काठमाडौँ-कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले यस्तो आकलन गरेको हो । यूएनएफपीएका अनुुसार हाल विश्वमा सिर्जना भएको विकराल स्थिति अझै छ महिना लम्बिए सन् २०३० सम्म विश्व भरिका थप एक करोड ३० लाख किशोरी बालविवाह गर्न बाध्य हुनेछन् ।


ADVERTISEMENT


लैङ्गिक विभेद अन्त्य गर्न विश्वव्यापी रूपमा प्रचलित हानिकारक अभ्यासको अन्त्य गर्ने क्रममा प्रगति भइरहेको बेला यस महामारीले प्रतिकूूल अवस्था सिर्जना गर्न सक्ने स्पष्ट पारिएको छ ।


ADVERTISEMENT

# # #



यूएनएफपीएले बिहीबार जारी गरेको विश्व जनसङ्ख्या स्थिति २०२० को प्रतिवेदन अनुसार हरेक वर्ष लाखौं किशोरी परिवार, सँगी एवं समुदायको पूर्ण जानकारी र सहमतिमै शारीरिक र भावनात्मक हानि पुर्याउने अभ्यासको सिकार बन्न बाध्य हुने गरेको र कोरोनाले यसमा अझ नाजुक बनाएको बताइएको छ ।


यूएनएफपीएको प्रतिवेदन अनुसार विश्वभरका करिब १९ वटा हानिकारक अभ्यासमध्ये स्तनाकार मिलाउनेदेखि कुमारित्व परीक्षण सम्मका अभ्यासलाई मानव अधिकार उल्लङ्घनका रूपमा लिइन्छ । यी अभ्यासमध्ये मूलतः बालविवाह, छोराको चाहना बढी र छोरीलाई कम महत्त्व दिनुुलाई प्रतिवेदनले हानिकारक मानेको छ ।


यूएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कानेमले किशोरी विरुद्धको हानिकारक अभ्यासले गम्भीर प्रकृतिको मानसिक आघात निम्त्याउँछ, जसले उनीहरूको पूर्ण प्रगतिको सम्भाव्यताको अधिकार खोस्छ भन्नुभयो ।


बालविवाहको सबैभन्दा उच्च दर रहेको एसियाली देशमध्ये नेपाल एक हो । त्यसो त कानुनी रूपमा नेपालमा किशोर–किशोरी दुवैका लागि विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४० प्रतिशत किशोरीको विवाह १८ वर्षभित्र हुने गरेको छ । किशोरीको शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्याउँदै उनीहरूमा लगानी, उमेर पुगेर मात्र विवाह गर्ने वातावरण सुनिश्चित गर्नु आजको आवश्यकता भएको औँल्याइएको छ ।


साथै छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने संस्कारले लैङ्गिक भेदभावमा बढावा दिएको र छोराको छनोट बढी भई नवजात शिशु जन्ममा लिङ्ग अनुपात असन्तुलन बढेको छ । डा. कानेम हाल अझै धेरै किशोरी जोखिममा भएकाले महामारीले हाम्रो काम थप जटिल बनाएको छ ।  

गोरखापत्रबाट साभार !