रुपन्देही – उद्योग व्यापार संगठन रुपन्देहीले अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले विज्ञप्ति निकालेर अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो ।


ADVERTISEMENT


लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएकाले अब गरिने लकडाउन वा निषेधाज्ञा अवज्ञा गरिने संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यसअघि जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा लकडाउन भदौ २० गतेसम्म लम्ब्याउने सिफारिस गर्ने विषयमा प्रशासनले ‘अन्तिम पटक’का लागि भनेर अनुरोध गरेकाले निजी क्षेत्रका प्रतिनिधिले सहमति जनाएको हुँदा अब गरिने लकडाउन स्वीकार्य नभएको अध्यक्ष भण्डारीले बताए ।

‘निरन्तरको लकडाउनले उद्योगी व्यवसायीहरुले बैंकको ऋण, व्याज र किस्ता, घरबहाल, विद्युत, खानेपानी, टेलिफोन आदि न्यूनतम बिलहरु भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका छन्, कच्चापदार्थ र तयारी वस्तु ओसारपसारमा समस्या भएको छ, पसलमा रहेका सामान सड्ने, बिग्रने, मजदूर, प्राविधिक आदिको व्यवस्थामा समस्या भएको छ,’ संगठनको विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्छौं र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्छौं ।’

संगठनमा भैरहवामा २५ सय र जिल्लाभर ५ हजार उद्योगी–व्यवसायी आवद्ध रहेका महासचिव अनिल ज्ञवालीले बताए । सरकारले नागरिकको स्वास्थ्य सुरक्षा र संक्रमितको उपचारका लागि गर्नुपर्ने काम नगरेको तर लकडाउन मात्रै बढाएर अर्थतन्त्र धराशायी बनाएकाले अब गरिने लकडाउन स्वीकार्य नहुने महासचिव ज्ञवालीले बताए ।

जनस्तरबाट पनि लकडाउन अवज्ञा गर्नुपर्ने आवाज उठेकाले संगठनले नेतृत्वदायी भूमिका निभाएको र प्रशासनले फेरि पनि लकडाउन गरेमा सडकमै उत्रेर विरोध प्रदर्शन हुने अध्यक्ष भण्डारीले बताए ।

चैत ११ गतेदेखि नै शुरु भएको लकडाउन असार १ देखि साउन मसान्तसम्म केही खुकुलो पारिएको थियो । तर भदौ १ गतेदेखि पुनः विभिन्न जिल्ला र स्थानीय तहमा लकडाउनको अवधि बढ्दै जाँदा ब्यापार व्यवसाय नराम्रोसँग प्रभावित भएका छन् ।

 

उद्योग व्यापार संगठन रुपन्देहीको विज्ञप्ति