काठमाडौँ — प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


आइतबार एक ट्वीट गर्दै कांग्रेस प्रवक्ता शर्माले जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका हुन् । शर्माले ट्वीटमा भनेका छन्, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ ।’ ‘आवेगको जवाफमा आवेग’ पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य किमार्थ स्वीकार्य नहुने उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।

यस्तै गत असार २९ गते भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेको बताएका थिए । यिनै प्रसंगतिर संकेत गर्दै प्रवक्ता शर्माले आवेगको जवाफमा आवेग दुवै देशको हितमा नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्,मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

भारतीय भुमिबाट विगतमा आएका टिप्पणीपनि ‘नेपाल बुद्ध भुमी हो’ भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको उनले उल्लेख गरेका छन् ।