चितवन – चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल बनाइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।


ADVERTISEMENT


देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जङ्गललाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । ‘जङ्गलभित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्याएर बोर्ड टाँसेका छौँ’, उनले भने ।


ADVERTISEMENT

# # #


सो क्षेत्रमा अहिले पनि नेपाली सेनाले सङ्क्रमितहरुको शव गाडेर व्यवस्थापन गर्दै आइरहेको छ । चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका १२ सङ्क्रमितको शव सोही क्षेत्रमा नै व्यवस्थापन गरिसकिएको छ ।

देवघाटमा शव व्यववस्थापन हुँदै आएको भन्दा छुट्टै स्थानमा सङ्क्रमितको शव व्यवस्थापन भइरहेको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए । उनले शव व्यवस्थापनमा समस्या नहोस् भन्नका लागि समितिले आवश्यक सहजीकरण गरिरहेको बताए ।

देवघाटधामको शवदाह स्थलमा यसअघिका वर्षमा भन्दा कम शव आउने गरेको निर्देशक घिमिरेको भनाइ छ । ‘अहिले दैनिक पाँचदेखि छ वटा शव आउने गर्छ’, उनले भने, ‘यसअघि दैनिक आठदेखि १० वटासम्म शवदाह हुने गरेको थियो ।’ उनले कोरोनाका कारण भएको लकडाउन र निषेधाज्ञाले सवारी दुर्घटना कम हुँदा मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए ।
सङ्क्रमित बाहेकको शवदाह स्थलमा २५ जनाभन्दा धेरै नजान क्षेत्र विकास समितिले अनुरोध गरेको छ ।

यस्तै समितिले बाहिरी मान्छेलाई शवदाह स्थलबाट देवघाटका अन्य क्षेत्रमा नजान र सिधै फर्कनसमेत अनुरोध गरेको छ । देवघाटमा चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, हेटौँडा, धादिङलगायतका जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । रासस