काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी भएको १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘हामी अब लकडाउनमा छौं भन्न परेन ।’ लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै उनले यसलाई अन्त्य गरिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै सरकारले नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दू र खुला सिमानाबाट हुनसक्ने यात्रुहरुको आवागमन र हवाईमार्गहरुमार्फत स्वदेश आउन चाहने यात्रुका लागि लगाइएको रोक साउन ३२ गते (अगस्ट १६) मध्यरातसम्म जारी राख्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यद्दपी विदेशमा अप्ठ्यारो परेर स्वदेश आउनै पर्ने अवस्थामा रहेको नेपालीहरुका लागि स्थलमार्गबाट प्रवेश गर्न तोकिएका बिन्दूहरुबाट नेपाल प्रवेश गर्न दिइने छ ।

आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा कानुन अनुसार कारबाही गरिने मन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्ड पालना गर्दै साउन १५ गतेदेखि होटेल र रेस्टुरेन्टहरु खुला गर्ने निर्णय भएको छ । तर, सामूहिक भोज, पार्टी, सेमिनार र अन्य भेला गर्न पाइने छैन । यस्तै ट्रेकिङ, ट्राभल, पर्वतारोहण व्यवसाय पनि साउन १५ गतेदेखि नै खुला हुने भएका छन् । जसमा ट्राभल एजेन्सीले गर्ने बुकिङ लगायतका कुराहरु पर्नेछन् ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डमा रहेर भदौ १ गतेदेखि छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र र अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न दिइने भएको मन्त्री खतिवडाले जानकारी दिए । उनका अनुसार पर्यटन मन्त्रालयको मापदण्डमा रहेर भदौ १ गतेदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि सञ्चालन हुनेछन् ।

यस्तै अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरु पनि भदौ १ गतेबाट सुचारु गर्न सकिनेछ । विद्यार्थी भर्ना अन्य शैक्षिक परीक्षा सञ्चालन पनि भदौ १ गतेबाट गर्न पाउने गरी निर्णय भएको छ ।

खुला भएका सबै प्रकारका सेवाहरु सञ्चालन गर्दा दुई मिटरको दूरी कायम गर्नुका साथै मास्क प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डहरु भने अनिवार्य पालना गर्नुपर्ने छ ।

यद्दपी निम्न कुराहरु भने अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने छन् ।

– स्कूल, कलेज, ट्यूसन सेन्टर लगायतका शैक्षिक संस्थाहरु
– तालिम केन्द्र, सबै प्रकारका तालिम गोष्ठी, समिनार
– सबै प्रकारका प्रदर्शन, भेला र सम्मेलन
– सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु
– सैलून, ब्यूटी पार्लर, स्पाहरु
– स्वीमिङ पूल, जिमखाना लगायतका हेल्थ क्लबहरु
– समूहमा खेलिने खेलकूद र खेल मैदानमा हुने प्रस्तुतीहरु
– सबै प्रकारका धार्मिक र सामाजिक स्थलहरु
– पुस्तकालय, संग्रहालय र चिडियाखाना