गंगराज पण्डित, बाजुरा – पन्ध्र हजार फिटको उचाइको पहाड । जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ । १० महिना सेतो हिउँको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ । पहाडै पहाडको शहर जस्तो देखिन्छ । थप शोभा बढाएको छ, तालहरुले । जहाँ दर्जनको सङ्ख्यामा सानाठूला तालहरु छन् । ती तालहरुको विशेषता आ–आफ्नै छ । कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवान्का लागि । त कोहीले मानवसँग पनि । पुग्नेहरु स्वर्गकै संज्ञा दिन्छन् ।


ADVERTISEMENT


जनविश्वास अनुसार यस स्थानमा बूढीनन्दा भगवतीले बास गर्छिन् । देवीको प्रत्येक वर्षको जनैपूर्णिमाका अवसरमा वर्षको एकपटक पूजा हुन्छ । धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बूढीनन्दा क्षेत्रको महिमा उच्च भागमा रहेका तालहरुले दिएका छन् । उक्त क्षेत्रबाट बाजुराका अग्ला पहाडहरुसँगै मुगु, हुम्ला, कालीकोटसहितका जिल्लाको दृश्य नियाँल्न सकिन्छ भने बझाङमा रहेको साइपाल हिमाल र जेठीबैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


तालमध्ये राक्षस दहमा दर्शनार्थीले नजरसमेत लगाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । सोही मान्यताअनुसार ताल देखिए पनि दर्शनार्थीले नदेखे झैँ गर्ने गर्छन् । त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकाले दृश्य पनि निकै कालो देखिने गरेको, बूढीनन्दा दर्शन गर्न गएकाहरुले बताउने गरेका छन् ।

राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको वर नपाइने गरेको किंवदन्ती रहेको छ । मन्दिर नजीकै रहेको अर्को तालमा दर्शनार्थीले नुहाउने गर्छन् । उक्त दहमा नुहाएमा पापबाट मुक्त भइने र देवी खुशी भएर मागेको वर दिने भनाइ छ । तर, त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा भने कसैको ध्यान जान सकेको छैन । १५ हजार फिट उचाइमा देवीको मन्दिर छ । त्यो पनी परापूर्वकालमा पुर्खाहरुले ढुङ्गाले बनाएको छ । संरचना राम्रो नभए पनि स्थान प्रकृतिकै उपमा हो, त्यहाँ गएर फर्केका तीर्थालु रामबहादुर कार्की बताउँछन् ।

तिलिचोपछिको दोस्रो उचाइमा रहेका तालहरु बाजुराको बूढीनन्दामा पर्छन् तर पनि राज्यले भने त्यसको कुनै खोजी गरेको छैन, कार्कीले गुनासो गर्नुभयो । बूढीनन्दाको प्रचारप्रसार नहुँदा थाह भएकाहरु मात्र दर्शनका लागि जाने गरेका छन् । बाजुरालगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आए पनि प्रचारको कमी छ ।

भक्तजनले सन्तान र धन प्राप्तिका लागि बूढीनन्दा देवीको दर्शन गर्ने गरेका छन् । बडिमालिका देवीले नदिएको वर बूढीनन्दा देवीले दिने धार्मिक विश्वास स्थानीयवासीमा छ । निःसन्तानलाई सन्तान, दुःखीलाई सुख तथा अन्न धन प्राप्त हुने विश्वास छ ।

कसरी पुग्ने बुढीनन्दा ?

मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ । कुरुखोलाको बासपछि धनभण्डार लेकमा पुगिन्छ । त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बूढीनन्दा पुगिन्छ । नेपालगञ्जबाट कोल्टी विमानस्थल हुँदै गएमा दुई दिनमा पनि पुगिन्छ । तर, धार्मिक मान्यताअनुसार तीन दिन लगाएर पुग्नुपर्ने हुन्छ । सधैँको समयमा सो क्षेत्र जान सकिँदैन । जेठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ । मागेको कुरा पाइने, धन लाभ हुने र बाँझोपन भएका वा सन्तान नभएकाका लागि सन्तान प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयवासीको छ । उनीहरुले बूढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् । बर्सादका चार महिना तल्लो क्षेत्रमा भेँडाच्याग्रा चरिचरनका लागि छोडिन्छ भने हिउँ पग्लिएपछि जडीबुटीका लागि पनि स्थानीयवासी बूढीनन्दा पाटन जाने गरेका छन् । आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झर्नाहरुले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने गरेको छ । खाली खुट्टाले एक दिनको पैदल यात्रा गरे पनि खुट्टामा कुनै प्रकारको कठिनाइ नहुने विश्वास छ । सोही बमोजिम बूढीनन्दा यात्रामा जाने भक्तजनले खाली खुट्टा दर्शनका लागि मन्दिर पुग्ने गरेका छन् । दलित समुदायले जानु हुँदैन, अनिष्ट हुन्छ भन्ने कुमान्यता रहिआएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ ।

बुहुमूल्य जडीबुटीको खानी तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको बसोबास क्षेत्र पनि सोही स्थानमा पर्छ । रङ्गीचङ्गी फूलको मनमोहक दृश्य हेर्न पाउनु भक्तजनका लागि अर्को सौभाग्य पनि हो । यो क्षेत्र मानसरोवर क्षेत्रसँग पनि जोडिएकाले धार्मिक विशेषता बढी रहेको बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीको भनाइ छ ।

सरकारी प्रयास शून्य

बाजुराको बूढीनन्दा क्षेत्रमा सरकारी प्रयास भने केही भएको छैन । प्रकृतिको उपमा बूढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्र राज्यको नजरबाहिर छ । त्यसको न त प्रचार हुन सकेको छ, न त संरक्षण नै । २०७० सालमा तत्कालीन नेकपा एमाले बूढीनन्दा यात्रा गरेको थियो । जुन समयदेखि मात्र दलित समुदायले प्रवेश पाएको थियो । त्यस अभियानपछि मात्र बूढीनन्दाले बढी महत्व पाएको हो ।

त्योबाहेक नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराले ब्रोसर प्रकाशन गरेर बूढीनन्दाको प्रचारप्रसार गरेको पत्रकार महासङ्घ बाजुरा शाखाका निर्वतमान सचिव कृष्ण ओलीले बताए। हुनुपर्ने जति प्रचार नहुँदा पनि बूढीनन्दाको सौन्दर्य र महिमाले चर्चा पाएको छैन । यो वर्षबाट बूढीनन्दा नगरपालिकाले केही प्रचारका गतिविधि गर्ने तयारी गरिएको बूढीनन्दा नगरपालिका–४ वडाध्यक्ष राजन रोकायाले बताए। पर्यटकीय सम्भावना बोकेको क्षेत्रको प्रवद्र्धन गर्न सके स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने देखिन्छ । जसका कारण स्वर्ग जस्तै बूढीनन्दा ओझेलमा छ ।