काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन गर्न १४ अस्पताललाई तोकेको छ । काठमाडौँ उपत्यकामा बढिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले निजी र सरकारकारी गरी काठमाडौँका १० वटा, ललितपुर र भक्तपुरका २–२ अस्पताललाई स्वाब संकलन गर्ने अस्पतालका रुपमा तोकेको हो ।


ADVERTISEMENT


मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले मंगलबार एक सूचना जारी गर्दै जोखिमपूर्ण स्थानबाट काठमाडौँ उपत्यका प्रवेश गरेका, संक्रमितको सम्पर्कमा आएका र कोरोनाका कुनै लक्षण देखिएका व्यक्तिहरुलाई कोरोना परिक्षणका लागि तोकिएका स्वाब संकलन केन्द्रमा जान अनुरोध गरेका छन् । मन्त्रालयले तोकेका स्वाब संकलन गर्ने अस्पतालहरुमा पाटन अस्पताल ललितपुर, भक्तपुर अस्पताल भक्तपुर, सिभिल अस्पताल काठमाडौँ, केएमसी अस्पताल काठमाडौँ, त्रिवि शिक्षण अस्पताल काठमाडौँ, वीर अस्पताल काठमाडौँ र टेकु अस्पताल काठमाडौँलाई तोकेको छ ।


ADVERTISEMENT

# # #


यस्तै सशस्त्र प्रहरी बल अस्पताल काठमाडौँ, विरेन्द्र (सैनिक) अस्पताल काठमाडौँ, प्रसुती गृह काठमाडौँ, स्टार अस्पताल ललितपुर, ह्याम्स अस्पताल काठमाडौँ, नेपाल प्रहरी अस्पताल काठमाडौँ र नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा पनि स्वाब संकलन गरिने छ । तोकिएका अस्पतालहरुमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन गरिने मन्त्रालयले जनाएको छ ।

कोरोना जोखिम कायमै रहेकाले अत्यावश्यक काममा मात्रै घर बाहिर निस्किन, अनिवार्य जनस्वास्थ्यमा मापदण्ड पालना गर्न, चाँडपर्व घरमै बसेर मनाउन र भीडभाड नगर्न समेत अनुरोध गरेको छ ।