चितवन – चितवनमा उत्पादित केराले बजार नपाउँदा चरालाई आहारा बनेको छ । लकडाउनसँगै केराको माग घटेका कारण बिक्री हुन नसकेपछि खेतमा पाकेर चराको आहार बनेको हो ।


ADVERTISEMENT


केराको मुख्य सिजनमा नै केरा बिक्री नभएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष उत्पादन राम्रो भए पनि निषेधाज्ञाका कारण बारीमै पाकेर केरा झर्ने अवस्था आएपछि किसानले लगानीसमेत गुमाउने अवस्था आएको छ ।


ADVERTISEMENT

# # #


निषेधाज्ञामा सरकारले कृषि उपजलाई ढुवानी गर्न सहज वातावरण बनाए पनि बजार नखुल्दा बिक्रीमा समस्या भएको हो । केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतो केरा बिक्री नभएको बताए । उनले भने, ‘समयमा बजारको निकै ठूलो समस्या छ ।’ उनकाअनुसार पच्चीस देखि ३० प्रतिशत केरा खेतमै पारेर झर्दै गरेको छ भने कतिपय चराको आहार बनेको छ । ‘केरा बोटमै पाकेको छ, चराले आधा खाँदै छाड्दै गरेका छन्,’ उनले बताए ।

नेपालमा लकडाउन शुरुसँगै केरा पाकेको थियो । बीचमा लकडाउन खुलेसँगै केही सहज भए पनि फेरि अवस्था झन् जटिल बनेको छ । यस वर्ष केराको उत्पादन भएपनि बजार र मूल्य नपाइपछि करोडौँको क्षति भएको व्यवसायीहरु बताउँछन् । निषेधाज्ञामा पनि भारतीय केरा नेपाली बजारमा आएको तर नेपाली केराले बजार नपाएको गुनासो महतोको छ । यो समयमा व्यपारीले सहजै केरा लैजान नमानेको र लगिहाले पनि मूल्य निकै कम पाउने गरको उनले बताए ।

केरा व्यवसायी यज्ञ सुवेदीले निषेधाज्ञाले ग्राहक बजार आउन नपाएपछि केरा बिक्री हुन छाडेको बताए । उनले भने, ‘बिहान र बेलुकाको थोरै समयमा ग्राहक बजारसम्म जाने अवस्था छैन ।’ केरा बिक्री नभएपछि आफैँ पसल–पसलमा खुद्रा बिक्री गर्दै हिँड्न बाध्य भएको उनी बताउँछन् ।

उनले आफ्नो मात्रै ५० लाखको केरा क्षति भएको जानकारी दिए। उनले सिजनमा करीब ३ करोडको केरा विक्री गर्ने गरेको बताउँदै यस वर्ष मुश्किलले २ करोडको केरा मात्र बजारमा गएको बताए । सुवेदीले ७० बिघामा केराखेती गर्दै आएका छन् । उनकाअनुसार उत्पादन गत वर्षको भन्दा बढेको छ ।

महानगर फलफूल तथा तरकारी बजार नारायणगढका प्रबन्ध निर्देशक थीरप्रसाद धितालले बजारमा फलफूलको बिक्री न्यून रहेको बताउँछन् । ‘प्रशासनले तीन घण्टाभन्दा बढी समय पसल खोल्न दिँदैन, ग्राहक आउने समय नै छैन”, उनले भने । ठेला र सडकपेटीमा व्यापार गर्नेलाई पनि प्रहरी र स्थानीयवासीले अवरोध गर्ने गरेको कारण बजार चलायमान बन्न नसकेको उनी बताउँछन् ।

यस वर्ष मात्र जिल्लामा २०० बिघाभन्दा बढी क्षेत्रफलमा केराखेती विस्तार भएको छ । युवाहरुको आकर्षण पनि बढ्दो छ । चितवन केरा उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । जिल्लामा तीन हजार २०० बिघामा केराखेती गरिएको छ । चितवनको रत्ननगर, कालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छन् । हावाहुरीलगायतका कारणले हुने क्षतिको राज्यको अनुदानमा बीमा हुने भए पनि बजारीकरणबाट हुने नोक्सानी भने किसान आफैँले व्यहोर्नुपर्ने अवस्था छ । रासस