काठमाडौँ – उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ ।


ADVERTISEMENT


लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम, मास्कको प्रयोग, ५० प्रतिशत मात्र यात्रु राख्ने लगायतका नियम र व्यवस्था पालना गरे–नगरेको अनुगमन गर्दै नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए । ‘उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘आजमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य पोर्टोकल अनुसार नचलाइएका ८७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइवुझाई गरेको छ ।’

महाशाखाले बुधबारमात्रै ट्राफिक नियम उल्लघंन गर्ने २६३ जना चालकलाई कारबाही गरेको छ ।

मापसे चेकिङ शुरू

महाशाखाले बुधबारदेखि नै मादक पदार्थ सेवन (मापसे) चेकिङ पनि गर्ने भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने पनि बताए ।

महाशाखाका अनुसार बेर्थलाईजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोली र वचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ । यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ ।

संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले विशेष आग्रह गरेको छ ।