प्रकाश मिश्र, धनगढी – चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो ।

जब चैत ११ गतेदेखि बन्दाबन्दी लागु भयो, तब देशभर एक किसिमको कोरोना आतङ्क छायो । शुरुआती चरणमा घरबाट मानिस निस्कनका लागि कल्पनासमेत गर्न डराउने स्थिति थियो । म सुदूरपश्चिमको कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडीमा बसेर आफ्नो पत्रकारिता गरिरहेको छु । म, श्रीमती र पाँच वर्षको छोरासँग घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा बस्छु । मेरो कर्म समाचार जनतामाझ पुर्याउनु थियो । चाहे जस्तोसुकै परिस्थिति आओस् म आफ्नो कर्ममा निरन्तर लागेर जनतालाई सूचना दिनुपर्छ भन्ने उद्देश्यले शुरुदेखि नै निरन्तर फिल्डमा खटिरहेँ । मैले अझ बढी समाचार खोज्नुपर्ने र नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोरोनासँग लड्ने राष्ट्रिय अभियानमा फ्रन्टलाइनमै रहेर कर्म निर्वाह गर्ने प्रण गरेँ ।


ADVERTISEMENT


# # #


समाचार सङ्कलनका क्रममा कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मीको मेहनत, स्थानीय तहका जनप्रतिनिधिको खटनपटन, विभिन्न स्थानमा युवा क्लबका युवाको सक्रियता त थियो नै तर सबैभन्दा बढी फ्रन्टलाइनमा विनास्वास्थ्य सामग्री यहाँसम्म कि मास्क र पञ्जाविना नेपाल प्रहरीको सक्रियता साँच्चिकै प्रशंसायोग्य पाएँ । तिनले राज्यको समाचार समितिको प्रतिनिधि हुनाको नाताले ठाउँठाउँमा सहज पहुँच दिलाउनाका साथै कतिपय अवस्थामा आफैँ तिनको सवारी साधनमा ल्याउने लैजानेसम्मका काम गरी मलाई सहयोग गरे । राससले सत्य, तथ्य र विश्वसनीय समाचार दिन्छ भन्ने विश्वास सुरक्षा निकाय र सम्बन्धित सबैमा परेको कुरा यस अवधिमा राम्रैसँग अनुभव भयो ।

जब बागलुङकी एक किशोरी, जो फ्रान्सबाट आएकी थिइन्, लाई कोरोना देखियो तब सुदूरपश्चिमका जनतामा भयानक त्रास हुने अवस्थाकै चरणमा युएईबाट आएका धनगढीका एक युवकमा कोरोना देखियो भन्दा म कार्यरत कैलाली जिल्ला नै आतङ्कित भयो । अब कोही बाँच्दैनौँ भन्ने लाग्न थाल्यो । घरमा सानो छोरा भएका कारण श्रीमती घर बाहिर नगए हुन्थ्यो भन्ने चाहन्थिन् तर कतिपय फिल्ड रिपोर्टिङमा नगई नहुने भएका कारण म जानैपर्ने थियो । यस क्रममा आफ्नै गृह जिल्लामा कोरोना देखिएपछि पारिवारिक दवाव पनि अलिकति थियो नै । म सुरक्षित भएर नै रिपोर्टिङ गरिरहेको थिएँ । काठमाडौँपछि मोफसलमा त्यो पनि कैलालीमा सङ्क्रमित भेटिएपछि कैलाली उच्च जोखिमयुक्त जिल्ला बन्यो अनि हामी उच्च जोखिम जिल्लाका पत्रकार ।

कैलालीमा एकपछि अर्को सङ्क्रमित देखिन थाले । युएईबाट फर्किएका धनगढीका युवकका भाउज्यूलाई पनि कोरोना देखियो । झनै त्रास बढ्यो । त्यसपछि वीरगञ्जबाट आएकी महिलालाई कोरोना देखिएपछि कैलालीको वातावरण त्रसित बन्यो । त्यसको केही दिनमै भारतबाट फर्किएका एक युवकलाई कोरोना देखिएपछि कैलालीमा चहलपहल शून्यको स्थितिमा झ¥यो भन्दा फरक नपर्ला ।

कोरोना सङ्क्रमण बढिरहेको थियो, सबै त्रसित थिए, तर भारतबाट फर्किएका लम्कीचुहाका युवकले कोरोनालाई पराजित गरे भन्ने खबर वैशाख ८ गते प्राप्त भएपछि कोरोना त्रासले बाँचिरहेका सबैका लागि अलिकति भए पनि खुशी मिल्यो । मेरा लागि भने जनतामा कोरोना त्रास हटाउन कलम चलाउने अवसर थियो जसको मैले सदुपयोग गरेँ । वैशाख ८ गते घर फर्किएका युवकको घरमै पुगेर मैले रिर्पोटिङ गर्नुपर्छ भन्ने सोचेर तयारी गरेँ । मैले कोरोना कहरका बेला घरमै बसेर आफूलाई मात्र सुरक्षित राख्नु उचित ठानिन । म वैशाख १० गते आफू बसिरहेको घोडाघोडी नगरपालिका सुखडबाट कोरोनाको त्रासका बीच लकडाउनमा सुनसान र सन्नाटापूर्ण सडकमा सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना विजेताको अनुभव तथा रोगलाई पराजित कसरी गर्न सकिन्छ भनी सोच्दै पत्रकारिताको कर्म निर्वाहका लागि मोटरसाइकलमा करीब ३५ किलोमिटर दौडिएँ । फिल्ड रिपोर्टिङमा हिँड्नैपर्ने मेरो दिनचर्या लकडाउनको दुई महिना व्यतीत भइसक्दा पनि खुम्चिएन, बरु अझ विस्तारित भयो । सकेसम्म सङ्क्रमणको जोखिमबाट जोगिएर मैले यो विषम परिस्थितिमा आफूलाई कहीँ कतै कमजोर, डरपोक र दायित्वच्यूत हुन दिइन ।

जब म कोरोना जितेका पहिलो व्यक्तिको घरबाट रिर्पोटि¨ गरेर फर्किएँ, समाचार प्रकाशन भयो, पत्रकारिता क्षेत्रका अग्रज तथा मित्रहरूले साहस गर्नुभयो भन्दै दिएको बधाई थापिरहेको मलाई मेरो पाँचवर्षे छोराले ‘बाबा तपाईँले त कोरोना लागेको मान्छेलाई भेटेर आउनुभएको रे, अब हामीलाई नि सार्नुहुन्छ रे, हामी पनि मर्छौँ रे’ भन्दा नमीठो अनुभव शायद जिन्दगीमा अहिलेसम्म भएन । मेरो पत्रकारिताको अनुभवमा मैले यसलाई निकै पीडादायी अनुभवका रूपमा लिएँ । मैले छोराको यो त्रासपूर्ण प्रेम आभास दिलाउने प्रश्नको छोटो उत्तर दिएँ ‘हैन बाबु त्यस्तो बोल्नु हुँदैन । ’ अनि फेरि निस्किएँ समाचारका खोजीमा ।

कोरोना नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले सबै क्षेत्र बन्द थिए, सबै वर्ग समस्यामा थिए तर सबैभन्दा बढी प्रभावित थिए यौन व्यवसायलाई मुख्य पेशा बनाएर जीवन निर्वाह गरिरहेको कैलालीका बादी समुदाय । म उनीहरूको समस्या समाचारमार्फत सम्बन्धित निकायसम्म पु¥याउन फेरि पनि लकडाउनका बीच बादी समुदायको बस्तीमा हान्निएँ । राष्ट्रिय समाचार समिति (रासस) मा ‘बादी समुदायलाई कोरोनाभन्दा भोकको चिन्ता’ भन्ने समाचार पठाएँ । समाचार प्रकाशन भएपछि श्रीमतीका साथी तथा छिमेकीले “तेरो श्रीमान् पत्रकार भएर चारैतिर डुल्छ, पूर्वतिरका पत्रकारहरूलाई कोरोना लागिसक्या छ, सम्झाउनू” भनेर भनेका रहेछन् । उनले मलाई अलि सुरक्षित भएर काम गर्न आग्रह गरिन् । छोरा र श्रीमतीले सुनाएको कुराले केही समय कलमलाई थाती राखेर पारिवारिक रूपमा रमाएर बसौँ कि झैँ लागे पनि सामाजिक जिम्मेवारी र पत्रकारिताको धर्म निर्वाह आफ्नो प्रमुख जिम्मेवारी रहेको कुरा बोध गरी सुरक्षित रहँदै समुदायमा सूचना पु¥याउने कर्ममा निरन्तर लागिरहेँ ।

त्रासपूर्ण बातावरका बीच कोरोना कहरमा बादी समुदायको बिचल्लीबारे गरिएको रिपोर्टिङबाट प्रभावित भई स्वीट््जरल्याण्डमा बस्ने शुभएल्मर लामाले खाद्य पदार्थ सहयोग गर्दा मलाई मनमा शान्ति मिल्यो । विभिन्न समस्या र कोरोनाको आतङ्कबीच गरिएको समाचार कर्मले कसैको घरमा चुल्हो बल्न पाएकामा आँखाबाट खुशीका आँशु निस्किए, मैले मन थाम्नै सकिन । त्यसभन्दा पनि म आफैँ खाद्यान्न लगेर बादी समुदायमा जाँदा पाएको आत्मीयता र सम्मानले निरन्तर कर्ममा खटिरहन प्रेरणा मिल्यो । म अहिले पनि कोरोना कहरका विषयमा समाचार सङ्कलन र प्रकाशन गरिरहेको छु तर पहिले जस्तो हैन । पहिले कोरोना लागेकाहरू समाचार बन्ने गर्थे भने अहिले कोरोना जितेर घर फर्किएकाहरू अवहेलनामा परेको भनी समाचार लेख्नुपर्ने बाध्यता छ ।

पछिल्लो समय लक्षण नदेखिएको भनी कोरोना लागेकाहरूलाई आइसोलेशनबाट सोझै घर पठाउँदा समुदायस्तरमा अझै जोखिम बढेको छ । गाउँघरमा मानिसहरू आतङ्कित भइरहेका छन् । जनप्रतिनिधि पनि समुदायमा जनचेतना फैलाउन सक्रिय छन् । जोखिम मोलेरै अहिले पनि निरन्तर समाचार कर्ममा सक्रिय छु तर पत्नी र पुत्रका ती प्रश्नले मनलाई झस्काउन भने छाडेको छैन । रासस

प्रतिकृया

प्रतिकृया