नेपालगञ्ज – जैविक (अर्गानिक) मानिने भएकाले यहाँ अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै बिक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ आउन थालेको छ ।


ADVERTISEMENT


नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तोपर्ने गरेको छ । अहिले शुरुवातको चरण भएकाले दैनिक एक ट्रक स्याउ आउने गरेको स्याउ व्यापारी बताउँछन् । यहाँस्थित गुरुद्धारा रोडमा रहेको नेपाल फलफुल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


नेपालगञ्ज बजारमा जुम्लाको स्याउ भर्खर आउन शुरु भएको छ । शूरुवाती चरण भएको र स्याउ कृषकले राम्ररी नपाकेको स्याउ पठाउने गरेकाले स्याउप्रति उपभोक्ताको चाख त्यति नबढेको स्याउका खुद्रा व्यापारी असलम अन्सारीले बताए।

नेपाल फलफुल सागसब्जी व्यवसायी संघका सदस्य मेराईलाल साहु भन्छन्, “जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।” जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पुर्याउने गरिएको छ । नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउ रु १०० देखि रु १५० प्रतिकिलो बिक्री हुने गरेको फलफुल व्यापारी मोहम्मद नसिमले बताए । रासस