प्रकाश सिलवाल, काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी गम्भीर संकटको मोडमा पुग्न लागेको चिन्तासहित एकता रक्षाका लागि प्रयास भइरहेको छ ।


ADVERTISEMENT


पछिल्ला घटनाक्रमका बीच आज बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको समन्वय अभावमा एकता गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन भन्ने चिन्ता देखिएकाले एकतालाई हरहालतमा रक्षा र सुदृढ गर्न आह्वान गरिएको छ ।


ADVERTISEMENT

# # #


आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष दाहालले अधिवेशन आजै अन्त्य गराउन नहुनेमा जोड दिएका थिए ।

स्थायी कमिटीको बैठक शुरु भई अघिल्ला दिन चल्दै आएका विषयवस्तुमा अमृतकुमार बोहरा र केशव बडालले धारणा राखेपछि मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु गएका थिए । केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन । स्थायी कमिटी बैठक रोकेर प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेल छलफलमा जुटे । त्यहीबीचमा अध्यक्ष दाहालले सचिवालय सदस्य र अन्य सदस्यका बीचमा सामूहिक र व्यक्तिगत छलफल गरेका थिए ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउने हो कि भन्ने चर्चा चलेको सन्दर्भमा अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेर स्थितिका बारेमा जानकारी गराएका थिए । सो अवधिमा स्थायी कमिटीको बैठक पुनः बस्ने हो-होइन भन्ने अन्योलमा सदस्यहरु परेका थिए भने सञ्चारकर्मीहरु कुनै नयाँ वा महत्वपूर्ण समाचारको प्रतीक्षामा भेला भएका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षबीच बिहानको समझदारीविपरीत मन्त्रिपरिषद्को बैठक भएको र संसद् अधिवेशनको अन्त्यको विषय तथा अध्यादेश ल्याउने तयारीका सम्बन्धमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले तत्काल अध्यादेश ल्याउने योजना नरहेको सुनाएका थिए । शीतल निवासबाट फर्केपछि दिउँसो ४ः३० बजे भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ती विषयमा जानकारी गराउँदै अर्को बैठक यही असार २० गतेका लागि तोके । कार्यव्यस्तताका कारण प्रधानमन्त्री ओली आजको पार्टीको बैठकमा उपस्थित भएका थिएनन् ।

प्रवक्ता श्रेष्ठले पत्रकारसँग भने, “यस्तो नहनुपर्ने हो । यसले गर्दा पार्टी एकता नै गम्भीर सङ्कटको मोडमा पुग्न लागेको त होइन ? भन्ने चिन्ता पैदा भएकाले पार्टी एकतालाई हरहालतमा रक्षा र सुदृढ तुल्याउनुपर्छ भन्ने स्थायी कमिटीका सदस्यहरुको जोड रहेको छ ।” पार्टी एकताका सङ्कट भनेको के हो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “समाचारको सबै भाषा मैले नै मिलाइदिनुपर्ने ? सङ्कट भनेपछि बुझ्नुस् न । पार्टीलाई यो सङ्कटबाट बचाउनुपर्छ । हामी सबैले प्रयत्न गर्नुपर्छ ।” उनले नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबारका बैठक नराखी शनिबार ११ बजे तोकिएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग गरिएको विषयमा सोधिएको जिज्ञाशामा प्रवक्ता श्रेष्ठले बैठकमा विभिन्न कोणबाट पार्टी र सरकारलाई सफल बनाउने, देशलाई अस्थिरतातर्फ लान नदिने विषयमा छलफल जारी रहेकाले निष्कर्ष आएपछि मात्रै भन्न सकिने स्पष्ट गरे ।

रासससँग कुरा गर्दै स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी नेतृत्वसँग छलफल नगरी संसद्को अधिवेशन अन्त्य गराइनु गलत भएको र आपसी विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेकाले एकता बचाउन प्रयास भइरहेको बताए । उनले भने, “प्रतिनिधिसभाको बैठक असार २२ गते बोलाएको छ तर आजै अधिवेशन अन्त्य हुनु जननिर्वाचित सांसदहरुको अवमूल्यन हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको निर्णय पनि कार्यान्वयन गर्नुभएन । यस्ता शैलीका कारण समस्या उत्पन्न हुँदै आएको हो ।” तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको थियो ।

यही असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरूको भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो । यही असार १४ गते जननेता मदन भण्डारीको जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले सरकार हटाउन भारतका संयन्त्र सक्रिय रहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसीसीलगायत कार्यसूची राखिएका थिए । रासस