काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमार नाथ शाहको आज निधन भएको छ ।


ADVERTISEMENT


लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो ।


ADVERTISEMENT

# # #


शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरे । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागि हुन थालेको हो ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए । कार्यथलो बैतडीमा रहेका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए । “क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उहाँले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याईपुर्याउनु भएको हो,” अध्यक्ष चन्दले भने ।

शाहको नाममा उनी जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो । सो प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो । उहाँ एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत रहिसकेका थिए।

गत भदौ ६ गते काठमाडौँमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

“९६ वर्षसम्म त बाँच्छु होला,” सम्मानित भएपछि साधारणसभामा मन्तव्यका क्रममा शाहले भनेको कुरा स्मरण गर्दै अध्यक्ष चन्दले भने । शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाएका थिए । उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्थे।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । उक्त पुरस्कार पाउने उनी पहिलो नेपाली हो ।