काठमाडौँ – लगातार वर्षाका कारण साँफे –मार्तडी सडकखण्ड पहिराको उच्च जोखिम देखिएको छ । वर्षात् शुरु भएसँगै ताँप्रीसेरादेखि मार्तडीसम्मका दर्जनौँ स्थानमा सडकको दायाँबायाँ पहिरो खस्न थालेको छ भने आवतजावतसमेत रोकिने सम्भावना बढेको छ ।


ADVERTISEMENT


अहिले केही दिनदेखि लगातार परेको वर्षात्का कारण दर्जनौँ स्थानमा माथिबाट पहिरो बग्न थालेको छ । द्वारी क्षेत्रमा तलबाट बूढीगङ्गा नदीको कटानसँगै अम्कोट गाउँतर्फ पहिरो बग्न थालेको छ । पानीनाउलामा लगातार माथिबाट पहिरोकै कारण सडक हिलाम्य बन्नाका साथै अवरुद्ध बन्न थालेको छ । हिलाम्य सडकमा सवारी साधन गुडाउन समस्यासँगै माथिबाट ढुंगा खस्नेसमेत डर देखिएको ट्रयाक्टर चालक डबल नाथले बताए ।


ADVERTISEMENT

# # #


निर्माण भएको वर्षदेखि नै पहिराले सडकलाई क्षति पुर्‍याउने गरेको छ । भिरालो र पाखो जमीन भएकै कारण निर्माण सम्पन्न भएको पाँच वर्षसम्म नियमित पहिरो खस्ने र जोखिम हुने प्राविधिकले बताए पनि लगातार एकै स्थानमा पहिरो थपिँदै गएका कारण थप जटिलता भएको सरोकार भएकाहरुको भनाइ छ ।

अम्कोट, द्वारी र मलाती क्षेत्रमा सडक चल्ने निश्चित नै छैन । अहिले एकतर्फ मात्र सवारी साधन चल्ने गरी बाटो बाँकी रहेको छ । त्रिवेणी नगरपालिकाबाट पैमाको पहिराले बूढीगङ्गा नदीलाई अम्कोट क्षेत्रतिर धकेलिरहेको छ भने नदीले सडकसँगै बस्ती समेत पहिरासँगै कटान गर्ने अवस्था नरोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण नदी दिनानुदिन थुनिँदै गएको छ । त्यसले बाजुराको तल्लो क्षेत्रसँंगै अछामका नदी किनारामा रहेका बस्तीलाई समेत समस्या सिर्जना गरेको छ ।

साँफे–मार्तडी सडकको वैकल्पिक बाटो नखोजिए सदरमुकाम मार्तडीसम्म पनि सवारी साधन सञ्चालनमा समस्या आउने देखिएको छ । द्वारी र बल्दे क्षेत्रको करीब एक किलोमिटर बाटो पूरै पहिरासँगै नदीमा मिसिने अवस्थामा आइपुगेको छ ।

अघिल्लो वर्षाद्मा नै सडक बगाएर क्षति पुगेपछि घरलाई नै भत्काई सडक बनाइएको थियो । हिउँदमा कुनै पहल नगरिँदा र वर्षात्मा मात्र विकल्प खोज्ने प्रवृत्तिले अमकोट बस्तीका सर्वसाधारणले यस वर्ष पनि निकै दुःख पाउने अमकोटका नवराज पाध्यायले गुनासो गरे । रासस