गौशाला – असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् ।


ADVERTISEMENT


जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमानाकासँग जोडिएको हुनाले २३२ वटा मतदानस्थल संवेदनशील रहेका छन् ।

भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको बाटो करिब ४० किमीसम्म खुल्ला नै रहेकाले यस जिल्लाका अधिकांश मतदानस्थल संवेदनशील रहेका छन् ।

सुरक्षा व्यवस्था कडा बनाइयो

यसैबीच, आगामी असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारसँग कुराकानी गर्दै जिल्लाका हरेक मतदानस्थलमा सुरक्षाको भरपुर व्यवस्था गरेको बताए ।

यसअघिका मतदानमा म्यादी प्रहरीलाई खटाइए तापनि यसपटकको निर्वाचनमा नेपाल प्रहरीका दुई हजार ६०० प्रहरी जिल्लाभरिमा थप गरिएको कडायतले जानकारी दिए । भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि र उच्छृङ्खल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको हो ।

स्थानीय तहका २५८ मतदानस्थलमध्ये १३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेकाले सो क्षेत्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने चुनावअगावै मोबाइल टोली परिचालन गर्नाका साथै रात्रि गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । रासस