकामा राखिदिइन् ।

फेरि सबै जना हिँड्न थाले । त्यो बूढो भन्नु मात्र थियो, त्यो सबभन्दा अघिअघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो पछिल्लो जीवनको घटनालाई त्यसरी रूचाएर तिनीहरुले सुनेको देख्ता बूढो झन् सुरिएर भएनभएको कुरा गर्न थाल्यो । भोटे र धने पक्क परेर सुनिरहेका थिए । भित्रभित्र तिनीहरु बूढाको आदर गर्थे ।

विधवा र गोरे पछिपछि बिस्तारबिस्तार आइरहेका थिए । गोरेको उमेर पच्चीस वर्षको हुँदो हो, विधवाको तीस । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको परिश्रमले झन् तल भासिएको थियो, आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्ति, ‘तिमी मधेस गएर के गर्छौ ?’

गोरेले भन्यो, ‘कुन्नि ।’

विधवाले भनिन्के, ‘तिमी घरबार गर्दैनौ ? खेतीबारी गरी बस्न मन छैन ?’

गोरेले भन्यो, ‘पैसा खोइ नि ?’

विधवाले भनिन्म, ‘मधेसमा खेती गर्न त्यसै पाइन्छ । वहाँ खेत सितैं पाइन्छ । तिम्रो उमेर के भयो होला र ? घरद्वार गर । स्वास्नी पाल, छोराछोरी पाल । यस्तो उरन्ठ्याउलो भएर कति दिन बिताउँछौ ?’

विधवाले फेरि एक्कासि प्रश्न गरिन्ति, ‘तिमीलाई स्वास्नीमानिस मन पर्दैनन् ?’

गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हेर्‍यो र भन्यो, ‘किन मन पर्दैनन् ?’

विधवाले भन्न थालिन्म, ‘म मधेस गएर खेतीबारी गर्छु । घरबार गर्छु, तर स्वास्नीमान्छेले मात्र घर बनाउन सक्तैनन्, लोग्नेमानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो । किन हामी दुईजना मिलेर घर नचलाऔं ?’

गोरेले विस्मयको दृष्टिले विधवालाई हेर्‍यो । विधवाले अलिक अप्रतिभ भएर भनिन्के, ‘के म तिम्रो लायक छैन र रु मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएको छैन । मेरो सन्तान पनि कोही भएन, त्यसो हुनाले शरीर बिग्रन पाएन ।

गोरेले चकित भै विधवालाई हेरिरहृयो । विधवाले भनिन्गो, ‘गोरे, मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्तिनँ र ? खोइ मेरा छोराछोरी ? खोइ मेरो आफ्नो घर ? खोइ मेरा आफ्ना मान्छे ?’

विधवाको मुख अकस्मात रून्चेजस्तो भयो । उनको मुख रातो भयो । मुन्टो तल गाडेर नबोली हिँड्न थालिन् । धेरैबेरसम्म उनीहरु नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निस्तब्धतालाई भङ्ग गरेर भनिन्गो, ‘गोरे, मसँग अलिक गहना पनि छ, रूपियाँ पनि छ, त्यसैले गएर खेती किनौंला, घरद्वार बनाउँला, तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।’

अलिक पर बूढो भोटे र धने एउटा ठूलो ढुङ्गामा बसेर तिनीहरुलाई पर्खिरहेका थिए । उनीहरुलाई आएको देखेर टाढैबाट बूढोले भन्यो, ‘अब बस्ने होइन ? खाने के नि ?’

सबैको दृष्टि विधवामाथि पर्‍यो । उनले भनिन्, ‘अलिकता चिउरा बाँचेको छ, पेटभरि नभए तापनि अलिअलि त थेग्ला ।’

तिनीहरु बसेर चिउरा फाँक्न थाले र आकाशलाई छानो बनाएर गुँडुल्किएर त्यहीँँ बाटोको छेउमा सुते ।

दिनभरि हिँडेका हुनाले तिनीहरु सुत्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।

बिहान सूर्यको पहिलो किरणको साथसाथैमा बूढो उठ्यो र खोक्न थाल्यो । सबजना उठे । तर गोरेको पत्ता थिएन । विधवाले आत्तिएर सोधिन्गो, ‘गोरे खोइ ?’

बूढोले शान्त भएर भन्यो, ‘गयो होला कतै, अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय हुन सक्छ ।’

विधवाको हृदय भारी भयो र उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुर्दिनको सँगी यसरी अल्पिँदा यिनीहरुको मनमा अलिकता पनि दुःख नहुनु ? तिनी आफ्नो पोको बटुल्न थालिन् । उनको हृदय धक्क भयो । उनको गहनाको पोको छैन ।

सबजना हिँड्न तयार भए । तर विधवा बसेर पोकाहरु बाँधबुँध मात्र गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो, ‘के गरिरहेको ? हिँडिहालौं नत्र साँझसम्म पुगिँदैन । भोकै सुत्नुपर्ला ।’

विधवाले रून्चे स्वरले भनिन्, ‘मेरो गहनाको पोको छैन ।’

सबजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, ‘तिमी गहनागुरिया लिएर कहाँ हिँडेको त रु लग्यो होला, गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नु ?’

विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्चु, ‘चुप लाग, बूढा । त्यस गहनाले मैले कें के गरूँला भन्ने विचार गरेकी थिएँ, खेती किनुँला, बिहा गरूँला, घर जमाउँला, छोरा पाउँला । मेरो सारा आशा नष्ट भयो ।’

यति भनेर डाँको छोडेर रून लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो, ‘किन रोएकी, नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भैहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तियौ, लौ हिँड ।’

विधवा टोल्हाएर उभिइन् र बूढोको पछिपछि लागेर हिँड्न थालिन् ।

त्यो टाढाको टाकुरामा पुगेर बूढोले बडो उत्साहसँग दक्षिणतिरको आँखाले भ्याउन्जेलसम्मको, ठूलो विस्तीर्ण मैदानलाई देखाएर आफ्ना साथीहरुलाई भन्न थाल्यो, ‘ऊ त्यही हो मधेस । त्यहीँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामीले अघाउन्जेल खान पाउँछौं ।’

भोटे र धनेको आँखामा उत्साहको आभा दगुर्‍यो । भोकले सुकेको गालामा पनि आनन्दको गुलाफी देखियो । कानसम्म मुखको कुना पुर्‍याएर मुखभरि चाउरी पारेर तिनीहरु हाँसिरहे ।

तर विधवामा उत्साह थिएन । आफ्नो उमेर ढलिसकेको थियो । उनले तिनै गहना र रूपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई (आफ्नो सानो घर, छोराछोरी) सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घरझैं भताभुङ्ग भयो । उनले पनि देखासिखी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।

(दोषी चश्मा कथा संग्रहबाट)