काठमाडौँ – काभ्रेको बनेपामा रहेको एउटा हार्डवेयरको कान्टर फोडेर ९ लाख चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा न. १ का २७ वर्षीय प्रकाशजंग कुँवर र काठमाडौँको तिलिंगेटार बस्ने ३६ वर्षीय प्रकाश भण्डारी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार उनीहरुले काभेको बनेपा नगरपालिका वडा नं. ७ स्थित सुरेश घिसिङले सञ्चालन गरेको तेन्डेल हार्डवेयर प्रा.लि.को काउन्टर फोडेर ९ लाख ४ हजार २७५ रुपैयाँ चोरी गरेका थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि पौडेलले सक्रियता लिँदै डीएसपी कुमार विक्रम थापा नेतृत्वको अनुसन्धान टोली गठन गरे ।


ADVERTISEMENT

# # #


उक्त टोलीले बुधबार प्रकाश कुँवरलाई नवलपरासीको सुनवलमा आफ्ना साढुदाईको घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काभ्रेमा ल्याएर बिहीबार जिल्ला अदालतमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै आज (शुक्रबार) अर्का अभियुक्त प्रकाश भण्डारीलाई काठमाडौँको तिलिंगेटारबाट पक्राउ गरेको हो । पक्राउ परेकामध्ये प्रकाश कुँवरबाट १ लाख ५० हजार र प्रकाश भण्डारीबाट २ लाख ३१ हजार ९९९ रुपैयाँ गरी दुबैजनाबाट जम्मा ३ लाख ८५ हजार ९९९ रुपैयाँ र २ थान OPPO F15 मोबाइल बरामद गरेको काभ्रे प्रहरीले जनाएको छ ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।