काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । जसमध्ये गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती मृतक मधुमेहका दीर्घ रोगी हुनुका साथै असार १९ गते निमोनियाँ भएर गोरखा अस्पतालको आइशोलेसनमा भर्ना भएका थिए । उनको अस्पतालमा नै असार २० गते (आज) बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनको १८ गते नै स्वाब संकलन गरिएको र असार १९ गते (हिजो) कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । ती मृतक असार १७ गते कतारबाट नेपाल फर्किएका थिए । सोही दिन उनलाई पालुङटार क्वारेन्टिनमा राखिएको थियो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रवक्ता डा. गौतमले जनाए ।

यस्तै रुपन्देहीको देवदह ठेगाना भएका ७६ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी असार १४ गते काठमाडौँका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा क्षयरोगको उपचारका लागि भर्ना भएका थिए । उनको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनको असार १६ गते कोरोना पुष्टि भएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १५४९१ रहेको छ । आज मात्रै २३२ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये ६४१५ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा २७२ जना उपचार पछि निको भएका छन् ।