भरतपुर – नारायणी नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो ।


ADVERTISEMENT


शुक्रबार बिहानदेखि नदीले स्पर बगाउन थालेको भरतपुर महानगरपालिका­२८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिए । “पाँचवटा स्परमध्ये एउटा बगाएको हो”, उनले भने, “नदीको कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको छ ।”


ADVERTISEMENT

# # #


सो क्षेत्रमा आसपासका स्परहरु समेत बगाउने खतरा बढेकाले रोकथामको काम गरिएको उनले जानकारी दिए । भरतपुर महानगरपालिकाको वडा नं १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।

यसैबीच नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघेको छ । शुक्रबार दिउँसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नारायणी र देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो । नारायणीमा अझै जल सतह बढ्न सक्ने महाशाखाले जनाएको छ ।

देवघाटमा रहेको जल मापन केन्द्रले दिउसो ३ बजेसम्म ७.७७ मिटर र नारायणगढ पुलमा ११.१७ मिटर पानी मापन गरेको छ । बाढीले खतरा पुग्न सक्ने भएकाले चितवन र नवलपरासीको तल्लोतटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवन र नवलपरासीले आग्रह गरेका छन् ।