काठमाडौँ — आइतबार कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान १० बजेर ५० मिनेट जाँदा ग्रहण सुरु हुनेछ ।

मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए ।


ADVERTISEMENT


ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


आजको सूर्यग्रहण मृगशिरा र आद्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए

सूर्यग्रहणको फल रशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आजको मात्र रहेको समितिले जनाएको छ ।

तर वैज्ञानिक मूल्यमान्यताअनुसार सुरक्षित तरिकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । आजको सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ । काठमाडौ‌बाट मध्याह्न १२ बजेर ४ मिनेट जाँदा सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ ।