काठमाडौँ – राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएका राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरे आउने असोज ७ गते १०२ वर्षका पुग्दै थिए । १४ वर्षको उमेरमा उनी ‘ज्ञानपुष्प’ शीर्षकमा वि.सं. १९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका थिए । उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर–किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह प्रकाशित छन् ।


ADVERTISEMENT

# # #


श्रीमतीको निधनमा लेखिएको उनको ‘गौरी’ शोककाव्य, कालजयी कविता ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ निकै चर्चित छन् ।

राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो’, ‘आजै र राति के देखेँ सपना’ लगायतका गीतहरु पनि निकै चर्चित छन् ।  उनले ‘मालती मङ्गले’, ‘हिमालपारि हिमालवारि’ जस्ता चर्चित गीतिनाटकको पनि रचना गरेका छन् ।

वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका राष्ट्रकवि घिमिरे आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहेका थिए । नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा र उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका राष्ट्रकवि घिमिरे पछिल्लो समय प्रकाशन्मुख रहेको महाकाव्य ‘ऋतम्भरा’मा सक्रिय थिए ।