खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, सोल्मा, बाम्राङ, नेर्पालगायत आसपासका स्थानीय बासिन्दाको घरबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन गर्ने लक्ष्यका साथ सोल्मामा प्राङ्गारिक मल उद्योग र बायोग्यास प्लान्ट स्थापना गरिएको हो ।


ADVERTISEMENT


पन्ध्र वडा रहेको नगरपालिकालाई प्राङ्गारिक क्षेत्र बनाउन अर्थमन्त्रालयको विशेष अनुदानवापतको ३ करोड ३२ लाखको लागतमा एकैठाउँमा प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट स्थापना गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए। ‘ल्याब परीक्षण, जनशक्ति व्यवस्थापनबाहेक भौतिक संरचनाको काम सम्पन्न भएको छ’, उनले भने, ‘भ्यालिडिटीका लागि ल्याब टेष्ट गराउने र आवश्यक जनशक्ति व्यवस्था गरेर केही दिनमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’


ADVERTISEMENT

# # #


नगरपालिकाका अनुसार मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख र ट्रस भवनलगायतका संरचना निर्माणमा ३९ लाख खर्च भएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री सङ्कलन गरेर प्रशोधन गर्दै प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्न सकिने नगरपालिकाका कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताए ।

प्राङ्गारिक मल उद्योग तथा बायोग्याँस प्लान्ट स्थापना गर्न कार्यपालिका सदस्य विश्वकर्माले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । प्राङ्गारिक मल उत्पादनका लागि कुहिने, सड्ने र मक्किने वस्तु प्रतिकेजी डेढदेखि दुई रुपैयाँका दरले खरिद गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोक बिक्रेतामार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ । उद्योगबाट उत्पादित प्राङ्गारिक मल पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने नगरपालिकाका कृषि शाखा प्रमुख धर्मेन्द्र कोलनीको भनाइ छ । प्राविधिकका अनुसार ‘टर्नर’मा काटेर ‘थुम’मा हालेर क्रसर चलाएपछि धुलो बनेको मलको कच्चा पदार्थ स्क्रिनिङ मेसिनमा पुग्दा तयारी भएर बोरामा प्याक भएर मलका रूपमा बाहिर निस्कन्छ ।

प्राङ्गारिक मल उद्योगसँगै बनाइएको बायोग्याँस प्लान्टमा मानव मलमुत्र तथा गाईभैँसीको गोबर हालेर ग्याँस उत्पादनको तयारी गरिएको छ । तीन हजार ५०० घनमिटर क्षमताको ‘अण्डरग्राउण्ड डुम’मा कच्चा पदार्थ हालेर गोबरग्याँस उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रूपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्न मिल्ने जनाइएको छ ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी छ । आवश्यक गोबर र स्याउलाका लागि प्राङ्गारिक मल उद्योग र बायोग्याँस प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसी पालन गरिएको छ । गोठको स्याउलालाई भने प्राङ्गारिक मल उत्पादनमा उपयोग गरिने छ । ग्याँस उत्पादन भएपछि निकास हुने लेदोलाई ड्रायरमा सुकाएर प्याक गरेर मलकै रूपमा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

उद्योगमा स्थानीय चार युवाले पूर्णकालीन तथा २५ जनाले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित प्राङ्गारिक मल नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा समेत बिक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण प्राङ्गारिक क्षेत्र बनाउने तयारी भइरहेको छ । प्राङ्गारिक मलको विकल्पविना पूर्णरूपमा प्राङ्गारिक नगर बनाउन नसकिने भएकाले प्राङ्गारिक मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई प्राङ्गारिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् । वडा नं–९ निर्मलीडाँडा, १० पाथे, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडाहरु प्राङ्गारिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा प्राङ्गारिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ । रासस