भरतपुर – राजधानी काठमाडौँ, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन ।


ADVERTISEMENT


उक्त सडकको समस्या हटाउन सरकारले सडक विस्तार गर्ने गर्यो । सडक विस्तारसँग पहिरो नियन्त्रणका काम पनि भए । तर पनि पहिरो जाने र घण्टौंँ समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ ।


ADVERTISEMENT

# # #


सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ ।

सडक विस्तासँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम पनि भएका छन् । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या समाधान हुन नसकेको बताउँछन् ।

उनका अनुसार सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ । उनले भने, “उक्त सडक खण्डमा धेरै खोल्साखोल्सी छन् । सडकको माथिल्लो भागमा वर्षासँग पानी आउँछ । कमजोर भौगोलिक अवस्थामा पानीको मात्रा बढी हुँदा पहिरोको समस्या हुने गरेको छ । जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको छ ।”

सडक आयोजनाले उक्त सडक खण्डको ३१ ठाउँमा पहिरो रोक्ने काम गरेको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताए । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भएको उनले बताए ।

रु १४ करोड नौ लाखको लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभिले पाएको हो । अहिले पहिरो गइरहेको चार किलो क्षेत्रमा भने पहिरो रोक्ने काम हुनसकेको छैन । लगातारको वर्षाका कारण काम हुन नसकेको खनालको भनाइ छ । सो क्षेत्रमा वर्षापछि काम हुने गरी पहिरो रोक्ने काम स्थगित गरिएको उनले जानकारी दिए ।

विगतमा पहिरो गइरहेको ठाउँमा रोकथामको काम भएपछि पहिलो समय पहिरो जाने क्रम रोकिएको खनालले बताए । भूगर्भविद् शिवकुमार बाँस्कोटाले सडक विस्तारका क्रममा धेरै पुराना पहिरो चलाएका कारण अहिले पनि पहिरो खसिरहेको बताए । उनले भने, “धेरै वर्षअघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाँउमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ ।” यति धेरै पहिरो पहिले नखस्ने गरेको भन्दै उनले विस्तारपछि नै बढी पहिरो खसिरहेको बताए ।

धरै माथिबाट खसेका पुरानो पहिरो चिन्न नसक्दा पनि समस्या भएको बाँस्कोटाको भनाइ छ । उनले अध्ययन नगरी शाखा सडक निर्माण गर्दा थुनिएको लेदो बर्खाको समयमा विस्फोट भएको बताए ।

बाँस्कोटाले सडक विस्तार गर्दै काटेको स्लोपको काम तुरुन्त गरेको भए समस्या कम हुने बताए । उनले जुन ठाउँमा पहिरो गएको छ त्यो ठाउँको विस्तृत अध्ययन गर्दै नयाँ वैकल्पिक सडकबारे पनि ध्यान दिनुपर्ने धारणा राखे ।

ईच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले सडक विस्तार सम्पन्न भएपछि समस्या हट्ने अपेक्षा गरिएको भए पनि समस्या हट्न नसकेको बताए । उनले यात्रुसँगै मुग्लिनवासीले समेत समस्या झेल्नु परेको गुनासो गरे । समस्याको दीर्घकालीन समाधान खोजी गरी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

कोरोनाको डरकाबीच पहिरोले अलपत्र परेका यात्रुलाई खाना खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उनले भने, “खाना नदिउँ मानवताको विषय छ, दिउँ भिड जम्मा गरेर खाना खान दिँदा कोरोनाको डर छ ।” मुग्लिनबाट चार किलोमिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो ।

सोमबार बिहानदेखि गएको पहिरो ३६ घण्टापछि मङ्गलबार अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको सडक फेरि रातिदेखि चट्टानसहितको पहिरोले अवरुद्ध छ । सडकखण्ड अन्तर्गत ठाउँठाउँमा साना पहिरो खसेका छन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।