राजाराम कार्की, काठमाडौँ – कुअन्नका रूपमा मानिँदै आएको कोदोको अहिले उच्च ओहोदा तथा घरानियाँ भनिएका व्यक्तिका घरघरमा उपभोग बढ्न थालेपछि यसलाई ‘सुन अन्न’ भन्न थालिएको छ । कुनै बखत कुलीन, जमिन्दार, हुनेखाने तथा घरानियाँका भान्सामा वर्जित कोदो खाएमा जातै जाने भनिन्थ्यो । गरिब, हरुवाचरुवा हली, गोठाला तथा कृषि मजदुरले कोदोको पीठोबाट तयार हुने रोटी, ढिँडो, पानरोटी र खोले (सुप) बनाएर खाने गर्दथे ।

स्वास्थ्यका क्षेत्रमा काम गर्नेहरु कोदोको ढिँडो, रोटी वा सुप बनाएर खानाले मधुमेह तथा रक्तचापका बिरामीका लागि फाइदा पुग्ने बताउँछन् । त्यसैले हिजोआज उनीहरुका भान्सामा कोदोबाट तयार गर्न सकिने विभिन्न स्वादमा पकवान बन्न थालेपछि यसको माग वृद्धि हुँदा आयात बढेको अनुमान लगाउन थालिएको छ । यद्यपि कोदोखेती हुन छोडेपछि आयात बढेको भन्नेहरु पनि छन् ।


ADVERTISEMENT


# # #


त्यसो त कोदोबाट तयार पारिने रक्सीलाई नेपाली उत्पादन बनाएर बिक्री वितरणमा ल्याउनुपर्छ भन्ने मागसमेत बढ्दै गएकाले कोदोका आयात बढेको अनुमान लाउन सकिन्छ तर त्यही कोदो पाँचतारेदेखि छाप्रे होटलसम्म विभिन्न पकवानका रूपमा पाउन थालेपछि आयात अकासिएको हो । आर्थिक वर्ष २०७५-७६ मा रु आठ करोडको आयात भएको कोदो आर्थिक वर्ष २०७६-०७७ सम्म आइपुग्दा रु आठ करोड ३० लाख पुगेको छ ।

विश्व खाद्य सङ्गठनले अन्नबालीमध्ये कोदोलाई १० औँ स्थानमा गणना गरेको छ । कोदाको पीठोको ढिँडो र स्थानीय जातको (लोकल) कुखुराको मासुसँगको स्वाद लिन मानिस ग्रामीण छाप्रे होटेलसम्म धाउन थालेका छन् । कोदोको ढिँडो, रोटी वा सुप बनाएर खानाले आडिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । डा अरुणा उप्रेती लामो यात्रामा निस्कँदा कोदाको रोटीनै खानुपर्छ भन्छिन् । त्यसो गर्नाले आडिलो हुनुको साथै स्वास्थ्यवद्र्धक हुने बताउँछिन् । उनी कोदोमा प्रशस्त फलाम पाइने हुनाले महिलामा देखिने रक्तअल्पताको समस्यालाई न्यूनीकरण गर्नुका साथै यसमा हुने क्याल्सियमले हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा फाइदा पुग्ने बताउँछिन् । कोदोमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकाले आन्द्राको क्यान्सरबाट बचाउँछ । कोदोमा प्रशस्त मात्रामा पोटासियम पाइने विभिन्न अध्ययनले देखाएको छ ।

पछिल्लो समय नेपालमा कोदोखेती गर्ने क्रम घट्दै गएका कारण आयात बढेको बताइएको छ । नेपालमा दुई लाख ६३ हजार हेक्टरमा कोदो खेती गरिने र यस वर्ष तीन लाख १४ हजार २२५ मेट्रिक टन कोदो उत्पादन भएको सरकारी तथ्याङ्क छ । नेपालको चौथो प्रमुख अन्न बाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो । पछिल्लो समय यो क्रमिकरूपमा विस्थापित हुँदै गएको राष्ट्रिय कृषक समूह महासङ्घले बताएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) का सदस्य सुरेश यादवले कोदो रैथाने बाली भएकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउउँछन् । त्यसो त महासङ्घले अर्को वर्ष कोदोको उत्पादन बढाउने उद्देश्यले राष्ट्रिय कोदो दिवस मनाउने तयारी गरेको छ ।

महासङ्घका पूर्वअध्यक्ष उद्धव अधिकारीले कोदोको प्रवद्र्धनमा सरकार उदासीन देखिएको बताउँछन् । पौष्टिकताले भरिपूर्ण र मौलिक बालीका रूपमा परिचित कोदो खेतीमा लाग्न किसानको लगानीलाई आकर्षण गर्नु आवश्यक रहेको बताइन्छ । कोदो खेती साना तथा सीमान्त कृषकको जीविकाको आधार हो । सरकारले लगानीलाई आकर्षण गर्न किसानको हितमा कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । सन्तुलित फलाम तत्वयुक्त खाद्यान्न कोदो खेतीको भौगोलिक अवस्थाअनुसार सुधार गर्नुपर्ने बताइन्छ । कोदोमा प्रशस्त फलाम पाइने हुनाले महिलामा देखिने रक्तअल्पताको समस्यालाई न्यूनीकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । रासस

प्रतिकृया

प्रतिकृया