काठमाडौँ – राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधवार दिउसो १२ बजे पशुपतिस्थित आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।


ADVERTISEMENT


अन्त्यष्टि अघि सम्मान स्वरुप नेपाली सेनाको टुकडीले राष्ट्रकविलाई सलामी अर्पण गरेको थियो । बिहान उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए । घिमिरेको १०२ वर्षको उमेरमा मंगलवार साँझ ५ः५५ मा आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।


ADVERTISEMENT

# # #


वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरे आउने असोज ७ गते १०२ वर्षका पुग्दै थिए । १४ वर्षको उमेरमा उनी ‘ज्ञानपुष्प’ शीर्षकमा वि.सं. १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका थिए । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह प्रकाशित छन् ।

श्रीमतीको निधनमा लेखिएको उनको ‘गौरी’ शोककाव्य, कालजयी कविता ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ निकै चर्चित छन् ।

राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’ लगायतका गीतहरु पनि निकै चर्चित छन् ।  उनले ‘मालती मङ्गले’, ‘हिमालपारि हिमालवारि’ जस्ता चर्चित गीतिनाटकको पनि रचना गरेका छन् ।

वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका राष्ट्रकवि घिमिरे आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा र उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका राष्ट्रकवि घिमिरे पछिल्लो समय प्रकाशन्मुख रहेको महाकाव्य ‘ऋतम्भरा’मा सक्रिय थिए ।