सोलुखुम्बु– सोलुखुम्बुका आठ स्थानीय तहमध्ये छ वटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् ।


ADVERTISEMENT


लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउँछन्। गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनै पर्ने बाध्यता रहेको छ ।


ADVERTISEMENT

# # #


अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजीसमेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् ।

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पुर्याउने भनेको भए पनि अहिलेसम्म पुर्याउन सकेको छैन । जिल्लाको दूधकोशी, दूधकौशिका, सोताङ र नेचासल्यान गाउँपालिकामा बैंकको शाखा राख्नका लागि प्रक्रिया अघि बढेको भए पनि महाकुलुङ र लिखुपिके गाउँपालिकामा अझै कुन बैंकले शाखा लैजाने भन्नेसमेत टुंगो छैन । महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती बैंकले शाखा लैजान नमानेको भन्दै पहल भइरहेको बताउछन् ।