भक्तपुर – जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् ।


ADVERTISEMENT


भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने बारेमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसँग छलफल गरी कार्य योजना अगाडि बढाएको बताए। उनले भने, “भक्तपुरमा कम्तीमा दुई हजार क्वारेन्टिन बनाइने गरी तयारी गरिएको छ, भोलिसम्ममा सानोठिमी र बोडेमा श्यया तयार हुन्छ, कोरोना परीक्षणको दायरा फराकिलो गर्दै पिसीआर परीक्षण बढाउने र उपचारको व्यवस्था सहज गराउने बारेमा नगरपालिकाहरु सहमत भएका छन् ।”


ADVERTISEMENT

# # #


सङ्घीय सरकारसँग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्यूनतम दुई हजार व्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पिसीआर परीक्षण गर्ने तथा नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टिन, आइसोलेसन र एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी योजना बनाएको उनले बताए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशनानुसार खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन तयार पारेर लक्षण नभएका बिरामी राख्न थालिसकेको जानकारी दिइन्। त्यस स्थानमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिइन् । त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सानोठिमीस्थित सिटिइभिटीको टिआइटिआई र युसेपको होस्टेल भवन तथा बोडेस्थित कृषि विकास बैंकको होस्टेल भवनमा २०० श्ययाको एकीकृत क्वारेन्टिन निर्माण कार्य भोलि सम्ममा सम्पन्न गरिसक्ने प्रजिअ पाण्डेको भनाइ छ ।

नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकीकृत क्वारेन्टिनसम्ममा सुरक्षाका व्यवस्था सेनाले गर्ने जानकारी दिँदै आइसोलेसनलगायत अन्य व्यवस्थापनमा पनि सेना खटिएको जानकारी दिए ।

नगरपालिकाहरुको यस्तो छ तयारी

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको जनाएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, “अहिलेसम्म मध्यपुरथिमि नगरपालिकाका तीन हजार ५०० स्थानीयवासीको पिसीआर परीक्षण गरिसकेका छौँ, आगामी १४ गतेभित्र थप दुई हजार स्थानीयवासीको पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन तीव्र पारेका छौँ ।”

उनले मध्यपुरथिमिका जोखिमयुक्त क्षेत्रका बासिन्दा, कोरोना सङ्क्रमितका परिवार र उनीहरुको कन्ट्याक टे«सिङमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन र परीक्षण तीव्र पारेको जानकारी दिए । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ल्याबमा स्वाब सङ्कलन गरेपछि २४ घण्टाभित्र पिसीआरको रिपोर्ट दिने गरेको जानकारी दिँदै उनले त्यस अवधिमा नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने गरेको बताए । नगरप्रमुख श्रेष्ठले सङ्क्रमित क्षेत्रमा भाइरस निर्मलीकरण गर्न स्प्रे छर्कने, जनचेतनामूलक सन्देशसहितको माइकिङ गर्ने, केही दिनभित्रै अस्पतालको सेवा सञ्चालन गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्ने, नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा पालना गर्न कडाइ गर्ने, थिमिभित्र तयार पारेको क्वारेन्टिन र आइसोलेसनमा सङ्क्रमितलाई राख्ने व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको जानकारी दिए ।

यता भक्तपुर नगरपालिकाले यस वर्षको इन्द्रजात्रा पर्वमा गरिने कार्यक्रमहरु स्थगित गरेको, विदेशबाट आउनेहरुका लागि क्वारेन्टिनको व्यवस्था भएको, स्थानीयवासीलाई होम क्वारेन्टिनमै राखेको, सङ्क्रमितलाई भक्तपुर अस्पताल पठाउने गरिएको र एकीकृत आइसोलेसनमा पनि पठाउने तयारी भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकामा करीब २०० को पिसीआर परीक्षण गरिएको जानकारी दिँदै उनले दैनिक स्वाब सङ्कलन गरी परीक्षणमा पठाइरहेको, जनचेतना फैलाउने र भाइरस निर्मलीकरणका लागि स्प्रे छर्कने काम भइरहेको जानकारी दिए ।

यता चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरपालिकाले दुई मुख्य र ६ वटा सहायक समूह बनाएर विदेशबाट फर्किएका, विभिन्न जिल्लाबाट फर्किएकाको अनुसन्धान गर्ने, सङ्क्रमितको सम्पर्कमा रहेकाका कन्ट्याक ट्रेसिङ गर्ने, सङ्क्रमितसँग टेलिफोन र अन्य माध्यमबाट सम्पर्कमा रहने तथा जनचेतना फैलाउने कार्य गरिरहेको बताए । उनले भने, “नगरपालिकालाई आवश्यक पर्ने क्वारेन्टिन र आइसोलेसन बनाइएको छ, जनकपुर इन्जिनीयरिङ कलेजमा क्वारेन्टिन बनाइएको छ, आइसोलेसनपछि बनाउने तयारी छ, खरिपाटीको आइसोलेसन पनि छ, दुवाकोटमा पनि उपचार शुरु हुँदैछ, समस्या पर्ने अवस्था छैन ।”

सूर्यविनायक नगरपालिकाले स्वास्थ्य संयन्त्र बनाएर जोखिममा रहेका प्रत्येक वडाको टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने, कोभिडबारे जानकारी दिने कार्य गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले भने, “सङ्क्रमित देखिएका स्थानलाई केन्द्र बनाएर सघन ढङ्गले र कम प्रभावित वडामा रेन्डम सेम्पलिङ गर्दै स्वाब सङ्कलन गरी परीक्षण गरेका छौँ, कोरोना जोखिम भएका जिल्लाबाट आएकाको फोन ट्रेसिङ गरी व्यक्ति पत्ता लगाउने, उनीहरुको पिसीआर परीक्षण गर्ने, जोखिम रहेका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने, लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल लैजाने, लक्षण नदेखिएकालाई मापदण्डनुसार होम क्वारेन्टिनमा राखेर नियमित फोनबाट सम्पर्क गर्ने, घरमा बस्न अनुकूल नभएकालाई खरिपाटी, बोडे लगायतका आइसोलेसनमा पठाउने गरी काम गरिरहेका छौँ ।”

स्वास्थ्य टोली र जनप्रतिनिधि लिएर आफैँ टोलटोलमा गएर स्वाब सङ्कलन गर्ने र जनचेतना फैलाउने काम भइरहेको जानकारी दिँदै उनले पूर्वमन्त्री तथा सांसद महेश बस्नेत, नगरपालिकाका प्रमुख बासुदेव थापा, वडाध्यक्षहरु र नगरपालिकाका स्वास्थ्य टोली स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ टोलीहरुका बीचमा छलफल गरी विशेष तयारी गरिएको उनको भनाइ छ ।

नगरपालिकामा ७० जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै सङ्क्रमण फैलिन नदिन विशेष अभियान थालेको बताए । भक्तपुरमा आज एकै दिन ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आजसम्म भक्तपुरमा सङ्क्रमितको सङ्ख्या ४२९ जना पुगेको छ । रासस