– मनोज ज्ञवाली,

डेपुटी जनरल म्यानेजर (डीजीएम), नबिल बैंक लिमिटेड 

नबिल बैंकमा सुरु भएको नयाँ जिम्मेवारी कसरी अघि बढिरहेको छ ?


ADVERTISEMENT


अहिले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव त सबैतिर परिरहेकै छ । त्यसमा पनि नबिल बैंक भनेको एउटा बैंक मात्र नभएर ब्राण्ड हो । हाम्रो प्रमुख ध्यान भनेको  नियामक निकायका निर्देशनभित्र रही ग्राहकलाई स्तरीय सेवा हो । हामी अग्रस्थानमा मात्र होईन, जिम्मेवार पनि छौ । त्यो भूमिकालाई न्याय गर्ने हिसाबले राष्ट्र बैंकले यो बेलामा सकेसम्म कम शाखाबाट सेवा दिनु भन्दा पनि हामीले आधाभन्दा बढी शाखा खोलौँ भनेका थियौ र अहिले शाखाहरु बन्द हुँदैदै गर्दा पनि सेवा बन्द गरेका छैनौँ। दुई तीनवटा शाखामात्रै खोल्दा लामो लाइन नहोस् भन्नेमा सचेतताका साथै ग्राहकको सुरक्षाका लागि पनि हामीले आवश्यक मापदण्ड पालना गर्न लगाएका छौँ । त्यसै अनुसार कर्मचारीहरुलाई पनि गर्न लगाएका छौँ । भोलि कसैलाई संक्रमण भइहाल्यो भने पनि कसरी त्यसको व्यवस्थापन गर्ने भनेर हामीले योजना बनाएका छौँ ।


ADVERTISEMENT

# # #


मैँले हेरिरहेको विभागहरुमा बैंकको रणनीति, योजना, फाइनान्स, कर्पोरेट कम्युनिकेसन देखि लिएर ‘लायबिलिटी मेनेजमेन्ट’ सम्म पर्छ । फाइनान्स र रिपोर्टिङका कुराहरु अहिले ‘वर्क फ्रम होम’ चल्नसक्ने खालका छन् । तर, हामी यसमा छलफल गरिरहेका छौँ ।

फ्रन्टलाइनका कर्मचारीहरुलाई काउन्टरमा राखेर बाँकी सबैले घरबाटै गर्दा त्यो पनि न्याय  हुँदैन । हाम्रो एकजना कर्मचारीलाई कोरोना देखिएपछि हाम्रो सीईओ अनिल केशरी शाहज्यू नै सुरक्षालाई ध्यान समेत राख्दै उहाँ कार्यरत शाखामा जानुभयो र अवस्था बुझ्नुभयो । किनभने यस्ता कुराहरुले पनि कर्मचारीहरुको मनोबल उच्च बनाउँछ ।

हामी व्यवस्थापनमा रहेर काम गर्ने साथीहरु ‘भर्चुअल मिटिङ’ र त्यसपछिको ‘होमवर्क’ मा व्यस्त रहन्छौँ।

तपाईंले अर्को कुनै बैंकमा सीईओको रुपमा सफल नेतृत्व गरिसक्नु भएको छ । नयाँ भूमिकाका साथ नबिलमा आउँदा कस्तो अनुभव भइरहेको छ ?

कुन विभाग र  के पद भन्ने कुरामा मात्रै फरक परेको हो, जिम्मेवारी अझ थपिएको आभाष भएको छ । यो भन्दा पहिले विकास बैंकमा डेपुटी सीइओको रुपमा काम शुरु गर्दा संस्था सानै थियो तर सीईओ भएर छोड्दै गर्द बैकिङ क्षेत्रमा प्रणाली, ग्राहक संख्या, शाखा विस्तार, सेवाको गुणस्तर, नाफा, लगानी, कर्मचारीको दक्षता र प्रतिस्पर्धामा साँच्चिकै  प्रतिस्पर्धी स्थान स्थापित गरेका थियौँ । जहाँ मेरो उच्च नेतृत्वको भूमिका थियो । तर, त्यो संस्था त्यसरी प्रगति गर्नुमा संचालक समितिदेखि सहयोगी भूमिकामा रहेका साथीहरुको उत्तिकै भूमिका थियो । जहाँ सञ्चालक समिति र व्यवस्थापन टिममा मैँले समन्वय गर्नुपर्थ्यो । तर, नबिलमा म भन्दा माथि  ‘रिपोर्टिङ लाईन’ मा दशकौँ त सीईओ अनुभव भएको सीईओ हुनुहुन्छ ।

उच्च व्यवस्थापन, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धक, शाखा प्रबन्धक को रुपमा साह्रै सिनियर र अनुभवी साथीहरु हुनुहुन्छ, हामी सबै सीईओको अंगका रुपमा काम गर्छौं ।

त्यसकारण मैँले राम्रो काम गर्न सकिँन भने मेरो सीईओको काम पनि राम्रो हुँदैन । हाम्रो त्यो बुझाईमा एकरुपता छ ।

बैंकलाई अझै अब्बल र गर्व गर्न लायक संस्था बनाउनका लागि मैले आफ्नो भूमिका निर्वाह गर्छु । म यहाँ आउँदा नयाँ जोश र जाँगरका साथ आएको छु । साथीहरुले पनि त्यही अनुसार लिनु भएको छ । सम्भावनाहरु धेरै छन् । मलाई प्यास लागेको थियो, अब म ठूलो अनी स्वच्छ नदीमा आएको छु । आफ्नो क्षमता,प्यास र जरुरत अनुसार मैले अञ्जुली भर्ने हो कि घडा भर्ने हो कि कुलै काटेर खेतमा सिँचाई गर्ने हो त्यो मेरो क्षमतामा भर पर्छ ।

हरेक हिसाबले प्रतिस्पर्धा बढेको छ । मैले नियामक संस्था र पहिलेका बैंकहरुमा गरेका काम र भूमिकाहरु यो संस्थामा सहयोगी हुन्छन । अहिले रातीसम्म अफिसको काम गरेर सुत्ने बेला पनि थकान महसुस भएको छैन । कतिबेला भोलि बिहान हुन्छ र फेरि काम गर्ने जस्तो लाग्दै सुतिन्छ । नबिलको परिचय पत्र भिरेर हिंड्दा गर्व महसुस गर्दछु ।

३६ वर्षे इतिहास बोकेको नबिललाई अझै उचाईंमा लैजान बैंकको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहँदा के कस्ता योजनाहरु बनाउनु भएको छ ?

कुनै बिग्रिरहेको संस्थामा राम्रो काम गर्दा छिटो ‘हाइलाइट’ भइन्छ । तर, राम्रोसँग चलिरहेको संस्थामा यो यो गर्नुपर्ने छ भन्न गाह्रो हुन्छ । किनभने नबिल बैंक बर्षौं देखि चाहे ब्राण्डको हिसाबले होस्, चाहे कर्मचारीको सन्तुष्टिको हिसाबले होस्, चाहे नियामकका निर्देशन अनुपालनाको हिसाबले होस् वा शेयरधनीलाई प्रतिफल दिने हिसाबले होस्;  पहिलो स्थानमा छ । नबिलमा शुरुमा रु. ६ हजार लगानी गर्ने लगानीकर्ताले आज त्यहि पैसामा रु ३ करोड माथी प्राप्त गरेको छ । रु २.८ करोडको पुंजीबाट शुरु भएको बैंक अरु कुनै संस्थासंग नजोडिएर निरन्तर प्रतिफल मार्फत रु १० अर्ब माथीको पूँजी पुर्याउन सफल छ भने संचीती नै रु १५ अर्ब माथि छ।  देशभरमा १ सय १९ शाखा मार्फत  सात लाख भन्दा बढि सन्तुष्ट ग्राहकलाई सेवा दिईएको छ। संस्थागत सुशासन, अनुभवी कर्मचारी, ग्राहकको सन्तुष्टि – सबै कुरा छन्।

बैंकिङ क्षेत्रमै सबै भन्दा कम ‘स्टाफ टर्न ओभर’ हुने बैंक हो नबिल बैंक । अनी  हाम्रो आवश्यकता किन भयो त ? यो कुरा बुझ्न आवश्यक छ कि नबिलका मान्छेले काम नगरेर मनोज ज्ञवाली जस्ता साथीहरु यहाँ छिरेका होइनन् ।

नबिलले बैंकिङलाई धेरै सीईओ र व्यवस्थापकहरु दिएको छ, अनुभव र ज्ञानको खानी साथीहरु बैंकमा हुनुहुन्छ तर बैंक ३६ वर्ष पुग्यो, धेरै  सिनियर अग्रजहरु सेवा अवधिका हिसाबले स्वतःअवकाश हुनुभयो । ती खाली पदहरुलाई पूर्ण गर्न नबिल बैँकले युवा जोश भएका र रणनीति बनाउन पोख्त साथीहरुलाई ल्याइएको हो भन्ने बुझाई मेरो छ । किनभने अबको आवश्यकता भनेको प्रतिस्पर्धी भईरहनु हो हामीले यो चुनौतीलाई आत्मसाथ गर्नुपर्छ ।

हामीले अब बैंकलाई अझै प्रतिस्पर्धी बढी बनाउनु पर्यो । ‘सिस्टम प्रोसेस’ लाई अझै ‘स्मूथ’ बनाउनु पर्यो । नबिल बैंकले नदिने कुनै बैंकिङ सेवा छैन । डिजिटल बैंकिङमा नया सोचका साथ बैक अघि बढिसकेको छ। ग्राहक सेवालाई प्राथमिकतामा राखेर काम गर्ने सोच कायमै राख्नु पर्यो । खर्च कटौती गर्दै सेवालाई प्रतिस्पर्धी बनाउनु पर्यो । नियामकको निर्दैशनहरुमा ‘डट’ र ‘कमा’ कता मिलेन र फाईदा उठाउन सकिन्छ होईन की निर्देशनको मर्म बुझेर पालना गर्ने ‘कल्चर’ बोकेका नबिलीयनहरुलाई ‘कम्पायन्स’ मा समस्या छैन ।   आपसी सम्बन्ध व्यवस्थापनलाई मजबुत पार्दै हाम्रो कर्मचारीहरुमा थप उर्जा भर्नुपर्‍यो ।  किनभने अब बैंकको ब्राण्ड हेरेर मात्रै ग्राहक आउने अवस्था छैन । यो नै सबैभन्दा ठूलो चुनौति हो । यसलाई हामीले सहज बनाएर बैंकको स्थानलाई कायम राख्न अहोरात्र काम गर्नुपर्छ ।

यसअघिको मेरो अनुभवले पनि यसमा सहयोग पुर्‍याउने विश्वास लिएको छु । हिजो ३ वटा शाखा भएको ग्लोबल आइएमई बैंकलाई ८६ वटा शाखा बनाउँदासम्म प्रमुख फाइनान्स अफिसर (सीएफओ) को रुपमा ‘ग्रोथ’ र ‘प्रोजेक्सन’ संगै अन्य चिजहरु पनि हेरेको छु, विकास बैंकको सीईओका रुपमा सफल काम गरेको अनुभव पनि छ । ती सबै चिजहरु भएको संस्थामा के गर्दा अर्को उचाईंमा पुग्न सकिन्छ भन्ने कुरामा मेरो बढी ध्यान केन्द्रित हुन्छ ।

बैंकको संचालक समितीमा ३  जना त बैकको पूर्व सीईओहरु हुनुहन्छ, संस्थापक तथा संचालकहरुको संस्थागत सुशासन प्रति प्रतिवद्धता, राम्रो व्यवसायिक अनुभव छ, सहकर्मी साथीहरु अनुभवी र प्रतिवद्ध हुनुहन्छ , यि सबै ‘स्ट्रेन्थ’ हरुलाई अघि लिएर जाने कुरामा ईटाहरु थप्ने काम गर्दछु ।

देशमा अहिले कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो छ । यसले गर्दा कतिपय बैंकका शाखाहरु बन्द भएका छन् । यस्तो अवस्थामा सुरक्षित रहँदै  बैंकिङ सेवा कसरी सुचारु भईरहेका छन् ?

कोरोनाको बारेमा त धेरै कुरा भइसक्यो । मैले थप कुरा गर्नु परेन । मान्छेमा संक्रमण हुनेबित्तिकै मरिहाल्ने होइन । कतिपय केसमा त कुनै पनि लक्षण नै देखिएका छैनन् । यसबाट अनुमान गर्न सकिन्छ कि तपाई हामीलाई लागेर निको भैसकेको पनि हुनसक्छ । अहिले जहाँ गए पनि ‘थर्मल गन’ ले तापक्रम नाप्ने ‘फेसन’ जस्तो भएको छ । खर्च कहाँ गर्ने, कहाँ नगर्ने भन्ने कुरा पनि विचार गर्नुपर्यो । यसमा हरेक व्यक्तिको बुझाई, भूमिका र दायित्व नै महत्वपूर्ण हुन्छ । त्यसैले अहिले कुनैपनि कुराका लागि भेट्नै पर्ने कुरा अन्त्य गर्नुपर्छ । त्यसका लागि अहिले प्रविधिलाई अघि सार्नुपर्छ ।

घरमै बसेर काम हुन्छ भने बाहिर किन निस्किने ? आज मोबाइल, ई–बैंकिङ, आइपीएस कनेक्टबाट दशौं लाख पठाउन सकिन्छ । कार्डबाट पनि कोरोबार हुन्छ भने तपाईं बैंकमा पुगेर लाइन किन बस्ने ? बैंकलाई ‘डिजिटल्ली’ प्रयोग गरौँ । सेवा सुविधा घरमै बसेर उपभोग गर्न सकिन्छ भने किन भीडभाडमा गएर त्रास उत्पन्न गर्ने ? भेटघाट, कारोबार सबै डिजिटल गर्न सकिन्छ । तर, लकडाउनका कारण अहिले लाखौंले रोजगारी गुमाएका छन् । यस्तो व्यवस्थामा अर्थतन्त्रलाई पनि उकास्नु पर्नेछ । कोरोना कहिलेसम्म चल्छ र कति संक्रमित हुन्छन अनुमान गर्न गाह्रो छ । खोप नआउन्जेल सम्म कोरोना अन्त्य हुँदैन , खोप आईसके पनि धेरै समय रहन्छ । त्यसकारण आवश्यक मापदण्ड पालना गर्दै अनिवार्य कुराहरु सुचारु गर्नुपर्छ । जीवन र जगत निरन्तर कोरोनासंग संगै सुरक्षित भएर चलाउनु पर्छ ।