नृपेन्द्रबहादुर मल्ल, मुगु – मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ रारा नगरपालिका–९ स्थित नेपालकै ठूलो ताल रारा जान जिल्ला सदरमुकाम गमगढीबाट रारा विमानस्थलसम्म नौ किमी र त्यहाँबाट माथिल्लो मिलिसम्म तीन किमी भएर १२ किमी पार गरेर जानुपथ्र्यो । नगरपालिकाले गमगढी–तलितुम–माथीतुम हुँदै पासाहाल्नसम्म पर्यटकीय मार्ग निर्माण थालेपछि सदरमुकामबाट रारा पुग्न अब सात किमी दूरी छोटो हुने भएको छ ।


ADVERTISEMENT


कणाली राजमार्ग भएर रारा आउने पर्यटक दूरी टाढा हुँदा सदरमुकाम गमगढी नझरेर फकर्ने गर्दै आएका छन् । सदरमुकामको सिरानमा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि त्यसको फाइदा सदरमुकामवासीले लिन सकेको थिएनन् । अब सदरमुकामबाटै छोटो दूरीको पर्यटकीय मार्र्ग निर्माण सम्पन्न भए रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक जिल्ला सदरमुकाम भएर सिधै रारा जान सक्नेछन् ।


ADVERTISEMENT

# # #


रारा देशकै प्रमुख पर्यटकीयस्थल भएर पनि यहाँ खान, बस्नको भरपर्दो व्यवस्था नहुँदा स्वर्गमा आएर बाँस, गाँसको समस्या भोग्नुपरेको पर्यटकले गुनासो गर्दै आएका थिए । सदरमुकामबाटै छोटो दूरीमा रारा पुग्ने पर्यटकीय यो मार्ग निमार्ण सम्पन्न भएमा सदरमुकाममा रहेका सुविधासम्पन्न होटेलमा पर्यटक बास बस्न, रारा घुमेर पुन बास बस्न सदरमुकाममै आउन सक्नेछन् ।

रारामा तालबाहेक अन्य पर्यटकीयस्थलको विकास र प्रचारप्रसार नहुँदा पर्यटक बसाई छोटाएर फर्कने गरेका थिए, सदरमुकाम बसाई भएमा यहाँ रहेका कालिका मालिका मन्दिर, छायाँनाथ, ऋणिमोक्क्ष र थार्प मष्टाकोे दर्शन गर्न पाउनुका साथै रु एकमा अङ्किल चङ्खेली हिमालको दृश्यावलोकन र भ्रमण गर्न सक्नेछन यसले गर्दा पर्यटकको बसाई लम्बिनुका साथै धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रचारप्रसार हुनेछ ।

प्रसिद्ध तीर्थस्थल छायाँनाथ शिवजीले राराको पश्चिम किनारमा लात्ती हानेकाले त्यहाँबाट पानी बाहिर जान थाल्यो र खत्याड खोला बन्यो भन्ने किंवदन्ती पनि छ । पूर्वतिर फर्केका त्रिवेणी, नदीखोला बगर, ताल तलाउ, दहलाई धार्मिक र सांस्कृतिक हिसाबले बढी महत्वपूर्ण मानिन्छ । राराको निकास पश्चिमबाट गएकाले यस ताललाई दहका रूपमा मात्र गणना गर्ने गरिन्छ । रारा तालको पूर्वतिर अग्लो सिरानीमा छायाँनाथ तीर्थस्थल छ ।

यो मार्ग बनेमा सदरमुकामबाट सिधै रारा जाँदा बाटोमा पर्ने तलितुम, सायाँखोला र माथीतुम गाउँहरुको ग्रामीण रहनसहन, चालचलन, धर्म संस्कृति देख्न पाइने छ भने यो मार्गको निर्माणले ग्रामीण पर्यटनमा पनि टेवा पुग्न देखिन्छ । रारा घुम्न आउने पर्यटकलाई सदरमुकामतर्फ तान्न र पर्यटकलाई यहाँ रहेका राराबाहेकका अन्य धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलमा ध्यान केन्द्रित गराई मुगु बसाई लम्बाउने, जिल्लाको आर्थिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गमगढी–माथीतुम–पासाहाल्ना– रारा पर्यटकीय मार्ग निर्माण कार्य थालिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताए ।

गत आवमा नगरपालिकाले यो मार्ग निमार्णका लागि रु ५९ लाख रकम विनियोजन गरेको थियो भने यो वर्ष पनि यो मार्गलाई निरन्तरता दिई निर्माणका लागि बजेट छुट्याएको छ । सोमबार नगरप्रमुख हरिजंग शाही, पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, वडा नं २ का वडाध्यक्ष परेकराज चौलागाई, समाजसेवी देवीकृष्ण रावल, नवराज चौलागाईसहितको टोलीले यो मार्गको निर्माण कार्यप्रगतिको स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमन गर्दा काम सन्तोषजनक पाइएको र चालू आवमा सम्पन्न हुने गरी कामको गति बढाउन निर्माण उपभोक्ता समितिलाई सल्लाह दिएको नगर प्रमुख शाहीले बताए । उनले भने, “चालू आवमै यो मार्ग सम्पन्न भएर वैशाखबाट नै रारा जान प्रयोगमा आउँछ ।” यो मार्ग निर्माणका लागि पटक पटक विभिन्न फोरममा कुरा उठाएको र पछिल्लो समय नगरपालिकाबाट सदरमुकामवासीको सपना पूरा हुन लागेको बताउँदै उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमलबहादुर बुढाले यो मार्ग सञ्चालनमा आएमा सदरमुकाममा रहेका होटेल तथा अन्य व्यवसाय फष्टाउने बताए ।

यो पर्यटकीय मार्ग निर्माणका लागि छायाँनाथ रारा नगरपालिकाले आव ०७४-०७५ मा पाँच लाख, ०७५-०७६ मा २० लाख र गत आवमा ५० लाख छुट्याएर खर्च गरिरहेको छ ।